२०७९ चैत ३० गते १४:२७ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी वरिष्ठ उपाध्यक्षको चाबी रामचन्द्र संघईको हातमा पुगेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका संघई पहिलो चरणकाे रिङबाट आउटएपछि उनको हातमा चाबी रहेको बताइएको छ ।
पहिलो चरणमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई तेस्रो भएपछि आगामी महासंघको नेतृत्वका लागि दुई श्रेष्ठमध्ये कसलाई रोज्छन् भनेर माहोल गर्मागरम भएर अघि बढेको छ ।
महासंघको नेतृत्व गर्नका लागि मैदानमा उत्रिएका संघईको टिमबाट दुइवटा उपाध्यक्षमा जित हाँसिल गरेको छ । संघईको टिमबाट जिल्ला/नगर संघको उपाध्यक्षमा सुरकृष्ण बैद्य र एशोसिएट तर्फको उपाध्यक्षमा जोत्सना श्रेष्ठ विजयी भएका छन् । वस्तुगत संघको उपाध्यक्षमा उमेशलालको टिमबाट हेमराज ढकाल विजयी भएका छन् ।
दोस्रो चरणमा प्रवेश गरेका दुइ श्रेष्ठमध्ये संघईले कुनै एउटालाई सहयोग गर्याे भने त्यहि व्यक्ति महासंघको आगामी नेतृत्वका लागि पुग्ने महासंघका एक पूर्व अध्यक्ष बताउँछन् । संघईले कसलाई सहयोग गर्ने भनेर अहिलेसम्म नखुलेपनि यी दुई श्रेष्ठमध्ये एउटालाई सहयोग गर्न सक्ने उनको भनाइ छ । उनको टिमबाट उपाध्यक्ष बनेकाहरुलाई काम गर्न सहज होस् भनेर उम्मेदवारद्धय उमेशलाल र अञ्जनमध्ये कुनै एउटालाई वरिष्ठ उपाध्यक्षका लागि सहयोग गर्नै पर्ने उनले बताए ।
‘महासंघकाको वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भनेर उपाध्यक्षको चाबि संघईजीको हातमा पुगेको छ, अब उहाँले अञ्जन र उमेशजीमध्ये एउटालाई रोज्नै पर्छ, रामचन्द्रजीको टिमबाट २ उपाध्यक्ष छन्, उहाँलाई कता सजिलो हुन्छ, त्यतै समर्थन गर्नुपर्छ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः मतदान हुने भएको हो । बिहीबार बिहान सम्पन्न भएको पहिलो चरणको मतगणनामा वरिष्ठ उपाध्यक्ष पदका तीन उम्मेदवारहरुमध्ये पहिलो र दोस्रो हुनेबीच प्रतिस्पर्धा हुनेछ । जसमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
पहिलो चरणमा वस्तुगत संघतर्फ उमेशलाल श्रेष्ठले कूल सदरको ६९ मत अर्थात् ११.३१ प्रतिशत मत प्राप्त गरेका थिए । यस्तै, अञ्जन श्रेष्ठले ४१ मत अर्थात् ६.७२ प्रतिशत मत ल्याएका छन् । रामचन्द्र संघईले १२ मत अर्थात् १.९६ प्रतिशत ल्याएका थिए ।
यस्तै, जिल्लानगरमा कूल सदर मतको अञ्जन श्रेष्ठले ४७ मत अर्थात् २०.६१ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले २८ मत अर्थात् १२.२८ प्रतिशत मत प्राप्त गरेका छन् । यस्तै, सरामचन्द्र संघई रिङ बाहिर भएपनि उनीसँग ३९ अर्थात् १७.१० मत प्राप्त गरेका थिए ।
एशोसिएटतर्फभने सबैभन्दा धेरै मत प्राप्त गरेका संघईसँग ६१३ मत अर्थात् ११.४० प्रतिशत मत प्राप्त गरेका छन् । यस्तै, अञ्जन श्रेष्ठेले ५७३ अर्थात् १०.६६ प्रतिशत र उमेशलाल श्रेष्ठले ४२६ मत अर्थात् ७.९२ प्रतिशत मत प्राप्त गरेका छन् ।
जसअनुसार अञ्जन श्रेष्ठसँग कूल ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठसँग ३१.५१ मत रहेको छ । यता रामचन्द्र संघईसँग भने ३०.४६ प्रतिशत रहेको छ । दोस्रो चरणमा हुने निर्वाचनमा दुई श्रेष्ठले संघईको मतका लागि दौडधुप गर्नुपर्ने देखिन्छ । यसकारण संघई जहाँ खुले त्यहि ब्यक्ति विजयी बन्ने सम्भावना रहेको ती पूर्व अध्यक्ष बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.