काठमाडौं महानगरले बन्द गर्याे हिसान शैक्षिक मेला

  २०८० जेठ ३२ गते १७:२५     विकासन्युज

काठमाडौं । आजदेखि काठमाडौं भृकुटीमण्डपमा शुरु भएको कान्पिुर हिसान एडुफेयर कार्यक्रम काठमाडौं महानगरले हस्ततक्षेप गरेर बन्द गरिदिएको छ । एसईई दिएका विद्यार्थीको नतिजा प्रकाशन नै नभइ विद्यार्थी लोभ्याउने उद्देश्यले मेलाको आयोजना गरिएको भन्दै महानगरले एडुफेयर कार्यक्रम बन्द गरिदिएको हो ।

महानगर शिक्षा विभाग सहित महानगरको प्रहरीले एडुफेयरका स्टल हटाइदिएका हुन् । नतिजा नै नआइकन स्टल राखेर विद्यार्थी र अभिभावकलाई लोभ्याउने काम गरेको भन्दै स्टल बन्द गरेको महानगरका प्रहरी प्रमुख रोजनाथ पाण्डेले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।

काठमाडौं महानगरसँग समेत एडुफेयर सञ्चालनका लागि सहमति नलिएको महानगरका अधिकारीले जनाएका छन् । असार ३ गतेसम्म सञ्चालन हुने भनिएको मेलामा ७५ भन्दा बढी स्टल रहेका थिए भने आयोजक कान्तिपुर पब्लिकेसन रहेको छ । आजै बिहान मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।