२०८० असार ३ गते १४:५१ विकासन्युज
काठमाडौं । शैक्षिक संगठनहरुले काठमाडौं महानगरपालिकाले गर्दा करोडौंकोे क्षति भएको आरोप लगाएका छन् । महानगरले कुनै सूचना वा जानकारी बिनानै भइरहेको ‘आठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ लाई रोकेको भन्दै विभिन्न ९ वटा संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् ।
‘४ दिनसम्म चल्ने स्वीकृतप्राप्त उक्त मेला आयोजनमा रोक लगाउदा करौडौंको आर्थिक क्षतिको जिम्मेवारी र जवाफ काठमाडौं महानगरले लिनुपर्ने देखिन्छ । मेलामा समुपस्थित अभिभावक, विद्यार्थी तथा अन्य प्रति भएको मानसिक दवावको जवाफदेहि महानगर बन्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्सले गत जेठ ३२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला शुरु गरेका थिए । मेलाको पहिलो दिनमै महानगरले मेला सञ्चालन हुन नदिएपछि संगठनहरु आक्रोशित भएका छन् ।
‘महानगरका तर्फबाट भएको गैरन्यायीक हस्तक्षेप प्रति क्षमायाचना र आर्थिक क्षतिपूर्ति सहित निर्वाध रुपमा शैक्षिक मेला सुचारू रूपले संचालन गर्न दिन र आगामी दिनमा यस खालका कुनै पनि क्रियाकलाप नगर्न नगराउन सरोकारवाला निकायप्रति जोडदार माग गर्दछौं,’ संगठनहरुले विज्ञप्तिमार्फत भनेका छन् ।
महिनौदेखी सुसुचित कार्यक्रमलाई बिथोल्नु, सूचना नदिनु, संवाद नगर्नु, संलग्न निवेदनहरुको लिखित जानकारी नगराउनु, आदी सम्पुर्ण हिसावले महानगरका तर्फबाट भएको गैरन्यायीक हस्तक्षेप रहेको संघठनहरु बताउँछन् । यसमा महानगरल माफी माग्नु पर्ने उनीहरुको माग छ ।
साथै, महानगरले आर्थिक क्षतिपूर्ति सहित शैक्षिक मेला सञ्चालन गर्न दिनुपर्ने शैक्षिक संगठनहरुको माग छ । उक्त माग हिसान, प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, ओपन (पोखरा विश्वविद्यालय), पुक्यान(पूर्वाञ्चल विश्वविद्यालय), एईकोन, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एशिया) र निजी प्राविधिक शिक्षालय महासंघ नेपाल लगायतका शैक्षिक संगठनले संयुक्त रुपमा मागेका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.