२०७९ चैत २८ गते १२:५० विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा कोरिएका अक्षरहरु आफ्नो बुबाको स्मृतिस्वरुप मानसपटलमा आइरहने बताए । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभामा महासंघको जिम्मेवारी सुम्पिँदै उनले सो बताएका हुन् ।
‘महासंघ मेरो मन्दिर हो र सधैं मन्दिरका रुपमा रहिरहने छ, यहाँ कोरिएका अक्षरहरु मेरो पूजनीय बुबाको स्मृति मानसपटलमा आइरहन्छन्,’ उनले भने ।
साथै, उनले आफ्नो कार्यकाल चुनौतिपूर्ण रहेको बताउँदै कोरोना महामारी लगायत रुस र यूक्रेनका कारण काम गर्ने वातावरणमा असहज परिस्थिति आएको बताए । राजनीतिक अस्थीरताका कारण आफ्नो कार्यकालमा ३ जना प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने स्थिति आएको उनले स्मरण गरे ।
‘हामीभन्दा कमजोर मुलुक आर्थिक रुपमा समुन्नत भैसके तर हामी पछि धकेलिनु परेको छ, उद्यम व्यवसाय चल्न सकेनन् भने बैंकहरु चल्न सक्दैनन् भनेर बैंकहरुले हेक्का राख्नु पर्छ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन लगायत पर्चा सबैले देखिने गरि संसद र संसद बाहिर राख्न आग्रह छ,’ उनले भने ।
त्यस्तै, जीडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ । साना उद्यमीलाई बिना धितो कर्जा दिन व्यवस्था सरकारले गरेको छ । साना तथा मझौला सम्मेलन गरेर १० बुदे घोषणापत्र जारी गरेको छ ।
बैंकर्स संघसङ्ग छलफल गरेर धेरै ठाउँका विवाद समाधान गरिएको बताउँदै अध्यक्ष गोल्छाले व्यापार घाटा थेग्न नसक्ने अहिलेको अवस्थालाई तत्काल समाधान गनुपर्ने बताए । बिजुली किन सस्तो हुन सकेन ? व्याज किन धेरै उतारचढाव हुन्छ ? यो विषयमा सरकारले सोच्नु पर्ने भैसकेको समेत उनले बताए ।
विदेशी कम्पनी स्वदेश आएर सँचालन हुदा नाफा भएपनि बिदेशी लगानीका कम्पनी आउन नमानेको जानकारी गराउँदै यो विषयमा सरकार उदार भएर काम गर्नु पर्ने उनको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.