बालाजीले पनि सुरु गर्यो सिमेन्ट निर्यात, भारत पठायो ४२ टन

  २०८० जेठ २९ गते १८:४२     विकासन्युज

काठमाडौं । बालाजी सिमेन्ट पनि भारतमा निर्यात हुन थालेको छ । चन्द्रौटा बजारस्थित रहेको सिमेन्ट उद्योगले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेपछि निर्यात थालिएको बताइएको छ ।

उद्योगका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले सिमेन्ट निर्यात सुरु गरेको बताए । उनले आगामी दिनमा सिमेन्ट निर्यातको संख्या बढाउँदै लैजाने बताए । उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएको बताइएको छ ।

‘आज हामी ऐतिहासिक दिनमा छौं, आज सिमेन्ट निर्यात सुरु गरेका छौं, आज २ ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात शुरु गर्दैछौं, कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो, कपिलवस्तु जिल्लावाट भारत निर्यात पहिलो पटक हो । विस्तारै निर्यात परिमाण वढाउदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको छ,’ उनले भने ।

नेपाल सरकारले ५० करोड भन्दा वढिको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि हामी सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको उनको भनाइ छ ।

‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहितको थियो, सोच आज पुरा भएको छ, हामी सफल भएका छौं, सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ, हामी चाहन्छौं राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरु ल्याउनु जरुरी छ,’ उनले भने ।

बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ शय टन रहेको छ । उद्योगले बहुवलि र श्रृष्टि ब्राण्डका ओपिसि ४३ ग्रेड र पिपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरेको छ ।

बालाजी सिमेन्ट ईण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो उद्योगमा जर्मनको लोच्से कम्पनिको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगहरुका लागी विश्व कै उच्चस्तरिय कम्पनि हो । बालाजी सिमेन्टको वजार नेपालको पश्चिम, सुदुरपश्चिम र कर्णाली प्रदेशमा अत्याधिक छ ।

तानसेन र अर्घाखाँची सिमेन्टले पनि भारतमा निर्यात गरिरहेका छन् । गत असारमा पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गरेको थियो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँची सिमेन्टले पनि सुरुमा २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको थियो । अर्घाखाँचीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको थियो ।

हाल नेपालमा ४ दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरु छन् । सिमेन्ट उद्योगमा विदेशीहरुले पनि हात हालेका छन् । सिमेन्ट सम्पूर्ण रुपमा नेपाली कच्चा पदार्थमा आधारित उद्योग हो । सरकारले पनि सिमेन्ट निर्यातलाई प्रोत्साहित गरेको छ ।