२०८० असार ३ गते १५:०० विकासन्युज
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले काठमाडौं महानगरपालिका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । हिसानले महानगरले ‘आठौं कान्तिपुर एडुफेयर–२०२३’ माथि गैरकानुनी ढंगले हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
हिसानले जेठ ३२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा आयोजना भएको एडुफेयरमा काठमाडौं महानगरको हस्तक्षेपका कारण ३० करोडको क्षति भएको भन्दै उच्च अदालतमा मुद्दामार्फत मागदाबी गरेको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । ‘हामीले आज मुद्दा दर्ता गरेका छौं, क्षमा माग्नुपर्छ, यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ भनेर माग गरेका छौं’, उनले भने ।
महानगरले एडुफेयरमा हस्तक्षेप गरेपछि शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा जाँदा फेयर सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा दिने बताएपनि महानगरले हस्तक्षेप गर्दा समाज कल्याण परिषदले मुद्दा नहालेको अध्यक्ष सिलवालले बताएका थिए । सरकारको निरिहताकै कारण मेयर बालेनको गुण्डाराज बढेको उनको भनाइ थियो ।
‘समाज कल्याण परिषद्ले किन मुद्दा हालेन, यहि निरिहताको कारणले हो बालेनको गुण्डाराज बढेको’, सिलवालले पत्रकार सम्मेलनमा बताए । आफूहरु नेपालको शिक्षा राम्रो बनाउने अभियानमा लागेको तर, विद्यार्थीलाई सूचना प्रदान गर्न आयोजना गरिएको कार्यक्रम रोक्दा बालेनको नियतमाथि नै प्रश्न उठेको भन्दै अध्यक्ष सिलवालले बालेन पनि विदेशी शैक्षिक संस्थाबाट परिचालित भएको हुनसक्ने भन्दै शंका व्यक्त गरेका थिए ।
‘कतै बालेन शाह पनि विदेशी शिक्षण संस्थाहरुको बहकाउमा लागेर त यो गरिराख्नुभएको छैन, उहाँको नियतमाथि पनि प्रश्न उठेको छ’, उनले भने ।
पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले एडुफेयर कार्यक्रममा महानगरको हस्तक्षेप गलत भएको बताएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.