‘आकर्षक घर बनाउन चाइनिज इट्टा नै प्रयोग गरौं, भक्तपुरका उद्योग मर्ज गर्नु पर्छ’

  २०७९ चैत २६ गते ११:०६     विकासन्युज

काठमाडौं । ठूला–ठूला संरचना अथवा घर बनाउनका लागि आवश्यक निर्माण सामाग्रीको रूपमा लिइन्छ ‘इट्टा’ । गुणस्तर इट्टा अहिलेको आवश्यकता पनि हो । संरचना तयार गर्नका लागि पनि ठूलो संख्यामा इट्टाको आवश्यकता पर्छ । सो विषयलाई मध्यनजर गर्दै गोर्खा रेड ब्रिक्स कम्पनीले नयाँ र आधुनिक प्रविधिको प्रयोग गरी लामो समयदेखि चाइनिज इट्टाको उत्पादन गर्दै आइरहेको छ । आधुनिक प्रविधिकाबाट उत्पादित चाइनिज इट्टा ठूला–ठूला संरचनाका साथै उपत्यका भित्र निर्माण भएका धेरै घरहरूमा यसको प्रयोग भएको पाइन्छ ।

आकर्षक डिजाइनका यस्तो इट्टा वि.सं. २०७६ सालदेखि काभ्रेबाट उत्पादन सुरु भएको थियो । अहिले गोर्खा चाइनिज इट्टाको प्रयोग गरेर घर तथा संरचना बनाउनेका संख्या बढ्दो छ । गोर्खा चाइनिज इट्टाको बजार, यसको माग मूल्य र गुणस्तरीयता लगायको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

सुरुमा गोर्खा चाइनिज इट्टाको विषयमा कुरा गरौं, चाइनिज इट्टाको उत्पादन कसरी सुरु गर्नु भयो ?

म यही क्षेत्रमा लागेर काम गर्न थालेको दुई दशक बढी भइसक्यो । पहिला हामी परम्परागत तरिका भट्टाबाट इट्टाको उत्पादन गर्दै आएका थियौं । लामो समयसम्म स्थानीय इट्टा उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्यौं । तर, अब परम्परागत इट्टा उत्पादनले हुँदैन । अब हामीले यसको वैकल्पिक उपाय खोज्नु पर्छ भन्ने लाग्यो । । जुन उत्पादन वातावरणमैत्री तथा धुलोधुवाँ रहित उद्योग होस् भन्ने भयो । त्यही सिलसिलामा इट्टा उत्पादन गर्ने चाइनिज प्रविधि भेटायौं । जुन हाम्रो सोच अनुरूपको थियो । सो प्रविधिलाई हामीले आत्मसाथ गर्यौं । र, २०७४ सालदेखि काभ्रेमा इट्टा उत्पादन गर्ने कारखानाको बनाउनका काममा जुट्यौं । कारखाना निर्माणको काम सम्पन्न भएपछि २०७६ सालदेखि इट्टाको उत्पादन सुरु गरेका हौं । गोर्खा रेड ब्रिक्स कम्पनीबाट यसलाई सञ्चालन गर्यौं । चीनमा उत्पादन हुने जस्तै इट्टा हामीले नेपालमै उत्पादन गर्न थाल्यौं । चीनको प्रविधिबाट इट्टा उत्पादन भएकोले यसलाई चाइनिज इट्टाको नाम दिएका हौं । स्थानीय इट्टा भन्दा गुणस्तर इट्टा उत्पादनमा गर्दै आइरहेका छौं ।

तपाईंहरुको उद्योगबाट दैनिक कति इट्टा उत्पादन हुन्छ ? क्षमता कति हो ?

हाम्रो इट्टा उद्योग दिनहुँ सञ्चालनमा हुन्छ । प्रतिदिन एक लाख ५० हजार इट्टा उत्पादन गर्न सक्ने क्षमता फ्याक्ट्रीमा छ । गत वर्षको तुलनामा अहिले इट्टाको उत्पादन घटाएका छौं । अहिले माग कम छ । अहिले हाम्रो क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छौं । माग आयो भने उत्पादन बढाउँछौं ।

तपाईंहरुले सुरुमा उत्पादन गरेको स्थानीय इट्टा र चाइनिज इट्टामा फरक के छ ?

स्थानीय र चाइनिज इट्टामा धेरै फरक छ । स्थानीय र चाइनिजमा उत्पादनदेखि गुणस्तरसम्मको कुरामा फरक पाइन्छ । चाइनिज इट्टा वातावरणमैत्री छ । र, यो इट्टा उत्पादन सहजै तरिकाले गर्न सकिन्न । थोरै जनशक्तिले पनि धेरै इट्टाको उत्पादन गर्न सकिन्छ । हेर्दा आकर्षक देखिने यो इट्टा गुणस्तरका हिसाबले पनि नम्बर वान छ । चाइनिज इट्टा एउटै साइजमा उत्पादन हुन्छ । जसले गर्दा संरचना निर्माणमा सहज हुन्छ । र, हाम्रो इट्टाको साइज पनि ठूलो छ ।

स्थानीय इट्टा उत्पादन गर्न समय लाग्छ । एउटै भट्टाबाट २/३ वटा साइजको इट्टाको उत्पादन हुन्छ । स्थानीय इट्टामा लोगो देख्नु हुन्छ । तर, हाम्रो इट्टा प्लेन छ । जसले गर्दा सिमेन्ट कम लाग्छ । धेरै स्थानीय इट्टाको उद्योगहरू बर्खाको समयमा बन्द हुन्छ । तर, हाम्रो उद्योगबाट बाह्रै महिना इट्टाको उत्पादन गर्न सकिन्छ । त्यसैले गर्दा यसमा धेरै फरक पाइन्छ ।

बजारमा इट्टाको माग कम छ भन्नु भयो, माग कम किन भयो, मान्छेहरुले घर बनाउन छोडेका हुन् ?

बजारमा इट्टाको माग छ । तर, गत वर्षको तुलनामा भन्दा अहिले कम छ । अहिलेको आर्थिक मन्दी तपाईँहरू सबैलाई थाहा भएको विषय हो । बैंकले ऋण दिँदैनन् । दिए पनि महँगो ब्याजमा मान्छेले ऋण लिन मान्दैन । प्रायः ठूलादेखि सानासम्मको आयोजना ऋण लिएर नै बन्छ । महँगो ब्याज ऋण लिएर मान्छे घर पनि बनाउन मान्दैन पनि सक्दैन । त्यसैले पनि इट्टाको माग कम भएको हो । हाम्रो उत्पादन धेरै जसो सरकारी संरचना बनाउन प्रयोग हुन्छ । सरकारी निकायले ठेकदारलाई पैसा पनि दिएको छैन । सरकारी निकायले ठेकदारलाई पैसा नदिएपछि पैसा हामीले पनि पाउने कुरा भएन । त्यसैले अहिले हामी पनि इट्टा कम पठाउने र रकम उठाउने तर्फ लागेका छौं ।

मान्छेले चाइनिज इट्टा किन प्रयोग गर्ने ?

निर्माण छिटो र आकर्षक डिजाइनको घर बनाउनु छ भने यो इट्टाको प्रयोग गर्नु पर्छ । अहिले नेपाली बजारमा धेरै रुचाइएको इट्टा मध्येको चाइनिज इट्टा हो । स्थानीय इट्टा प्रयोग गरेर घर बनायौं भने हामीले घर बाहिर प्लास्टर गर्नु पर्छ । तर, हाम्रो इट्टा प्रयोग गरेर बनाइएका घरमा प्लास्टर गर्नु पर्दैन । तर, कोठामा चाहिँ गर्नुपर्छ । खर्च कम हुन्छ भने थोरै इट्टामा धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ । यो हेर्दा पनि सफ्ट छ । घर बनाउँदा अहिले धेरै जसोले चाइनिज इट्टाको प्रयोग गर्छन् । यस इट्टाको प्रयोग गरेर बनाएको घरमा रङ लगाए पनि हुन्छ नलगाए पनि हुन्छ । स्थानीय इट्टाको तुलनामा यो इट्टा प्रयोग भएर बनेका संरचनाहरूको फिनिसिङ पनि राम्रो हुन्छ । रङ लगाउन नपर्ने भएपछि खर्च पनि कम हुने भयो ।

चाइनिज इट्टा प्रयोग गरेर घर बनाउँदा कति समय लाग्छ, एउटा घर बनाउन कति इट्टा आवश्यक पर्छ ?

स्थानीय इट्टाको तुलनामा चाइनिज इट्टा प्रयोग गर्दा थोरै भए पनि इट्टा कम लाग्छ । यस विषयमा अध्ययन पनि गरेका थियौं । हाम्रो इन्जिनियरले निकालेको डाटा अनुसार एक वर्ग मिटरमा लोकल इट्टा भन्दा ४०÷५० वटा कम चाइनिज इट्टाको प्रयोग हुन्छ । यो इट्टाको प्रयोग गरी घर कति समयमा बनाउन सकिन्छ भनेर कुराको भर चाहिँ ठेकदारमा पर्छ । कस्तो अनि कत्रो घर बनाउने हो त्यो अनुसार इट्टाको खपत हुन्छ । यती नै लाग्छ भनेर चाहिँ भन्न सकिने अवस्था छैन ।

चाइनिज इट्टाको मूल्य कति पर्छ ? स्थानीय इट्टाको तुलनामा यो इट्टा महँगो भयो भन्ने गुनासो पनि छ नी ?

लोकल इट्टाको तुलनामा हाम्रो इट्टाको मूल्य थोरै महँगो छ । अहिले हामीले काठमाडौंमा प्रति इट्टा २१ रुपैयाँमा उपलब्ध गराउँछौं । फ्याट्रीमै लिन आए १९ रुपैयाँमा दिन्छौं ।

तपाईंले अहिले कति वटा प्रोजेक्ट लिएर काम गरिराख्नु भएको छ ?

हाम्रो इट्टा सरकारी निकायका भवन बनाउँनमा प्रयोग हुन्छ । अहिलेसम्म धेरै सरकारी प्रोजेक्ट लिएर काम गरिसकेका छौं । गर्ने क्रम पनि जारी छ । हाम्रो इट्टाको प्रयोग भएर अहिलेसम्म लगभग ८० वटा प्रोजेक्ट तयार भइसकेका छन् । सिंहदरबार भित्र निर्माण हुँदै गरेका भवनमा पनि चाइनिज इट्टाको प्रयोग भइरहेको छ ।

तपाईंले उत्पादन गरेका इट्टाहरू कुन–कुन ठाउँमा पुग्छ ?

हामीले उत्पादन गरेको इट्टा प्रायः उपत्यकामा नै खपत हुन्छ । कहिले काहीँ पोखरा इटहरी लगायत ठाउँमा पनि पुग्छ । पछिल्लो समय उपत्यका बाहिरबाट माग आइरहेको छ । अहिले हामी उपत्यकामा नै लक्षित छौं ।

यस्तो किसिमको उद्योग अन्य ठाउँमा पनि खोल्ने योजना बनाउनु भएको छ कि छैन ?

हामीले अहिले यस्तो योजना बनाएको छैनौं । हामीले अझै पनि आवश्यक ग्राहक पाइरहेका छैनौं । अहिले हामीले यही उद्योगबाट उत्पादित इट्टाले माग धान्न सक्छौं । देश भरको माग यही उद्योगले धान्न सक्छ ।

नेपालमा यस्ता इट्टाका ठूला उद्योग खोली सञ्चालनमा ल्याउने सम्भावना कतिको छ ?

सम्भावना छ । अहिले भक्तपुरमा साना ठूला गरी करिब ५०/६० वटा इट्टा भट्टा छन् । तिनीहरू सबैलाई समेटेर मर्ज गरी ४÷५ वटा इट्टाका ठूलो उद्योग सञ्चालन गर्यो भने राम्रो हुन्छ । किनभने म्यानपावर पनि कम लाग्छ । उत्पादन पनि बढी हुन्छ । नयाँ तथा ठूला उद्योग इट्टाका अवश्य खोली सञ्चालनमा ल्याउन सकिन्छ । र, इट्टाका व्यवस्थित उद्योग सञ्चालन गरी ल्याउन सके इट्टा उत्पादन बाह्रै महिना सञ्चालनमा पनि ल्याउन सकिन्छ । अहिले नेपाल इट्टाको उत्पादनमा आत्मनिर्भर पनि छ ।

अहिले इट्टा उत्पादनमा तपाईंहरुले भोग्नु परेका समस्याहरु के–के हुन् ?

सरकारले स्थानीय इट्टा उद्योगलाई टनेलमा जानु पर्छ भन्ने नीति ल्याएको छ । सरकारले निति दिन्छ तर कार्यान्वयन गर्न गाह्रो छ । सरकारी कर्मचारीहरूमा यो क्षेत्रको विज्ञता कम छ । यो एउटा दुःखको कुरा हो । हामीले कम्पनी दर्ता गरेर सरकारी निकायबाट निरीक्षण तथा अनुगमन गर्न आउँदा उनीहरुले हामीलाई यो के कस्तो हो भनेर सोध्छन् । हामीलाई चाहिँ उनीहरूले सिकाउनु पर्ने हो । सरकारी निकायका कर्मचारीहरुलाई पनि इट्टाको विषयमा ज्ञान हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.