२०८० असार ५ गते १३:५८ विकासन्युज
घरजग्गा क्षेत्रमा एक सफल व्यवसायीको छवि बनाएका व्यक्ति हुन् रामसुन्दर बके । नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव समेत रहेका उनी घरजग्गा क्षेत्रमा लामो अनुभव सम्हालेर अहिले पर्यटन क्षेत्रमा व्यस्त छन् । रानिकोटमा भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष समेत रहेका उनी अहिले कुशल पर्यटक व्यवसायीका रुपमा पनि परिचित छन् । विभिन्न निकायसँगको सहकार्य गरेर पर्यटन व्यवसायीको विकास विस्तार र यो क्षेत्रमा थप भविश्य खोजिरहेका बकेसँग वर्तमान घरजग्गा र पर्यटन व्यवसायसँगै उनको व्यक्तिगत व्यवसायिक जीवनको विषयमा विकासन्युजका लागि सन्तोष रोकायाले कुराकानी गरेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा एक किसिमको समस्या सिर्जना भयो, अहिले केही सुधार भइरहेको भन्ने सुनिन्छ नी ?
सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ अर्थात् पर्यटन वर्षको रूपमा घोषण गरेको थियो । त्यो बेला व्यवसायी साथीहरू उत्साहित थिए । होटलमा आन्तरिक तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने भयो भने व्यवसायीहरूमा एक किसिमको खुसी छाएको थियो । व्यवसायीहरूले लगानी बढाएर तयारी अवस्थामा थिए । सोही समयमा विश्वव्यापी रुपमा कोभिड–१९ फैलियो । र, हाम्रो उत्साह निरासामा परिणत भयो । कोभिडले हामीलाई झन्डै २ वर्ष थला पार्यो । मेरो आफ्नो चाहिँ आन्तरिक पर्यटनसँग लक्षित व्यवसाय छ । यो व्यवसाय पनि कोभिडपछि लयमा फर्कँदै थियो । सोही बेला रुस र युक्रेन बिचको दन्द्ध चर्कियो । जसका कारण देश मात्र नभई विश्वव्यापी आर्थिक मन्दी छायो । अहिले पर्यटन व्यवसाय खुसी तथा निरास हुने अवस्थामा छैन । पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल केही बढेको पाएका छौं । पर्यटन व्यवसायमा सुधारका संकेतहरु देखिन थालेका छन् ।
तपाईंको विगततर्फ फर्किऔं, तपाईं घरजग्गा व्यवसायी । त्यो क्षेत्रबाट पर्यटनमा तपाईंको प्रवेश कसरी भयो, पर्यटन क्षेत्रतर्फ लाग्नु पर्छ भन्ने किसिमको मानसिकता तपाईंको मन मस्तिष्कमा कसरी आयो ?
म यो क्षेत्रमा कसैले आउनु पर्छ भनेर आएको होइन । मेरो इच्छा र चाहनाले मलाई यहाँसम्म डो¥याएको हो । नेपालमा व्यवसाय गर्नु छ भने पर्यटन व्यवसाय नै उपयुक्त हो । नेपालको परिवेश अनुसारको उपयुक्त बिजनेस यही ठहर गरी लागेको हुँ । मान्छेहरू व्यवसायसँग जोडिन थालेपछि जहाँ धेरै व्यवसाय छ, त्यहीँ होमिने अभ्यास छ । काठमाडौं नजिकैको पर्यटकीय स्थल भनेर नगरकोटलाई चिनिन्छ । व्यवसायीहरू पनि होटल सञ्चालन गर्नु छ भने नगरकोटमा गर्नु पर्छ भन्छन् । अनि अर्को चर्चामा आएको स्थान हो ककनी । त्यहाँ बाहेक काठमाडौंमा अन्य पर्यटकीय गन्तव्य छैन । अरूले मेला लगाएको ठाउँमा किन जाने ? आफै मेला लगाउने भन्ने उद्देश्य सहित म लागेको हुँ । भक्तपुरको रानीकोटमा मैले होटल खोल्ने योजना सहित २०६० सालमा जग्गा किनेँ । त्यो भन्दा अगाडी चितवनको सौराहा होटल खोल्ने योजना बनाएँ । काम पनि सुरु भइसकेको थियो । त्यहाँका साथीभाइले मलाई आफ्नो ठाउँमा काम नगरेर तिमी यहाँ किन आउने, कि बसाइसराइ गरेर आऔं, नयाँ ठाउँमा काम गर्दा डुब्न सक्ने सम्भावना छ लगायतका कुरा गर्न थाले । मेरो इच्छा थियो । चाहे त्यो जुनसुकै ठाउँमा किन नहोस् । त्यसपछि सोचें, रानिकोटमा पनि जग्गा छ, अब त्यही बनाउने रिसोर्ट । सौराहा होटल बनाउने योजना साथ पुगेको मान्छे त्यहाँ छोडेर रानिकोटमा बनाउने निर्णय गरेँ ।
रानिकोटमा होटल बनाउँदा पनि मलाई साथी भाइ, आफन्त तथा शुभचिन्तकहरुले पनि राम्रो गर्याे भनेर कसैले पनि भनेनन् । उल्टै त्यहाँ लगानी गरेर तिमी फस्यौ भन्ने किसिमको प्रतिक्रिया दिए । नगरकोट, सौराहा, जस्ता मुख्य स्थानमा होटल खोलेको भए ठिक हुन्थ्यो भन्ने धारणा राखे । त्यतिखेर काम गर्दै, कुरा सुन्दै गइयो । तर, अहिले रानिकोट पर्यटनको हब भएको छ । हामी काम गर्दै जाँदा सफल भएको महसुस गरेका छौं । अहिले आन्तरिक वा वाह्य पर्यटनको लागि रानिकोट परिचित स्थानको रूपमा स्थापित भएको छ । हामी यस पटक दक्षिण एसिया अवार्ड पनि सहित पुरस्कृत पनि भएका छौं । सार्क मुलुकको भित्रको घुम्न योग्य ठाउँका रूपमा चिनाउन पाउँदा गर्व लाग्छ ।
अहिले रानिकोटमा पर्यटकको चहलपहल कस्तो छ ?
रानिकोट चर्चित पर्यटकिय गन्तव्यको रूपमा विकास भइसकेको छ । अहिले नगरकोटका होटल व्यवसायीले रानीकोटले हामीलाई सुकाइदियो भन्छन् । मलाई त्यो बेला गर्व लाग्छ । मैले सही निर्णय गरेर सही काम गरेछु भन्ने लाग्छ । रानिकोट प्राकृतिक रूपमा पनि निकै सुन्दर ठाउँ । उपत्यका भित्रका जुनसुकै ठाउँबाट आउँदा पनि एकदेखि डेढ घण्टाको बीचमा रानिकोट पुगिन्छ । नगरकोटमा पुग्न त्यो भन्दा बढी समय समय लाग्छ । पुग्दा पुग्दै रमाइलो गर्ने समय नै बचेको हुँदैन । रानिकोटबाट विभिन्न ठाउँका हिमालहरू पनि नजिकैबाट नियाल्न सकिन्छ । उपत्यकालाई नियाल्दै भक्तपुरका प्रमुख तथा ऐतिहासिक ठाउँको अवलोकन गर्न पाइन्छ । साँस्कृतिक तथा ऐतिहासिक ठाउँ हो रानिकोट । मेरो रोजाइलाई पर्यटकहरूले मनन गरी योग्य ठाउँ छ भनेर ग्राहकले सेवा दिने मौका दिएका छन् । नयाँ क्षेत्र घुम्न र पहिचान गर्न रानिकोट एउटा सुन्दर गन्तव्य हो । कुनै पनि काम सफल भए साहसिक हुन्छ । असफल भए दुस्साहस हुन्छ । मान्छे असफल भयो भने नराम्रो काम गर्याे भन्ने कुरा आउँछ । शुभचिन्तकतक भएको हिसाबले नयाँ व्यवसायमा लाग्दा फसिन्छ भनेर त्यो भनेको पनि हुन सक्छ । आज सफल भएकोले मैले गरेको काम साहसिक बन्यो । आज रानिकोट कसले बनायो भन्दा मेरो नामसँग जोडिन्छ ।
एउटा घरजग्गा व्यवसायीको रुची एकाएक पर्यटन व्यवसायमा कसरी गयो, पयर्टन क्षेत्रमा फड्को मार्ने यही नै सही समय हो भनेर आत्मानुभुति कसरी गर्नुभयो ?
हामीले हिजो अभिभावकको गाइडलाइन पाएनौं । हामी आफैले क्षेत्रको छनोट गरी व्यवसाय सुरु गर्यौं । हामीले यी सबै कुरा बुझेका छौं । आफ्नो सन्तान छोराछोरीलाई बेलैमा रोजगारी तथा व्यवसायमा जोड्नु पर्छ भन्ने मेरो सोचाइ थियो । हाम्रो भक्तपुरमा २०३० सालमा चिउराको मिल थियो । र, २०३२/३३ सालमा एउटा राइस मिल पनि सञ्चालनमा ल्यायौं । हाम्रो पारिवारिक वातावरण नै व्यवसायिक थियो । वातावरण नै व्यवसायिक भएकाले हामीलाई व्यवसाय तर्फ प्रेरित गर्याे । त्यसैले आफू पनि व्यवसायमा जोडिएको नाताले सन्तानलाई पनि व्यवसायमा नै जोड्नु पर्छ भन्ने मनसाय थियो । हाम्रो सन्तानले आफूले गरेको व्यवसाय नगर्न सक्छन् । समय सापेक्षित व्यवसाय गर्न खोज्छन् । त्यो व्यवसाय पनि पर्यटन नै हुन सक्छ । त्यसैले मैले छोरालाई पनि बेलैमा यस क्षेत्रसँग आबद्ध गराएको हुँ ।
तपाईंको बिचारमा उच्च शिक्षा पढेर गरेर एक किसिमको योग्यता हासिल गर्नु राम्रो वा सानैदेखि आफ्नै व्यवसाय गर्नु राम्रो ?
हरेक व्यवसाय गर्नको लागि शिक्षा चाहिन्छ । पूर्ण शिक्षा भइसकेपछि मात्र व्यवसायमा सफलता पाउन सकिन्छ । मेरो पहिलो प्राथमिकता शिक्षा नै हो । छोराले स्नातक तह पार गरिसकेको छ । स्नातक तह पास गरेर मात्र उसलाई मैले व्यवसायमा जोडेको हुँ ।
नेपालमा पर्यटनको अथाह सम्भावना छ भनिन्छ, सरकारले अबको एक दशकलाई पर्यटन दशकको रूपमा घोषणा गरेको छ, देशमा पर्यटकीय गतिविधिहरू बढाउनको लागि के गर्न आवश्यक छ ? यो देशको सम्वृद्धिमा पर्यटन क्षेत्रको भूमिका कस्तो हुन सक्छ ?
पर्यटन वर्ष मनाउने भन्दै सरकारले बजेट मार्फत घोषणा गरेको छ । पर्यटन दशक मनाउनु गौरवको विषय हो । किनभने यस क्षेत्रको लागि सम्भावना एउटा ठोका खुल्ला हुनु हो । म पर्यटन व्यवसायमा पृथक धारण राखेर हिँडेको मान्छे हुँ । मेरो उद्देश्य ग्रामीण पर्यटनलाई उत्थान गर्नु हो । ग्रामीण पर्यटन र कृषि नै पर्यटनको. प्रमुख आधार हुन्छ । पर्यटन क्षेत्रबाटै देशको आर्थिक उन्नति गर्नुपर्छ । मेरो एउटा अभियान छ, ‘जे पाक्छ त्यो बिक्छ, गाउँ गाउँ होमस्टे गाउँमै रोजगार ।’
सरकारले बजेट मार्फत नै वार्षिक २÷३ लाख जनालाई रोजगारी दिने भनेको छ ।राज्यलाई त्यो रोजगारी सिर्जना गर्न गाह्रो होला । तर, मेरो नजरमा त्यो काम पुरा साह्रै सजिलो छ । किनभने प्रत्येक घरलाई पर्यटनसँग जोड्ने हो भने प्रत्येक घरमा रोजगार भयो । गाउँघरमा होम स्टेलाई फस्टाई आन्तरिक तथा विदेशी पर्यटनलाई त्यहाँसम्म पुर्याउन सक्यो भने त्यसको लाभ सबैले लिन सक्छन् ।
पर्यटनसँग कृषि पनि जोडिएको भएकाले कृषकलाई पनि प्रत्यक्ष फाइदा पुग्छ । पर्यटन गाउँमा नै पुग्ने हो भने कृषि उपहज पनि गाउँमै खपत हुने भयो । बजारसम्म पनि ल्याउनु परेन । बिचौलियाको पनि समस्या भएन । सिधै रकम पनि कृषकको हातमा पुग्ने पर्याे । यस्तै मैले अर्को सोच बनाएको छु, ‘गाउँमै कमाऊँ गाउँमै खाऊँ, गाउँमै बनाऊँ, गाउँमै रमाऊँ ।’ गाउँमा सम्भावना अथाह छ । अहिलेको पर्यटन गाउँ लक्षित नै हो । त्यहाँसम्म पुग्नको लागि आवश्यक पूर्वाधार चाहिँ सरकारले तयार गरिदिनु पर्याे । गाउँमा पनि त्यही अनुसारको सेवा सुविधाहरू उपलब्ध हुनु पर्याे । नेपालमा विदेशी पाहुना राख्न सक्ने क्षमता ३० लाख छ । केही वर्षपछि यो क्षमता बढेर ५० लाख पुग्न सक्छ । राज्य पर्यटक दशकको मनाउँछ, १०/२० लाख पर्यटकको आशा गर्छ । पर्यटन नेपाल कति भित्र्याउने भनेर सरकार र निजी क्षेत्र सहकार्य गरेर नेपालको पर्यटन दशक सफल हुन्छ ।
तपाईं लामो समय घरजग्गा व्यवसायमा व्यस्त हुनु भयो, पछिल्लो समय पर्यटन व्यवसायमा अभ्यस्त हुनुहुन्छ, यी दुई क्षेत्रमध्ये कुन क्षेत्र उचित देख्नु भयो, तपाईको नजरमा कुन क्षेत्र सम्भावना युक्त क्षेत्र हो ?
म घरजग्गा व्यवसायमा ४८÷४९ साल तिर लागेको हुँ । यस क्षेत्रमा काम गर्ने वातावरण छैन । स्पष्ट नीति नियम पनि छैन । घरजग्गामा लगानी धेरै हुन्छ । पुँजी जुटाउन पनि गाह्रो भयो । कहिले कित्ताकाट गर्न पाउने, कहिले नपाउने अवस्थाको सिर्जना भयो । टेबुल मुनिबाट गयो भने कित्ताकाट गर्न पाउने माथिबाट गए नपाउने जस्ता समस्या भएको कारणले गाह्रो भएको हो । घरजग्गा व्यवसाय तुलनामा सजिलो पेशा देखेको मैले पर्यटन व्यवसाय नै हो । पर्यटन व्यवसाय खुसी साट्ने पेशा हो । तपाईं हप्ता वा महिना दिनको कामको ह्याङ लिएर आनन्द लिन हाम्रो होटलमा पुग्नु हुन्छ । त्यहाँ बसेर तपाई खुसी भएको देख्दा हामी पनि खुसी हुन्छौं । पर्यटन व्यवसाय खुसी साट्ने तथा खुसी दिन सक्ने पेशाको रूपमा मैले लिएको छु ।
लामो समय घरजग्गामा मन्दी देखियो तर केही समय यता सुधार भइरहेको सुनिन्छ, घरजग्गा क्षेत्रमा मन्दी आउँदा सबै क्षेत्र सुस्त बने, घरजग्गा त्यस्तो के रहेछ, जसले सबैलाई थला पार्यो ?
घरजग्गामा राज्यले नै मन्दी निम्त्याएको हो । बाहिरको प्रभावले घर जग्गामा मन्दी भएको होइन । सरकारले भुउपयोग नियमावली लागू गरे पश्चात् यस क्षेत्रमा मन्दी छाएको हो । जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट भयो । कित्ताकाट भएको जग्गामा बिक्री भए, घर बनाउनेले घर बनाए, बिक्री गर्नेले बिक्री गरिसके । नयाँ किनबेच बन्द भयो । सरकारले करिव ६ महिना जति कित्ताकाटमा रोक लगायो । र, कित्ताकाट बन्द हुने बित्तिकै हरेक व्यवसायमा समस्या पर्याे । सरकारले यस क्षेत्रलाई अनुत्पादन मूलक क्षेत्रको रूपमा हेर्छ । लगानी गर्नु हुँदै भन्छ । घरजग्गा व्यवसाय शुद्ध नेपाल भित्र मात्र हुने व्यवसाय हो । कुनै सामान विदेशबाट ल्याउनु पर्ने भने यहाँको मुद्रा विदेश जान्छ । तर, यसमा तपाईंले किन्ने मैले बेच्ने पैसा बाहिर पनि गएन । मन्दीको दोष जति घरजग्गालाई थुपारिएको छ । अर्थतन्त्रमा सुधार ल्याउनु छ भने विलासिताको वस्तुको आयात बन्द गर्नु पर्छ । अति आवश्यक वस्तुहरू आयात गर्नु पर्छ । हाम्रो आयातमुखी अर्थतन्त्र भयो । भन्सारबाट धेरै सामान भित्रिए मात्र बढी मात्रामा राजश्व संकलन हुने भयो । राज्यले उत्पादनमुलक अर्थनीति ल्याउनु पर्छ । सरकारले देश भित्र नै उद्योग तथा कलकारखाना खोल्ने नीति ल्याउनु पर्याे अनि मात्र अर्थतन्त्रको विकास हुनेछ ।
नेपालमा जग्गा किन्ने भनेको खाडी मुलुकमा गएका मजदुरले हो । उहाँहरूले मजदुरी गरेर ल्याएको पैसाले व्यवसाय गर्न सक्नु हुन्न । ठूलो व्यवसाय गर्न सक्ने पुजी हुँदैन । विदेश गएका युवा तथा दूरदराजबाट आएकाहरूले शहरमा घर बनाउने कल्पना गर्छ । सुगम ठाउँमा घर बनाउने छोराछोरीलाई राम्रो शिक्षा दिने नेपालीको चाहना हो । त्यो ब्रेक हुने बित्तिकै त्यो पैसा रोकिने भयो । जग्गाको कित्ताकाट खोल्ने बित्तिकै ७÷८ खर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । जग्गाको कित्ताकाट नहुँदा रेमिट्यान्स पनि कम मात्रामा भित्रिएको थियो । अहिले हामीले पनि अलिकति मन्दी हटेको हो कि भन्ने महसुस गरेका छौं । ग्राहकहरूको हिजोको खर्च गर्ने तरिका र आजको खर्च गर्न परिपाटी बढेको पाएका छौं ।
घरजग्गा व्यवसायीलाई हेर्ने सर्वसाधारण र सरकारको नजर अलि बेग्लै छ, घर घडेरी सबैलाई चाहिने तर त्यही व्यवसाय गर्ने व्यवसायीलाई हेर्ने नजर पजर किन यस्तो भयो ?
घर जग्गा व्यवसायीलाई दलालको दृष्टिकोणले समाजमा हेर्छन् । मूल्य तय गर्ने एक आपसको वार्तालाई दलाली भनिन्छ । अर्थात् क्रेता र बिक्रेता बिचको वार्तालाई तथा मूल्य घटबढको शब्दलाई दलाल भनिँदो रहेछ । दलाल भन्ने शब्दले मान्छेलाई दख पुग्छ । काठमाडौंमा एउटा सानो नाङ्लो पसल राख्नेलाई साउँजी भनेर सम्बोधन गरिन्छ । आफ्नो लगानी गरेर जीवन भनेर पढेको शिक्षा अनुभव दाउमा लाएर व्यवसाय गर्नेलाई राज्य र जनताले दिएको नाम दलाल । घरजग्गा व्यवसायीलाई दलाल भन्नु गलत हो । अरू व्यवसायीलाई जसरी कमाए पनि सम्मानका साथ यहाँ हेरिन्छ ।
घरजग्गाको मूल्य पनि असाधारण छ, अहिले १० लाखमा किनेको जग्गा आउँदो वर्ष २० लाख रुपैयाँको भइदिन्छ, यो किसिमको मूल्यवृद्धि कसरी र किन हुन्छ ?
घरजग्गालाई यति नै मूल्य भनेर राज्यले तोकिदिएको छैन । उत्पादनभन्दा बढी खरिदकर्ता भएपछि मूल्य बढ्ने नै भयो । घरजग्गाको लागि राज्यले योजना बनाएर ठूलो प्लानिङ गरिदिनु पर्याे । देशका ३० देखि ४० लाख युवा विदेशमा छन् । विदेशमा गएका युवाले किन्ने भनेको जग्गा हो । सरकारले वार्षिक घर जग्गाको कारोबार कति भयो भनेर डाटा बनाउनु पर्याे । वार्षिक कति जग्गा किनबेच भयो भनेर डाटा नहुनाले पनि समस्या भयो । सरकारले निजि क्षेत्रलाई काम गर्न वातावरण बनायो भने मात्र जग्गाको मूल्य सस्तो हुने भयो । हामीसँग घडेरी थोरै छन्, ग्राहक धेरै छन् । जग्गा कित्ताकाटमा छैन । त्यसैले पनि जग्गाको मूल्य मनपरी भयो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ शहर बनाउने भन्दै उपत्यका भित्रको डेढ लाख रोपनी जग्गाको कित्ताकाट रोकेर बसेको छ । कित्ताकाट रोकेको लामो समय हुँदा पनि काम अगाडि बढ्न सकेको छैन । यसमा निजी क्षेत्र सहकार्य गरेर काम गरेका भए धेरै हदसम्म सहज हुन्थ्यो । काम पनि अगाडि बढ्थ्यो । आज बजारमा सिमेन्ट बिक्री नभएर सिमेन्ट उद्योग बन्द भयो । निर्माणसँग जोडिएका उद्योग घर जग्गासँग जोडिने हो । यसलाई राज्यले अनुत्पादक क्षेत्र भन्छ । नेताहरू विदेशबाट पठाएको पैसाले घर नबनाउनु जग्गा नकिन्नु भन्दै भाषण गरेको सुन्छु । त्यसो भए गर्ने के ? उसले ल्याएको पैसाको ग्यारेन्टी केमा छ । सुन चोरी होला भन्ने डर । सेयर मार्केटमा लगानी गरौं जानेको छैन । उसले कमाएर ल्याएको पैसाको सुरक्षा जग्गा नै हो । यो चारी पनि हुँदैन, हराउँदा पनि हराउँदैन । घरजग्गालाई व्यवसायलाई सम्मानित पेशा बनाउनको लागि निजि क्षेत्र व्यवसायीहरू लागेका छौं । भविष्यमा घरजग्गा व्यवसाय दलालको रूपमा चिनिने छैन । विकासकर्ता अथवा साहुजीको भाषा सम्बोधन हुन सक्छ । साहुजी र विकासकर्ताको भाषा सम्बोधन गर्नको लागि परेका छौं ।
तपाईं लामो समयदेखि घरजग्गा व्यवसायमा काम गरेर पर्यटनमा हात हाल्नु भएको छ, यी दुवै क्षेत्रलाई समेटेर अगाडि बढ्नु हुन्छ वा बेग्लै रणनीति छ ?
आफूले जानेर गरेको पहिलो व्यवसाय घरजग्गा हो । यो छोड्ने कुरा भएन । हामी जस्ता निम्न पुँजी भएका विकासकर्ताले अब काम गर्न सक्दैन । म चाहिँ ग्रामीण क्षेत्र तिर जग्गा खोजीरहेको छु । सस्तो ठाउँमा नयाँ शहर बनाउने खोजीमा छौं । नयाँ गन्तव्यको खोजीमा छौं । तराइ पनि भरिसकेको छ अब पहाडमा प्लानिङ गर्ने सोचमा छु । पहाडी क्षेत्रमा शहर बाउन सक्यो भने घरजग्गा व्यवसायीहरुको भविष्य छ । तपाईंले पहाड तथा तपाईं एरियामा जाने भन्नु भयो, पहाडी इलाकामा जाँदा भूक्षयको ठूलो समस्या छ ।
पहाडी क्षेत्रमा घरजग्गा व्यवसायी प्रवेश गर्यो भने फेरि पहाड पनि मासिने डर होला नी ?
हामीले उपयुक्त ठाउँ भेटेपछि काम गर्न सुरु गर्ने हैन । त्यहाँ उपयुक्त छ छैन भनेर अध्ययन गर्ने हो । पहिला त्यहाँको भूगोलको पहिचान गर्ने हो । प्रकृतिलाई सिँगारेर काम गर्न सक्यो भने राम्रो हुन्छ । भूगोललाई बिगारेर काम गर्यो भने हाम्रो प्लानिङ सुरक्षित हुँदैन । त्यो ठाउँमा सम्पूर्ण अध्ययन र प्रविधि युक्त प्लानिङ गर्यौं भने यस्तो अवस्था नआउला ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.