५ वर्षपछि सगरमाथा चढ्ने अनुमति पाएपछि दुवै खुट्टा नभएकाे बुढामगर लागे आधारशिविरतर्फ

  २०७९ चैत २२ गते ११:०१     विकासन्युज

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा छैनन्। उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन् ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुभन्दाअघि उनले ५ वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको बताए ।

उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास व्यक्त गरे । उनले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केही पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए ।

उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने जानकारी दिए । सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् ।

बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए भने र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने ।

उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् ।