२०८० वैशाख ७ गते १७:१२ विकासन्युज
काठमाडौं । अब १० करोड रुपैयाँसम्मका विदेशी लगानी अनलाईनबाटै स्वीकृत हुने भएको छ ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ६६ मा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था उल्लेख गरिएको थियो । सोही व्यवस्था अनुसार नै उद्योग विभागले २ करोडदेखि १० करोड रुपैयाँसम्मका विदेशी लगानीको स्वीकृती अनलाईन मार्फत गर्दै आएको छ ।
साविकमा भौतिक फायल मार्फत् मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएकोमा २०७९ श्रावण १ गते देखि अनलाईन प्रणाली मार्फत् विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको छ ।
उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरुसँग आवद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी विभागले तयारी गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन्।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन यस ऐन तथा प्रचलित कानून बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भई नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको छ । सोको कार्यान्वयनका लागि विभागले वेवमा आधारित प्रणाली निर्माण गरेको छ ।
नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको तिवारीले बताए ।
उक्त प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आईरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ ।
विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौता मार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन् ।
अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा पनि अटोमेसन आफैमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक हो । भारत, बङ्गलादेश लगायतका हाम्रा छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भईसकेको छ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.