२०८० जेठ ३० गते १०:२९ विकासन्युज
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को चुनाव संघारमै छ । उम्मेदवारहरु चुनावी माहोलमा व्यस्त छन् । चुनावी माहोल आफ्नो पक्षमा पार्न उम्मेदवारहरुबीच प्रतिस्पर्धा चलिरहेको छ । नयाँ कार्यसमितिका लागि इञ्जिनियर समेत रहेका जलविद्युत उद्यमी किरण मल्लले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार मल्लसँग उनको चुनावी अभियान र उनको एजेण्डाका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।
ईप्पानको निर्वाचन नजिकिएको छ, तपाईंले अध्यक्षका लागि उम्मेदवारी पनि घोषणा गरिसक्नु भएको छ, मतदाताले तपाईंलाई मतदान किन गर्ने ?
ईप्पान जलविद्युत उद्यमीहरूको छाता संस्था हो । यस संस्थाले सबै सदस्यहरूको हक र हितको लागि काम गर्दै आएको छ र गर्नु पनि पर्छ । जलविद्युत क्षेत्रमा पनि विभिन्न समस्या छन् । यसमा लगानी, वन तथा वातावरण, जमिन, भूगोल, सडक, प्रसारण लाइन लगायतका समस्या छन् । यी समस्या समाधान गरेर मात्र विद्युतको उत्पादन गर्न सकिन्छ । मेरो उम्मेदवारी यस संस्थाको विकास तथा समग्र जलविद्युत क्षेत्रको विकासका लागि हो । ईप्पान नेपाल सरकार, विद्युत प्राधिकरण, ऊर्जा तथा जलस्रोत मन्त्रालय, बैंक तथा वित्तीय संस्था लगायतसँग सम्बन्धित छ । जलविद्युत क्षेत्रमा देखिएका समस्याहरू समाधानका निमित्त पहल गरी सम्बन्धित निकायसँग लबिङ गरी ऊर्जाका उद्यमीलाई राहत दिने कामसँगै आफ्नो अनुभवलाई सदुपयोग गरौं भनेर उम्मेदवारी दिएको हुँ । म आफै जलविद्युत उद्यमी हुँ । जलविद्युत उत्पादन गर्ने कम्पनीको पनि सञ्चालन गर्छु । यस क्षेत्रमा मेरो ३५ वर्ष भन्दा लामो अनुभव छ । नेपालमा भएका ५० भन्दा बढी आयोजनमा प्रत्यक्ष विभिन्न कोणबाट आवद्ध छु । त्यसैले पनि मलाई मतदाताहरुले पत्याउनु हुन्छ भन्ने विश्वास छ ।
तपाईंले चुनाव जित्ने आधारहरू के-के हुन् ?
ईप्पान भित्र अहिले धेरै असन्तुष्टि छ । मैले जे–जे काम गर्नु पथ्र्यो ती काम गर्न सकिन भने पनि मान्छेमा असन्तुष्टि हुन्छ । ईप्पानको विधानको कारण योग्य उम्मेदवारलाई उच्च पदमा जान दिएन । विधानले संस्थाको कार्यकारी पदमा जानको लागि बन्देज गरेको छ । यो जलविद्युत उद्यमीहरूलाई मन परेको छैन । यस कारणले विधान परिवर्तन एउटा मुद्दा हो । बुहुसंख्यक जलविद्युतका विकासकर्ता ईप्पानको विधान परिवर्तन चाहन्छन् । यस क्षेत्रको विकासका निमित्त नीति नियम पनि सहज र सरल हुनु पर्याे । एउटा कामको लागि प्रत्येक विभाग धाउने बाध्यताको अन्त्य गरी एकै ठाउँबाट धेरै काम हुने वातावरणको सिर्जनामा पनि मेरो भूमिका हुनेछ । मेरो जितको सुनिश्चितता मतदाताले गर्नुहुन्छ । मतदाताको मत मलाई मिल्छ भन्ने कुरामा विश्वस्त छु ।
तपाईं वर्तमान कार्यसमितिमा हुनहुन्न, तपाईंले उठाएका अधिकांश उम्मेदवार अध्यक्षका अर्का उम्मेदवार गणेश कार्कीको टीमका मान्छेहरु हुनुहुन्छ, यस हिसाबले पनि धेरैले तपाईंलाई नपत्याएको भन्छन् नी ?
म पहिलो कार्यकालको नै सदस्यता भएका कारण अध्यक्ष बन्ने ढोका खुलेको छ । विधानले वाधा अड्चन गरेको छैन । बुहुसंख्यक ऊर्जा उत्पादकहरूलाई यस विधानले बाधा अड्चन गरेको छ । कार्यसमिति सदस्य, पदाधिकारी, उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न २५ औं वर्ष लाग्ने देखिन्छ । र, यो असान्दर्भिक हो भन्ने लागेको छ । धेरैले मलाई पत्याएका छन् ।
त्यसो भए ईप्पानको अध्यक्ष बन्नेमा ढुक्क हुनुहुन्छ ?
मेरो यो क्षेत्रमा लामो समय देखिको अनुभव छ । म पेशाले इन्जिनियर पनि हुँ । मेरो पढाइ गराइ पनि एउटै छ । यस क्षेत्रका समस्या जानेको बुझेका छु । त्यसको समाधानका लागि कसरी पहल गर्नुपर्छ भनेर राम्रो ज्ञान भएको कारण मलाई मतदाताले मत दिई निर्वाचित गर्नु हुन्छ भन्ने अपेक्षा लिएको छु ।
जलविद्युत क्षेत्रमा यहाँको योगदान के हो ?
बिजुली उत्पादन गर्नमा मेरो ठूलो योगदान छ । बिजुली उत्पादनको अनुमति पत्र लाइसेन्स लिनको लागि धेरै समय लाग्छ । म इञ्जिनियर भएको कारणले धेरै कुरामा आफ्नै सहभागिता रहन्छ । म निर्माण व्यवसायी पनि हो । मैले करिब १५ सय बढीलाई रोजगारी दिएको छु । मैले यस क्षेत्रसँग सम्बन्धित रहेर जनशक्तिको क्षमता विकासमा धेरैलाई सहभागिता गराएको छु । मैले यस क्षेत्रमा अप्रत्यक्ष, प्रत्यक्ष योगदान पुर्याएको पक्कै छ ।
तपाईं अध्यक्षको उम्मेदवार, तर तपाईंकै छोरी अध्यक्षका अर्का उम्मेदवार गणेश कार्कीको टिमबाट सचिव लड्ने चर्चा थियो, अहिले पछि हटेको कुरा सुनिन्छ,यो हिसाबले तपाईंको आफ्नै छोरीले तपाईंलाई नपत्याइएको देखिन्छ, तपाईंको आफ्नै छोरीले तपाईंलाई मतदान गर्नु हुन्न भने अन्य सदस्यले मतदान गर्छन् जस्तो लाग्छ ?
यो कुरा आधिकारिक होइन । उहाँहरूले फोटो टाँस्नु भएको हो । फोटो टाँस्दैमा उम्मेदवारी हुने भन्ने कुरा बुझिँदैन । तपाईंहरुले पनि त्यसरी बुझिदिनु भएन । बाउ र छोरी दुवैले उम्मेदवारी दिने कुरा आउँदैन । छोरी उता तिरको उम्मेदवारी भइन् भने उहाँको साथीहरू धेरै जसो हाम्रै टिममा साझा उम्मेदवारको रूपमा आउनु हुन्छ । र, मैले एउटै टिम हो भनेर सोचेको छु । छोरी कार्की टिममा गइन् भने उताको साथीहरू पनि हाम्रो टिममा आउँछन् । अर्को कुरा यस पटक छोरी उम्मेदवार हुनु हुँदैन । यस पटक सम्भवतः छोरीको उम्मेदवार कुनै पनि पदमा हुँदैन ।
दुवै जना अध्यक्षको उम्मेदवारको टीममा अधिकांश एउटै उम्मेदवार देखिन्छन्, तपाईंहरुले उम्मेदवार नपाउनु भएको हो ?
यो एउटा छाता संस्था हो । क्षमतावान् मान्छे टिममा हुनु पर्छ । संस्थामा मेरो र तेरो टिम भन्ने हुनु हुँदैन । यो क्षेत्रमा कित्ताकाट गर्नु पर्ने जरुरी छैन । विधानका कारण प्रतिस्पर्धी कम भएको हो । विधानमा पहिला नै कार्यसमिति भएको मान्छे मात्र पदाधिकारीमा आउनु पर्ने बाध्यात्मक कारणले गर्दा प्रतिस्पर्धी कम भए । जुन मान्छे जताको भएपनि यस क्षेत्रमा विकासको लागि कार्यसमितिमा आउने हो । हामीले हाम्रो समूहको कार्यसमिति पनि घोषणा गरिसकेका छौं ।
वर्तमान कार्यसमिति सर्वसम्मत रूपमा नै चयन भएको हो, नयाँ कार्यसमितिको चयन पनि सर्वसम्मत रुपमा हुने सम्भावना कत्तिको छ ?
सर्वसम्मत तरिकाबाट कार्यसमितिको चयन गर्ने भन्ने विषय राम्रो हो । सबै कुरालाई मिलाएर सर्वसम्मत कार्यसमितिको छनोट गर्नु पर्याे । यसमा क्षमता अनुभव, कार्यशैली लगायतका कुरा पनि आउनु पर्याे । सर्वसम्मत गर्ने, अनि म नै पदको दाबेदार हुनु पर्छ भन्ने भयो भने चाहिँ समस्या हुन्छ । अन्य पदका लागि सर्वसहमति भएपनि अध्यक्ष पदको लागि हुँदैन । चुनाव हुन्छ । अध्यक्ष पदमा सबैले मतदान गरेर मलाई विजयी बनाउनु हुन्छ भन्ने कुरामा विश्वस्त छु ।
यदि तपाईं इप्पानको अध्यक्ष पदमा निर्वाचित हुनु भयो भने जलविद्युत क्षेत्रको विकासमा तपाईंको भूमिका के रहन्छ ?
जलविद्युत क्षेत्रको विकास र विस्तारमा मेरो अहम् भूमिका रहन्छ । जलविद्युत क्षेत्रकै छाता संस्था भएकोले यस क्षेत्रका समस्या पनि यहीँ आउने र समाधानको लागि पनि पहल हुने भएकाले देशको जलविद्युत क्षेत्रको विकास भयो । यसमा धेरै मान्छेको सहभागिता भएकाले तिनै मान्छेको सहभागिता हुने भएकाले उहाँहरूलाई सहुलियत दिन सक्यो झन् धेरै जलविद्युतको विकास हुन्छ ।
तपाईंले हालसम्म कुन–कुन परियोजना बनाउनु भएको छ, कुन–कुनमा आबद्ध हुनुहुन्छ ?
मेरो धेरै आयोजनाहरू निर्माणको चरणमा छन् भने कतिपय अध्ययनको क्रममा छन् । २३ मेगावाटको मेवा खेला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । सोलुखुम्बुमा २१ मेगावाटको आयोजनाको स्टक्चरको काम भइरहेको छ । २९ मेगावाटको प्रोजेक्ट पाइपलाइनमा छ । त्यो पीपीएको पर्खाइमा छ । प्रशस्त आयोजनहरू पाइपलाइनमा छन् । मेरो आफ्नै सहभागितामा करिव ३० वटा आयोजना निर्माण भएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
WHY NOT 2 CHAIRMAN ONE FOR TECHNICAL TEAM ONE FOR MANAGEMENT.TEAM NOW 5 SECRATRIES.