देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुपर्छ : मन्त्री रिजाल

  २०७९ चैत २७ गते १२:०४     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताए । उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नमा जोड दिए । उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरु बनाएर अघि बढ्न सरकार तयार रहेमा जोड दिए ।

उनले भने, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको हो । तपाईहरुको भुमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाई हामी सबै मिलेर गर्नुपर्छ । कानून लगायतका कुरामा सहयोग गर्नका लागि हामी तयार छौँ । यो मुलुकलाई समृद्धितिर लैजान महत्वपूर्ण भुमिका तपाईहरुको छ ।’

मन्त्री रिजालले उद्यलेगी व्यवसायीहरुले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए ।