आइएसएमटी कलेजद्वारा रोजगार मेला आयोजना

  २०८० असार १ गते १६:१६     विकासन्युज

काठमाडौं । आइएसएमटी कलेजले रोजगार मेला आयोजना गरेको छ । शुक्रबार देशका विभिन्न १५ वटा प्रतिष्ठित कम्पनीको सहभागितामा कलेजले ‘आइएसएमटी जब फेयर २०२३’ सञ्चालन गरेको हो ।

दुईसय भन्दा धेरै विद्यार्थीहरु रोजगार मेलामा सहभागी भएका छन् । कलेजका बिजनेस डेभलपमेन्ट अफिसर बासुदेब वस्तीका अनुसार गत नोभेम्बरमा आयोजना गरिएको मेलामा झण्डै २० प्रतिशत विद्यार्थीहरुले रोजगार प्राप्त गरेकोमा यसपटक पनि धेरै विद्यार्थीहरुले रोजगार पाउन सक्ने बताएका छन् ।

मेलामा सहभागी भएका कम्पनीका अधिकारीहरुले कलेजले मेला आयोजना गरेर आफूहरुलाई जनशक्ति प्राप्त गर्न सजिलो भएको र रोजगारमा आउन चाहने पुस्ताको विषयमा जान्ने समेत अवसर मिलेको प्रतिक्रिया दिएका छन् । त्यस्तै, मेलामा सहभागी भएका विद्यार्थीहरुले कलेजले मेलाको आयोजना गरिदिएर आफूहरुलाई एकैपटक देशका धेरै प्रतिष्ठित कम्पनीहरुसँग रोजगारको लागि अन्तर्वार्ता गर्ने अवसर दिएको बताएका छन् ।

मेलामा सिप्रदी ट्रेडिङ, फोनपे, सेगवे, फुडमान्डु लगायतका देशका प्रतिष्ठित कम्पनीहरुको सभागिता रहेको छ । आइएसएमटी कलेजले आफ्ना विद्यार्थीहरुलाई अध्ययनकै शिलशिलामा रोजगारमा जोड्ने प्रयास गर्नको लागि वर्षको दुईपटक रोजगार मेला आयोजना गर्दै आएको छ ।