२०८० वैशाख २० गते १९:२५ विकासन्युज
ललितपुर । मन्त्री हेडक्वार्टर छेवैमा छ राणाकालीन दरबार संरचना हरिहर भवन । विसं २०७२ वैशाख १२ गतेकोे भूकम्पले भत्काएपछि अहिलेसम्म हरिहर भवन हरियो घाँसभित्र हराइरहेको छ । चन्द्र शमशेर जबराले विसं १९८२ मा आफ्ना माहिला छोरा शङ््कर शमशेर जबराका लागि हरिहर भवन बनाएको इतिहास छ ।
शंकर शमशेर हरिहर भवनमा २००६ सम्म बसेर बेलायत गएपछि २०१० सालमा राजदूतबाट फिर्ता बोलाउँदा नेपाल नफर्किएकाले नेपाल सरकारले उनको हरिहर भवनसहित सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरेको थियो ।
विसं २०२३ मा सरकारी स्वामित्वमा आएको यस दरबार संरचना हरिहर भवनमा निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको यस भवनमा रातो स्टिकर टाँसिएपछि त्यहाँ रहेका कार्यालय खाली गरिएका थिए ।
भूकम्पका कारण क्षतिग्रस्त हरिहर भवनमा हाल बरपिपल, सिस्नु, सहरालगायत अन्य धेरै बिरुवा र घाँसपातले भरिएको छ । राष्ट्रिय निजामती किताबखाना र राष्ट्रिय मानवअधिकार आयोगको केही कामकाज हाल हरिहरभवनकै परिसरमा टिनको प्रिफ्याब टहरामा हुन्छ । त्यहाँ पुगेका सेवाग्राहीले बिजोग अवस्थामा रहेको हरिहर भवनलाई नियालिरहेका भेटिन्छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भन्छन्, ‘२०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि हामीले कार्यालयको सामान निकालेर टिनको टहरामा राख्यौं, त्यसको केही वर्षपछि राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले हरिहर भवनको परिसरमा रहेको टिनको टहराबाट पनि हामीलाई हट्न पटक-पटक पत्रचार गर्यो, तर भवन निमार्णका लागि अहिलेसम्म पहल भएको छैन ।’
हाल राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन नजिकै वार्षिक एक करोड ९३ लाख ५५ हजार सात सय ६० रुपैयाँ भाडा तिरेर बसेको छ ।
‘हामीले यति ठूलो रकम भाडामा खर्च गरेका छौं, भाडा तिर्ने रकमले नागरिकको अधिकारका लागि काम गर्न पाएको भए देशको समृद्धि र शासनमा टेवा पुग्थ्यो, हामीले भवन निमार्णका लागि भूकम्पपछिका सबै सरकारसमक्ष ज्ञापनपत्र बुझायौं तर आश्वासनमा मात्र समय बित्यो,’ प्रवक्ता पोखरेलले भने ।
राष्ट्रिय निजामती किताबखानाका केही काम पनि टिनको प्रिफ्याब टहरामा हुन्छन् । किताब खाना पनि हरिहर भवन निमार्णको प्रतीक्षामा छ । राष्ट्रिय पुस्ताकलाय भने त्यहाँबाट अन्यत्र सरिसकेको छ ।
राष्ट्रिय निजामती किताबखानाको सामान अझै पनि हरिहर भवनभित्र रहेको किताबखानाका सूचना अधिकारी प्रकाशजङग कार्कीले बताए । उनका अनुसार एकवर्ष अगाडिसम्म सामान निकाल्न गएको तर अहिले भवन निकै जीर्ण अवस्थामा भएकाले त्यहाँ जान सकिदैन ।
भूकम्प गएको एक दशक बित्न लागि सक्यो । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय निजामती किताबखाना हरिहर भवन निमार्णको प्रतीक्षामा छन् । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.