इन्ट्राडे कारोबार कार्यान्वयनमा ल्याउँदा दैनिक १०० अर्बको कारोबार हुन्छ

  २०८० जेठ २५ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)को प्रमाणपत्र (लाइसेन्स) वितरण प्रक्रिया जारी राखेको छ । हाल नयाँ १८ वटा कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गरेका छन् । बोर्डले थप अन्य कम्पनीलाई लाइसेन्स दिएपछि ब्रोकरको संख्या ९३ वटा पुग्ने देखिन्छ । नयाँ ब्रोकर कम्पनीहरुलाई धितोपत्र कारोबार गर्न लाइसेन्स प्रदान जारी गरेसँगै ब्रोकर कम्पनीहरु दुई धारमा छुट्टिएका छन् । नयाँ लाइसेन्स प्राप्त गर्ने ब्रोकर व्यवसायीहरुले कारोबार सुरु गर्नु अघि नै  छुट्टै संगठन नयाँ स्टक ब्रोकर एशोसिएसन नेपाल गठन गरेका छन् । हाल सञ्चालनमा रहेका ब्रोकर व्यवसायीहरुको संगठन स्कट ब्रोकर एशोसिएसन अफ नेपालले लाइसेन्स वितरण प्रक्रिया कानुनसम्मत् नभएको भन्दै विरोध जनाइरहेको छ । नयाँ ब्रोकर व्यवसायीहरुले त्यसको प्रतिवाद गर्दै हाल सञ्चालनमा रहेका ब्रोकरहरुको एकाधिकार र परम्परागत सोच भएको भनेर आलोचना गरिरहेका छन् । यिनै विषयवस्तुमा सम्बन्धित रहेर सर्वलक्ष्मी सेक्युरिटिज (३७ नम्बर)का सञ्चालक तथा स्टक ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष धर्मराज सापकोटासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स वितरण गर्दा ब्रोकरहरु विभाजित देखिए । पुराना ब्रोकर व्यवसायीहरुले नयाँ ब्रोकर व्यवसायीलाई स्वागत गर्न नसक्नुको कारण के हो ?

ब्रोकर व्यवसायी बन्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति लिएर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सदस्य भएर काम गर्नुपर्छ । नयाँ ब्रोकर कम्पनीले लाइसेन्स प्रक्रिया पूरा गर्न सकेका छैनन् । त्यसैले नयाँ र पुराना ब्रोकर कम्पनी भन्न मिल्दैन । लाइसेन्स प्रक्रिया पुरा गरेपछि नयाँ र पुराना ब्रोकर कम्पनी एउटै डुंगामा सवार भएर यात्रा गर्ने हो । त्यो बेलामा नयाँ र पुराना नभएर सबै ब्रोकर कम्पनी हुने छन् । सबै कम्पनीको मुद्दा साझा हुन्छ । हामीले जुन कुराहरु भोगिरहेका छौं, नयाँ ब्रोकर कम्पनीहरुले पनि भोग्नु पर्ने हुन्छ । धितोपत्र बोर्डले सूचना निकालेपछि आवेदन दिने, आशयपत्र प्राप्त गरेर पूर्वाधार तयार पार्ने, पूर्वाधार निरीक्षण गरेर लाइसेन्स वितरण दिनु पर्छ । बोर्डले दिएको लाइसेन्सलाई नेप्सेले सबै प्रक्रिया पुर्याएर सदस्यता दिने हो । त्यसैले निवेदन दिने बित्तीकै ब्रोकर कम्पनी भन्न मिल्दैन । प्रक्रिया पुरा भएपछि नयाँ र पुराना कम्पनी एकवद्ध भएर काम गर्ने हो । भविष्यमा कुनै द्वन्द्व हुँदैन ।

नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्सको विरोध किन भैरहेको छ ?

नयाँ स्टक एक्सचेञ्जलाई रोक्नुपर्छ भनेर हामी केही बोलेका छैनौं । नेपाल स्टक एक्सचेञ्जको सदस्य भएर वर्षाैंदेखि पूँजी बजारको प्रत्यक्ष अनुभव लिएका छौं । र, गहिराहीमा पुगेर अनुसन्धान गर्ने हो भने सानो अर्थतन्त्र भएको देशमा दुई वटा स्टक एक्सचेञ्ज आवश्यक छैन । तर, नयाँ स्टकलाई लाइसेन्स वितरणको प्रक्रिया चलिरहेको बेला हामीले केही पनि प्रतिक्रिया दिएका छैनौं ।

व्यवसाय खोसिने डरले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको विरोध गर्नु भएको हो ?

पहुँच विस्तार गर्ने विभिन्न विधिहरुमध्ये नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया पनि एउटा हो । पहुँच विस्तार गर्दा धितोपत्र ऐन र नियमावलीमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । पूँजी बजार विस्तारका लागि सबैभन्दा कम लागत लाग्ने आधिकारिक प्रतिनिधि नै सबैभन्दा उपयुक्त हो । आधिकारिक प्रतिनिधिका माध्यमबाट ब्रोकरको पहुँच विस्तार गर्न सकिन्छ भनेर कार्यविधि नै तयार छ । यो कर्यान्वयन गर्न धेरै ढिला भइसकेको छ ।

बैंकहरुले शाखारहित बैंकिङ्गको अवधारण लागू गरिरहेको छ । ब्रोकरहरुले सबै कारोबार बैंकिङ्ग माध्यमबाट गर्छन् । ब्रोकर कम्पनीहरुले भुक्तानी, सेयर ट्रान्सफर, कारोबार, अर्डर लगायत सबै काम अनलाइनका माध्यमबाट गर्छन् । ग्राहकहरु सबै अनलाइनका माध्यमबाट कारोबार गरिरहेका छन् । लगानीकर्तामा ब्रोकरको पहुँच पुर्याएर एकचोटी केवाइसीमा जोड्नु मात्रै हो । सो प्रक्रियाका लागि शाखारहित ब्रोकरिङ पनि उपयुक्त हुन सक्छ । साथै, सहायक ब्रोकर, शाखा कार्यालय विस्तार गरेर पहुँच विस्तार गर्न सकिन्छ । तर, एकै चोटी अन्तिम विकल्प प्रयोग गर्न हुँदैनथ्यो भन्ने ब्रोकर कम्पनीहरुको धारणा हो ।

हामीलाई सिण्डिकेट, कार्टेलिङ गर्याे भनेर अनाहकमा आरोप लगाइएको छ । हामीले कहिल्यै पनि सिण्डिकेट र कार्टेलिङ्गका कुरा गरेका छैनौं । यो अनुमति प्राप्त गरेर तोकिएको व्यवसाय गर्ने क्षेत्र हो । अहिले ब्रोकर कम्पनीको लाइसेन्स धमाधम वितरण गरेर भोलिका दिनमा फेरी मर्जरमा जाने हो भने कुनै औचित्य छैन । त्यसैले पहुँच विस्तारका विभिन्न विकल्पहरुमध्ये सबैभन्दा कम लागत र सरल विधि प्रयोग गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

तपाईहरुले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्दा विरोध र नयाँ स्टकको लाइसेन्सलाई स्वागत गरेको जस्तो देखिन्छ । यसले विरोधाभास भएन र ?

हामीले नयाँ स्टक एक्सचेञ्जलाई स्वागत गरेका छैनौं । हाम्रो बुझाइ र अनुभवले नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा दुई वटा स्टक एक्सचेञ्ज आवश्यक छैन । किनभने अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै वटा स्टक भएको देशमा मर्ज हुँदै गएका छन् । मल्टिनेशनल स्टक एक्सचेञ्ज पनि एउटै स्टक एक्सचेञ्जमा मर्ज हुँदैछन् । नेपाली पूँजी बजारमा २३५ वटा मात्रै सूचीकृत कम्पनी छन् । कम्पनी रजिष्ट्रार कार्यालयमा पछिल्लो तथ्याङ्क अनुसार १७ सयको हाराहारीमा मात्रै लिमिटेड कम्पनी छन् । सबै कम्पनी पूँजी बजारमा आउँदैनन् । त्यसैले दुई वटा स्टक एक्सचेञ्ज आवश्यक छ कि छैन भनेर गहन अध्ययन भएको जस्तो लाग्दैन । नयाँ स्टक एक्सचेञ्जका लागि नियामक निकाय, सरकारले अध्ययन गर्नुपर्छ । अध्ययन भएको हो वा होइन त्यो हामीले पढ्न पाएका छैनौं । यस्तै, धितोपत्र बोर्डको ५ वर्षे कार्ययोजनामा नेप्सेलाई रणनीतिक साझेदार ल्याएर निजीकरण गर्नुपर्छ भन्ने छ । सो प्रक्रिया अघि नढबाएर लाइसेन्स वितरण गर्नु उचित होइन । पूँजी बजारको विस्तार गरी चलायमान गर्ने हो भने नेप्सेलाई भायब्रेन्ट बनाउन सकिन्छ ।

साथै, नयाँ ब्रोकर आउँदा पनि हाम्रो विरोध छैन । हामीले एकाधिकार गरेका पनि छैनौं । सुरुमा २३ वटा ब्रोकर कम्पनी थिए । त्यसपछि ३२ वटा हुँदै ५० वटा पुगेका छन् । हामी पनि उच्च प्रतिस्पर्धाबाट थपिएर सञ्चालनमा आएका ब्रोकर कम्पनी हौं । अहिले पनि सबै ब्रोकर कम्पनीबीच आन्तरिक प्रतिस्पर्धा उच्च छ । प्रतिस्पर्धादेखि डराएको, सिण्डिकेट कायम गरेको, कार्टेलिङ गरेको भन्ने आरोप मात्रै लगाएको हो । हामीले विकल्पहरुलाई चरणवद्ध प्रयोग हुनु पर्छ भनेका मात्रै हौं ।

ब्रोकर लाइसेन्स नियामकले नेप्सेको सिफारिसमा दिने हो । ब्रोकरको संख्या कति आवश्यक छ भनेर अध्ययन भएर नेप्सेले सिफारिस गरेपछि मात्रै प्रक्रिया अघि बढ्नु पथ्र्याे । विगतमा हामीले प्रक्रिया पुर्याएर मात्रै लाइसेन्स लिएका थियौं । तर, अहिले प्रक्रिया भन्दा बाहिर गएर काम कारवाही अगाडि बढेकोमा हाम्रो असन्तोष हो । नयाँ ब्रोकर लाइसेन्समा हाम्रो विरोध कत्ति पनि छैन । नयाँ ब्रोकर आएपछि ती कम्पनी पनि हाम्रै कम्युनिटीको सदस्य बन्ने हो ।

नयाँ ब्रोकर बजारमा प्रवेश गर्दा बजार विस्तार हुन्छ, त्यसले लगानीकर्तालाई लाभ पुग्न भन्ने विचार पनि छ नि ? के यो तर्क गलत हो ?

हामी सबैको चाहना पूँजी बजारको विकास र विस्तार हो । हामीले पूँजी बजारमा धेरै विकास र विस्तार गर्नु पर्ने छ । पूँजी बजारलाई अन्तर्राष्ट्रिय बजारको स्तरमा पुर्याउने सबैको चाहना हो । हामी ब्रोकर व्यवसायीहरु त यो क्षेत्रमा भविष्य पनि देखेका छौं । हामीले यहि क्षेत्रमा लामो समय बिताएका पनि छौं । त्यसैले पूँजी बजारको भविष्य उज्वल बनाउनु पर्छ भन्ने हाम्रो चाहना र दबाव रहन्छ । अन्तर्राष्ट्रिय पूँजी बजारको दाँजोमा नेपाली पूँजी बजारमा २÷३ प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ । पूँजी बजारको इतिहास लामो हुँदै जाँदा ब्रोकर कम्पनीले लगानीकर्ताको अर्डर र सेटलमेन्ट बाहेक अरु काम केही पनि गरेका छैनन् । हामीले लगानीकर्तालाई अन्य धेरै सेवा सुविधा दिन सक्छौं तर त्यसमा अनेक अवरोधहरु छन् । हाम्रो भनाई यस्ता अवरोधहरु पन्छाउने काम पहिला गर्नुपर्छ ।

ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई उचित परामर्श दिन किन नसकेका हुन् ?

ब्रोकर कम्पनी धितोपत्र बोर्डको अनुमति लिएर तोकिएको कार्यक्षेत्र भित्र काम गर्ने निकाय हुन् । लगानकर्ताको लागि अर्डर कार्यान्वयन गरेर सेटलमेन्ट गर्ने वा राफसाफ मात्रै ब्रोकर कम्पनीको कार्य क्षेत्र हो । कानुनले ब्यक्तिगत लगानीकर्तालाई सल्लाह दिन छुट दिएको छैन । बजारको फ्रन्ट लाइनमा बसेर प्रत्यक्ष कार्य गर्ने भएकाले ब्रोकर कम्पनीलाई बढी जानकारी हुनु स्वभाविक हो । त्यसैले ब्यक्तिलाई उत्कृष्ट सुझाव ब्रोकर कम्पनीले दिन सक्छन् । अन्तर्राष्ट्रिय अभ्यासमा पनि ब्रोकर कम्पनीले नै एडभाइजरी सेवा दिइरहेका हुन्छन् । एडभाइजरीका माध्यमबाट ब्रोकर कम्पनीले रेभिन्यू पनि संकलन गरिरहेको हुन्छ । तर, नेपालमा आजको दिनमा एडभाइजरीको काम गर्नका लागि कानुनले बन्देज लगाएको छ । एकातिर कानुनले बन्देज गर्ने र अर्काेतिर लगानीकर्तालाई राम्रोसँग एडभाइजरी दिएन भनेर ब्रोकर कम्पनीले आरोप खेप्नु परेको छ । विगतदेखि एडभाइजरीको सेवा ब्रोकर कम्पनीहरुलाई दिनु पर्याे भनेर सुझाव दिएका थियौं । ब्रोकर कम्पनीले एडभाइजरीको सेवा दिन पाउने हो भने बजारमा प्रोफेसनालिजम ल्याउँछ । र, बजारलाई मिसगाइड हुनबाट बचाउँछ । तर, बजारमा लाइसेन्स नलिई एडभाइजरी सेवा दिने निकाय पनि प्रशस्त छन् । जसलाई धितोपत्र बोर्डले नियमन गर्न सकेको छैन । यद्यपी ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई विगतदेखि सचेतनाको काम गर्दै आएका छन् । अहिले पनि त्यो निरन्तर छ ।

ब्रोकर कम्पनीले पाउने कमिशन घटाउनुपर्छ भन्ने माग लगानीकर्ताले गर्दै आएका छन् । के ब्रोकर कम्पनीहरुको नाफा उच्च दरको छ ?

लगानी गरेपछि प्रतिफल पाउनुपर्छ भन्ने वित्तीय बजारको प्रमुख सिद्धान्त हो । कसैले पनि गुमाउनका लगि लगानी गर्दैन । लाइसेन्सिङ फेर्मवर्क भित्र रहेर लगानी गरेर काम गरेको प्रतिफलका लागि हो । कहिले टर्नओभर उच्च हुन्छ भने कहिले कम हुन्छ । बढ्दो बजारमा नाफा बढ्छ भने घट्दो बजारमा पर्ख र हेरको अवस्थामा बस्नुपर्छ । अहिलेको अर्थतन्त्र र पूँजी बजारको स्थिति हेर्ने हो भने ५० वटै ब्रोकर कम्पनी घाटामा छन् । कुनै वर्ष उच्च टर्नओभर भएकै आधारमा धेरै नाफा कमायो भन्न मिल्दैन । टर्नओभरमा एक पैसा पनि तलमाथि नभएर पारदर्शी हुने व्यवसाय भनेको ब्रोकर नै हो । नेप्सेको प्लेटफर्ममा कारोबार हुन्छ भने सिडिएसको प्लेलफर्ममा सेटलमेन्ट हुन्छ । त्यसैले ब्रोकर कम्पनीको टर्नओभर कति भएको छ भनेर सरकारको छुट्टाछुट्ट प्लेटफर्ममा रेकर्ड हुन्छ । ब्रोकर कम्पनीको टर्नओभरमा एकरथी पनि शंका गर्नु पर्ने ठाउँ छैन ।

कुनै बेला दैनिक २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो भने अहिले दैनिक ६०/७० करोड रुपैयाँको कारोबार भइरहेको छ । कारोबार रकम ९६÷९७ प्रतिशतले घटेको अवस्था छ । यस्तो अवस्थामा ब्रोकर कम्पनीले नाफा गर्ने सम्भावना नै छैन । पूँजी बजार विकसीत होस्, नियामक निकाय सक्षम र बलियो होस् भन्ने हाम्रो चाहना हो । सक्षम नियामक हुँदा नियमनमा व्यवसायिकता आउँछ । सोही अनुसार ब्रोकर कम्पनीको पनि विकास हुनुपर्छ । न्यूनतम मूल्यमा लगानीकर्तालाई बढी भन्दा बढी प्रडक्टको सेवा दिन पाउनुपर्छ । आजको दिनमा ब्रोकर कम्पनीहरु घाटामा भएपनि बढेको बेलामा नाफा कमाउने अपेक्षा छ ।

पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने तयारी गरिरहेको छ, त्यसको असर कस्तो पर्छ ? 

वैज्ञानिक तरिकाले शुल्क निर्धारण गर्नुपर्छ । वित्तीय मध्यस्थता शुल्क कम गर्नुपर्छ भन्नेमा हाम्रो अब्जेक्सन हुँदैन । तर, कम गर्ने नाममा स्टेकहोल्डरहरुले प्रतिफल नै प्राप्त गर्न नसक्ने अवस्थामा पुर्याउनु हुँदैन । पछिल्लो समय प्रविधिमा ठूलो लगानी गर्नु परेको छ । दिनप्रतिदिन इनोभेसन हुने क्षेत्र भएकाले ४ वर्ष पछि आइटीमा पुनः लगानी गर्नु पर्ने देखिन्छ । लगानीकर्ताको सेयर किनबेच गरी राफसाफ गरेर ब्रोकरले आम्दानी गर्छन् । यो भन्दा अरु काम गर्न पाईंदैन । साथै, नियामकले तोकेको शुल्क भन्दा बढी रकम लिन पाउँदैनौं । तोकिएको शुल्क भित्र रहेर सेवा विस्तार गर्ने, नयाँ आईटी ल्याएर सुविधा दिने हो । त्यसैले वैज्ञानिक तरिकाले शुल्क निर्धारण गर्दा बढाउन आवश्यक छ भने बढाउनु पर्याे, घटाउन आवश्यक छ भने घटाउनु पर्याे ।

हामीले ब्रोकर लाइसेन्स लिँदा २५ हजार रुपैयाँ शुल्क तिरेका थियौं भने अहिले २५ लाख रुपैयाँ तिर्नु परेको छ । यो विषय पनि हामीलाई पनि अनौठो लागेको छ । धितोपत्र कारोबार गर्दा जोखिम पनि उत्तिकै छ । ती सबै जोखिम मोलेर सञ्चालन खर्च कटाएर तोकेको शुल्क मात्रै लिने हो । नवीकरण शुल्क पनि २५ हजारबाट डेढ दुई लाख पुगेको छ । एउटा केवाइसी खोल्दा सबै खर्च जोड्ने हो भने ५० रुपैयाँ भन्दा बढी हुन्छ । तर, हामीले निःशुल्क दिनु परेको छ ।

ब्रोकर कम्पनीहरु राजधानीमा मात्रै केन्द्रीत भएका छन् । उपत्यका बाहिर व्यवसाय छैन ?

ब्रोकरको शाखा विस्तार गर्दा नियामकलाई जानकारी दिनु पर्ने व्यवस्था थियो । त्यसपछि नियमावली संशोधन भएर शाखा खोल्नका लागि पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था गरियो । पूर्व स्वीकृति भनेको शाखा कार्यालय खोल्नका लागि निवेदन पेश गर्नु पर्ने भयो । स्वीकृति आएपछि मात्रै शाखा कार्यालय विस्तार गर्न सकिने व्यवस्था बन्यो । ५ सय भन्दा बढी शाखा कार्यालय विस्तारको लागि निवेदन पेश गर्दा कार्यान्वयन भएन । कुनै शाखा कार्यालय विस्तारको लागि स्वीकृति आएपछि पूर्वाधार तयार पार्नु पर्ने हुन्छ । पूर्वाधार तयार गरेको जानकारी गराएपछि नियामकले निरिक्षण गरेर अनुमति दिएपछि मात्रै सेवा प्रवाह गर्ने हो । कुनै शाखाको पूर्वाधार तयार भएर १३÷१४ महिनापछि नियामकबाट निरिक्षण भयो । उपत्यकाबाहिर सेवा दिनबाट पछि हटेको होइन, नियामकले समयमा निरिक्षण नगरेका कारण ढिला भएको हो । गाउँगाउँमा पनि आधिकारिक माध्यमबाट पूँजी बजारको विस्तार गर्न सकिन्छ । वा भएका शाखालाई पनि सरलीकृत हुनेगरी सेवा उपलब्ध गराउन सक्छौं । आधिकारिक प्रतिनिधि राखेर पहुँच विस्तार गर्ने हो भने ब्रोकर कम्पनी ७५३ स्थानीय तहमै जान तयार छन् । राजधानी बाहिर पनि व्यवसाय छ ।

अब आउने मौद्रिक तथा पुँजीबजार नीति तथा कार्यक्रममा ब्रोकर एशोसिएसनबाट सुझावहरु के/के छन् ?

पूँजी बजारको विकासका लागि ब्रोकरको पहुँच, प्रडक्ट र पूर्वाधारको विकास हुनुपर्छ । अन्तर्राष्टिय दोस्रो बजारमा थुप्रै नयाँ प्रडक्ट सञ्चालनमा छन् । हामी भने सेयर खरिद बिक्री गर्ने मात्रै काम गर्छाैं । त्यो पनि नगदमा मात्रै गर्दै आएका छौं । इन्ट्राडे र सट्स सेल लागू गरेर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ । प्रडक्ट विस्तारमा तीब्र गतिमा कुद्नु पर्नेछ । यदि इन्ट्रा डे कार्यान्वयनमा ल्याउने हो भने दैनिक १ सय अर्बको कारोबार हुन्छ । किनभने इन्ट्राडे लागू भएपछि अहिले भइरहेको ५/१० गुणा कारोबार बढाउँछ ।

वि.सं. २०७५ सालमा मार्जिन लेण्डिङ्ग सम्बन्धी निर्देशन आएपछि लाइसेन्स पनि लियौं । बैंकलाई मूल्याङ्कन गरेको धितो कर्जा उठाउन त सकस परेको छ भने हामीलाई बिना धितो मार्जिन लेण्डिङ्ग दिनु पर्याे भनिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा ब्रोकरको माध्यमबाट मात्रै मार्जिन लेण्डिङ्ग प्रवाह गरिन्छ । नेपालमा जति पनि सेयर कर्जा छ त्यो बैंकिङ्ग क्षेत्रले गरेको हो, मार्जिन लेण्डिङ्ग होइन । मार्जिन लेण्डिङ्गमा कर्जा प्रवाह गर्दा रिकभरीको कानुनी व्यवस्था हुनु पर्याे । कारोबार गर्नु भन्दा पहिला नै मार्जिन लेण्डिङ्गबाट गर्ने हो की नगदबाट गर्ने हो त्यो पनि स्पष्ट हुनुपर्छ । त्यसको लागि ब्रोकर र लगानीकर्ताबीच सम्झौता हुनुपर्छ । ब्रोकरले मार्जिन लेण्डिङ्ग सम्पत्तिबाट दिने होइन । मार्जिन लेण्डिङ्गका लागि फण्डको मेकानिज्म हुनुपर्छ । यसमा जोखिम लगायका सबै पाटाहरु समावेश हुनुपर्छ

स्टक मार्केट सर्वसाधारण वा जोकोहीका लागि हो कि सूचनामा पहुँच भएका वा जोखिम मोल्न सक्ने ब्यक्तिहरुको लागि हो ?

‘लगानीकर्तामा सचेतना, त्यसपछि पहुँच विस्तार’ भन्ने ब्रोकर एशोसिएसनको स्लोगन नै छ । लगानीकर्ताको सचेतना अगाडि गर्नुपर्छ । त्यसपछि पहुँच विस्तार गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । दोस्रो बजार सूचनाको बजार हो । पूँजी फर्मेसनका लागि पूँजी बजार सञ्चालनमा आएको हो । घरघरमा भएको पूँजीलाई क्यापिटलको रुपमा फर्मेसन गर्न पूँजी बजार आएको हो । प्राथिमक बजारमा आईपीओ मार्फत हुन्छ । प्राथमिक बजारमा क्यापिटल फर्मेटेड भएको क्यापिटल त्यतिकै बस्न सक्छ । यो पूँजी त्यतिकै अड्किन नदिनका लगि दोस्रो बजार हो । दोस्रो बजारले तरलता सिजना गर्छ ।

त्यसैले, दोस्रो बजारमा सूचनाका बारेमा राम्रोसँग बुझेको ब्यक्तिले मात्रै प्रवेश गर्ने हो । राम्रोसँग बुझेर कम्पनी छनोट गर्न सक्ने ब्यक्तिले पूँजी बजारमा सहज हुन्छ । दोस्रो बजारका बारेमा सबै कुराहरु बुझेको मान्छेले लगानी गर्ने हो । पहुँच विस्तारलाई मात्रै मान्यता दियो भने अन्ततः ठूलो दुर्घटनामा पर्न सकिन्छ । त्यसकारण पहुँच विस्तार भन्दा पहिला सचेतना दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.