राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्छ : अध्यक्ष ढकाल

  २०८० वैशाख ६ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग बुधबार उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले गरेको भेटमा कर्जाको ब्याजदर घटाउन अध्यक्ष ढकालले आग्रह गरेका हुन् ।

बजारमा तरलता पर्याप्त भएपनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए । राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनले जोड दिए ।

‘निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा छन्, असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्छ, बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्छ,’ अध्यक्ष ढकालले भने ।

अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा परेको बताए । केन्द्रिय बैंकले अर्थतन्त्रमा देखिएका समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

गभर्नर अधिकारीले पछिल्लो समय ब्याजदर घट्दोक्रममा रहेकाले हरेक विषयलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरसँग नजोड्न आग्रह गरे । निजी क्षेत्रका माग तथा सुझावलाई सकारात्मक रुपमा लिएको उनले बताए ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्फत् पनि महासंघका सुझावहरु समावेश गरिने उनको भनाइ छ ।