इन्जिनियरिङको लाइसेन्स परीक्षामा ६६ प्रतिशत विद्यार्थी फेल

  २०८० असार ९ गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्सको लागि लिएको परीक्षामा ६६ प्रतिशत विद्यार्थी फेल भएका छन् । यही असार ६, ७ र ८ गते परिषद्ले सञ्चालन गरेको लाइसेन्सको परीक्षामा ६६ प्रतिशत विद्यार्थी फेल भएका हुन् । दोस्रो पटकको परीक्षमा सहभागी भएका २४ सय ७४ जनामध्ये ८ सय १ जना मात्रै विद्यार्थी पास भए । लाइसेन्सको परीक्षाका लागि २ हजार पाँचसय ६८ जनाले आवेदन दिएका थिए । परिषद्का अनुसार तीमध्ये ९४ जना विद्यार्थी परीक्षामा सहभागी भएनन् ।

परिषद्ले गत चैतमा लिइएको पहिलो लाइसेन्स परीक्षामा पनि अहिलेको भन्दा धेरै ७२ प्रतिशत फेल भएका थिए । इन्जिनियरिङको लाइसेन्स प्राप्त गर्न सय पूर्णांकको २ घण्टे परीक्षामा न्यूनतम ५० अंक प्राप्त गर्नुपर्छ ।

परिषद्‍ले विभिन्न २३ वटा विषयगत विधामा इन्जिनियरिङ लाइसेन्सको परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा अनुत्तिर्ण भएका मध्ये अधिकांश विद्यार्थीहरु विदेशमा अध्ययन गरेर फर्र्किएका मध्ये रहेको परिषद्का अधिकारीले जनाएका छन् । नेपालको कुनैपनि क्षेत्रमा इन्जिनियर भएर काम गर्नको लागि लाइसेन्स अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।