खल्तीकाे व्यापार चार गुणा बढी छ, बिगेस्ट पेमेन्ट जात्रामा आकर्षण बढ्दैछ : सीईओ खड्का

  २०८० असार १८ गते १२:५८     विकासन्युज

खल्ती डिजिटल वालेटले जेठ र असार महिनामा बिगेस्ट पेमेन्ट जात्रा अफर सञ्चालन गर्यो ।  असार महिनाको अफर अहिले पनि सञ्चालनमा छ । जेठ १ गतेदेखि असार ३१ गतेसम्मका लागि ल्याएको बिगेस्ट पेमेन्ट जात्रा अफरमा सेवाग्राहीको आकर्षण पनि बढिरहेको छ । सो अफरलाई २ महिनाको अवधिमा ४ वटा राउण्डमा छुट्याइएको छ । प्रत्येक राउण्डमा २ वटा भुक्तानी गर्ने प्रयोगकर्तालाई लक्की ड्र मार्फत् ५ वटा पल्सर एन १६० मोटरसाइकल प्रादन गर्नेछ । साथै यो अफरमा कार्ड स्क्र्याच गरी सर्भिस कुप्पन, स्मार्ट वाच, एयर बड्स, फिल्म टिकेट लगायतका अन्य उपहार जित्न सकिनेछ । साथै पछिल्लो समय डिजिटल भुक्तानीमा विकास र विस्तार हुँदै गर्दा ठगी धन्दाहरु पनि मौलाएका छन् । यही विषयमा केन्द्रित भएर खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्कासँग विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् ।

खल्तीले बिगेस्ट पेमेन्ट जात्रा अफर सञ्चालन गरिरहेको छ, यसको फिडब्याक र प्रभाव कस्तो छ ? 

गत वर्षदेखि बिगेस्ट पेमेन्ट जात्राको रुपमा मेगा क्याम्पेन सञ्चालनमा ल्याएका हौं । गत वर्ष बिगेस्ट पेमेन्ट जात्रा २ महिनाभन्दा कम समय सञ्चालन गरेका थियौं । त्यो बेलामा ५ लाखभन्दा बढी प्रयोगकर्ताहरु सहभागी भएका थिए । यसपटक भने हामीले झनैं रोमाञ्चक बनाएका छौं । पहिला भुक्तानी गरेपछि मात्रै रिवार्ड पाउने स्कीम थियो । अहिले पेमेन्ट गरेपछि बम्फर उपहार पाउने बाहेक दिनको एकपटक खल्ती खोल्दा हात खाली नहुने गरी स्कीम ल्याएका छौं । त्यसैले पनि यसपटक प्रयोगकर्ताको सहभागीता बढेको छ । यसपटक बिगेस्ट पेमेन्ट जात्रा सुरु भएपछि ११ लाखभन्दा बढीले कुनै न कुनै माध्यमबाट सहभागी भएका छन् । एजेन्ट साइटबाट पनि सहभागी हुने दर बढेको छ । २ महिनाको अवधिमा ३ करोडभन्दा बढी गिफ्ट भौचर, कुपन दिने लक्ष्य हो । सोही अनुसार नै खपत भइरहेको छ । पहिलो चरणको राउण्डमा पल्सर एन१६० मोटरसाइकल विजेता घोषणा गरिसकेका छौं । कूल ५ वटा मोटरसाइकल दिन्छौं । त्यसको पनि लक्कि ड्र हुने तयारीमा छ । समग्रमा बिगेस्ट पेमेन्ट जात्राले खल्तीको ट्रान्जेक्सन, प्रयोगकर्तासँगको संलग्नता, ब्राण्ड भ्यालुमा ठूलो मद्दत पुगेको छ ।

धेरैले बिगेस्ट पेमेन्ट जात्रा सुने पनि बुझेका छैनन्, ती नबुझेकाहरुलाई यस विषयमा कसरी बुझाउनु हुन्छ, के हो बिगेष्ट पेमेन्ट यात्रा ? 

हामीले दैनिक विभिन्न डिजिटल कारोबार गरिरहेका हुन्छौं । समय समयमा विभिन्न अफरहरु पनि चलिरहेका हुन्छन् । तर, दशैं एउटा पर्व हो । त्यो बेलामा माहोल श्रृजना गर्छ, सबै मान्छेले सपिङदेखि अन्य काम हुने भएकाले अर्थतन्त्र चलायमान बनाउँछ । जेठ र असारमा धेरै मान्छेहरुको प्रिमियम ड्यू हुने र क्लियरेन्स गर्ने भएकाले जेठ र असारलाई भुक्तानी पर्वको रुपमा बिगेस्ट पेमेन्ट जात्रा नाम दिएर यो क्याम्पेन सुरु गरेको हो । खल्ती डिजिटल वालेटमार्फत कुनै पनि भुक्तानी गरेर हात खाली नहुने गरी उपहार जित्ने अवसर हो । यदि भुक्तानी नै गर्नु छैन भनेपनि खल्ती एपमा क्वीजदेखि लिएर अन्य प्ल्याटफर्महरु छन् । जसमा संलग्न भएपछि रिवार्ड, अफरहरु सुरक्षित गर्न सकिन्छ ।

बिगेस्ट पेमेन्ट जात्रामा अफर तथा स्कीम के कस्ता छन् ? 

यसमा ३ करोडभन्दा बढी कुपन, स्क्र्याच कार्डहरु राखिएका छन् । जसमा प्रयोगकर्ताले केही न केही हात परेका हुन्छन् । हात खाली हुँदैन । साथै, बम्फर उपहार स्वरुप ५ वटा पल्सर एन१६० मोटरसाइकल दिँदैछौं । यस्तै, आईफोन, वान प्लस लगायतका उपहार राखेका छौं । यसमा हजारौं गिभवेयजहरु राखिएको छ । जस्तै, फिल्म कुपनहरु राखिएका छन् । साथै, मर्चेन्ट पार्टनरहरुसँग मिलेर हामीले विभिन्न खालका अन्य अफर पनि राखेका छौं । जस्तो बीमा कम्पनीको भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिन्छ । त्यसैले अफरहरुको महा-उत्सव भन्ने हिसावले यसलाई डिजाइन गरिएको हो ।

धेरैले यस्ता स्कीम तथा अफर ल्याउँदा कम्पनीले आफ्ना कर्मचारी र आफन्तहरुलाई नै पार्न गरेको भन्ने शंका गर्ने गरेको देखिन्छ, यो कत्तिको यथार्थ हो ? 

प्रत्यक्षरुपमा ३५ लाखभन्दा बढी प्रयोगकर्ताहरुसँग जोडिएका छन् । अप्रत्यक्ष रुपमा ९० हजारभन्दा बढी एजेन्टबाट लाखौं प्रयोगकर्ताहरुले सेवा लिइरहेका छन् । वर्षभरी हामीले केही न केही क्याम्पेन गरिरहेका हुन्छौं । लक्की ड्रलाई हामीले सकेसम्म पारदर्शी बनाउने कोशिस गरिरहेका छौं । बाइक, मोबाइल लगायत अन्य उपहारहरु सामाजिक सञ्जालदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यमबाट पनि प्रकाशन प्रसारण भइरहेको हुन्छ । प्रयोगकर्ताहरुलाई विभिन्न प्रश्न गरेर संलग्न गराउने काम गरिरहेका हुन्छौं । प्रत्यक्ष लाइभबाटै छनोट गरेर विजेता घोषणा गरेर उहाँहरुलाई फोन सम्पर्क गर्छाैं ।

खल्तीका कर्मचारीहरुमध्ये बिगेस्ट पेमेन्ट जात्राको लक्की ड्रमा आवद्ध हुन पाउनु हुन्न । उहाँहरु खल्ती प्रयोग गर्ने हिसावले स्क्रयाच कार्ड पाएपनि लक्की ड्रमा कर्मचारीलाई सहभागी गराउँदैनौं । कार्यालय भित्रै पनि विभिन्न क्याम्पेन गरिरहेका हुन्छौं । जसमा कर्मचारी मात्रै सहभागी हुन पाउँछन् । त्यसैले कर्मचारीलाई पब्लिक क्याम्पेनमा हामीले सहभागी गराउँदैन । खल्ती भ्यालू र विश्वासले बनेको ब्राण्ड हो । सयौं करोड लगानी गरेका छौं । एउटा बाइक, मोबाइल कुनै कर्मचारीलाई नियतवश पारेर त्यो रेपुटेसन खराब गर्ने अवस्थामा छैनौं । त्यसैले हामी पूर्ण रुपमा पारदर्शी भएर काम गरिरहेका छौं । सामाजिक सञ्जालमार्फत् हामी प्रत्यक्ष प्रसारणमा आउँदैछौं, लक्कि ड्र हुँदै छ भनेर पूर्व जानकारी गराएका हुन्छौं ।

खल्तीले ल्याएको बिगेस्ट पेमेन्ट जात्रा जेठ र असार महिनामै किन ? 

असारलाई क्लोजिङको रुपमा लिएका हुन्छौं । असारमा अर्थतन्त्र पनि चलायमान हुन्छ । सरकारका अधिकांश कामहरु पनि असारमा नै बढी हुन्छन् । वित्तीय क्षेत्रका सबै हिसावहरु पनि असारमा बन्द हुन्छन् । हामी पेमेन्टसँग बढी झुकाव राख्ने भएकाले कारोबार जुन बेला बढी हुन्छ त्यो बेलामा क्याटर गर्न सक्यो भने बढी फाइदा हुन्छ । आर्थिक वर्षको अन्त्यमा अर्थतनत्रलाई चलायमान गर्न योगदान पुर्याउन सहयोग गर्ने हो । अन्य महिनामा हुँदै नहुने भन्ने मनस्थिती बनाएका छैनौं । अर्थतन्त्रलाई बढी चलायमान गर्न सकिने भएकाले जेठ र असारलाई जोड दिएको हो ।

अहिले खल्तीले प्रयोगकर्ताहरुलाई के कस्ता सेवा सुविधाहरु दिइरहेको छ ? 

खल्ती डिजिटल वालेटलाई ‘फाइनान्सियल लाइफ स्टाइल एप’को रुपमा स्थापना गर्ने लक्ष्य छ । ७ वर्ष अगाडि टेलिकमको रिचार्ज, विजुलीको बिल भुक्तानीबाट खल्तीको यात्रा सुरु भएको हो । अहिले खल्तीबाट बीमा कम्पनीको स्किम खरिद गर्न मिल्छ । खल्तीले ५ हजार मर्चेन्टहरुसँग प्रत्यक्ष सिस्टम इन्टरग्रेट गरेको छ । जसमा टेलिकम, इन्टरनेट सेवा प्रदायक, टेलिभिजन सेवा, विद्यालय, कलेज, बीमा कम्नपी, बैंक आवद्ध छन् । अर्थतन्त्रका मुख्य क्षेत्र सरकारी सेवा, क्यापिटलको भुक्तानीदेखि लिएर सबै कुराहरु जोडिएका छन् । क्यूआर पेमेन्टमार्फत् खल्तीबाट १३ लाख बढी क्यूआर पेमेन्ट गर्न सकिन्छ । साथै, एउटा बैंकबाट अर्काे बैंक पैसा पठाउँदा खल्ती प्रयोग गर्न सकिन्छ ।

इनोभेटिभ सर्भिसमा खल्ती क्वीज भनेर वित्तीय साक्षरताको लागि विशेष सेग्मेन्ट स्थापना गरिएको छ । जसमा दैनिक ५० हजारभन्दा बढीले क्वीज खेल्नु हुन्छ । नेपालका सबै फिल्म हलको टिकट खल्ती एपबाट समय छनोट गरेर खरिद गर्न सकिन्छ । राइड सेयरिङको पेमेन्ट लगायत यूनिक फिचर रहेका छन् । जुन अन्य कुनै पनि एपहरुमा छैन । आगामी दिनमा पनि यस्ता इनोभेटिक फिचर ल्याउने तयारी छ ।

तपाई सीईओ भएपछि खल्तीको ब्यापार व्यवसायमा कस्तो वृद्धि भएको छ ? 

हामी दीर्घकाल उद्देश्य बोकेर काम गरिरहेका छौं । खल्तीमा डेढ वर्षको यात्रा पुरा भइसकेको छ । डेढ वर्ष अघि र आजको दिनमा धेरै इनोभेटिभ काम भएका छन् । सक्रिय प्रयोगकर्ताहरु २ गुणा बढी थपिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुसँग कुनै न कुनै रुपमा जोडिएका छन् । साढे ३ लाख वटा कारोबराहरु दैनिक हुन्छन् । वालेट इण्डष्ट्रिको ग्रोथ १५/२० प्रतिशत मात्रै भइरहेको छ भने खल्तीको ग्रोथ ६०/६५ प्रतिशतभन्दा माथि छ । जुन इण्डष्ट्रिको ग्रोथभन्दा ४ गुणा बढी हो । विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल भएका छौं ।

डिजिटल बजारमा प्रतिस्पर्धा ब्यापक बन्दै गएको छ । बजारमा प्रतिस्र्धीहरु धेरै छन् । यो अवस्थमा के कस्तो रणनीतिले काम गरिरहेको छ ? 

खल्ती टप लिडिङ वालेट कम्पनीको रुपमा उदाइरहेको छ । हामी ठूलो लगानी भएर बनेको कम्पनी पनि होइन । हामी निरन्तर ग्रोथ गर्दै प्रयोगकर्तालाई नयाँ प्रकारका सेवा दिँदै यहाँसम्म आइपुगेका हौं । खल्तीको भावी रणनीति इनोभेसनकै आधारमा बनाइएका छन् । कहिलेकाहीँ बजारमा सानो समस्या देखिन्छ । तर, त्यसले ठूलो तनाव दिइरहेको हुन्छ । हामीले बजारमा देखिएका समस्यालाई प्रडक्टलाई रिफाइन गर्दै सेवा दिइरहेका छौं । अन्ततः कारोबारलाई डिजिटल्ली मात्रै नभएर सबैलाई फाइनान्सियल सर्भिस बनाउने हो । भोलिका दिनमा डिजी बैंक नै बनाउन सकिन्छ । त्यहि गन्तव्य देखेर नै हामी अघि बढेका हौं । सबै डिजिटल कारोबारलाई क्याटर गर्ने गरी काम गरिरहेका छौं ।

डिजिटल वालेटहरूमा विभिन्न समयमा विभिन्न खालका समस्या आइरहन्छन् तर ती समस्याको समाधान समयमै नहुने गुनासो छ, किन जिम्मेवार बोध नभएका हुन् ? 

वालेट कम्पनीमा फरक–फरक स्टेक होल्डरहरु छन् । जस्तो खल्तीमा मर्चेन्ट पनि आवद्ध भएको हुन्छ । सेवा खपत गर्न खल्तीबाट मर्चेन्टलाई पैसा तिर्ने हो । सहकारी, बीमा कम्पनीदेखि लिएर सबै स्टेकहोल्डरहरु एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन् । यसमा फस्ट ह्याण्ड क्यास हुँदैन । जस्तो म कुनै पसलमा सामान किन्दा पैसा तिरेर सबै भुक्तानी प्रणालीको काम सम्पन्न हुन्छ भन्ने हुँदैन । डिजिटल कारोबारका लागि सुरुमा बैंकबाट खल्तीमा पैसा ल्याउनु पर्याे । जसमा बैंक र खल्ती दुवै जिम्मेवार हुन्छन् । खल्तीबाट कुनै मर्चेन्टको पेमेन्ट गर्नु पर्याे भने सिस्टम अप एण्ड रनिङ हुनु पर्छ । यसमा खल्ती र मर्चेन्ट दुवै जिम्मेवार हुन्छन् । पहिला भ्यालिडेसन, सेक्युरिटी चेक गर्नु पर्याे, अनि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्छ ।

दैनिक साढे ३ लाख कारोबार हुँदा १ सय वटा मात्रै जिज्ञासा र गुनासो आएका छन् भने हामीलाई टाउको दुखाइको विषय बन्छ । सकेसम्म चाँडो समाधान गर्न पाए हुन्थ्यो लाग्छ । तर, मल्टिपल पार्टीको कन्फर्मेसन चाहिने भएकाले समय लम्बिन्छ । खल्तीको सपोर्ट, कस्टमर एक्सपेरियन्स टिममा ५० जना भन्दा बढी कर्मचारी छन् । जसले ग्राहकहरुसँग प्रत्यक्ष कोअर्डिनेट गरिरहेका छन् । उहाँहरु ग्राहकको समस्या समाधान गर्न दैनिक १८ घण्टा भन्दा बढी खटिनु भएको छ । ३५ लाख ग्राहकमा २/४ वटा ग्राहक गएर केही फरक पर्दैन भन्ने हाम्रो सोच छैन । उहाँहरुलाई छिटो र सहज सेवा दिन हामी तत्पर छौं । सबै ग्राहकहरु हाम्रा लागि महत्वपूर्ण छन् ।

डिजिटल भुक्तानी गर्दै गर्दा त्यसमा ठगीका घटनाहरु बढेका छन्, यसको न्यूनीकरणका लागि के आवश्यक छ ? तपाईंहरु के काम गरिरहनु भएको छ ? 

ठगीको धन्दा डिजिटलमा सरेको पक्कै हो । तर, कारोबारमा मात्रै होइन, सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट मौलाइरहेका छन् । यसको न्यूनीकरणका लागि सचेतना फैलाउन जरुरी छ । सेक्युरिटी भन्दा पनि सचेतनाको बढी खाँचो छ । आइएसओ स्ट्याण्र्डर्ड, आइटी अडिट लगायतमा हामी पूर्ण रुपमा सुरक्षित छौं । तर, प्रयागकर्ताहरुले नचिनेको मान्छेहरुलाई आफ्नो पासवर्ड, ओटीपी सेयर गरिरहेका हुन्छन् । म खल्तीको कर्मचारी, फलासानो बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ भनेर फोन गर्न ट्रेण्ड बढेको छ । यसमा हामीले विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छौं । खल्ती वा अन्य बैंक तथा वित्तीय संस्थाहरुले गोप्य फाइनान्सियल सूचनाहरु कहिल्यै पनि माग्दैनन् । प्रयोगकर्ताहरुले आफ्ना गोप्य कुराहरु सेयर नगर्नु होस भनेर सचेतना दिँदै आएका छौं । ९० प्रतिशत घटनाहरु गोप्य कुराहरु सेयर गरेर घट्ने गरेका छन् ।

साढे ३ लाख वटा कारोबार हुँदा १ लाख जनाले गरेको छन् भने कसले कुन नियतले कारोबार गरिरहेका हुन्छन् भन्ने थाहा हुँदैन । तर, एउटै मान्छेले मल्टिपल मान्छेसँग पैसा रिसिभ गरिरहेको छ भने त्यस्तो मान्छेलाई हामीले मनिटरिङ गर्ने, ब्लक गर्ने, सीआईबीसँग सहकार्य गर्ने काम गरिरहेका हुन्छौं । दैनिक कारोबार भन्दा फरक प्रकृत्तिको कारोबार आयो भने हामीले नजिकबाट नियाली रहेका हुन्छौं । त्यसैले यसको न्यूनीकरणका लागि सबै भुक्तानी प्रदायक, सञ्चालक, बैंक तथा वित्तीय संस्था मिलेर राष्ट्रिय स्तरमा वृहत्त सचेतनामुललक काम गर्नु पर्छ । नेपाल राष्ट्र बैंक पनि यसमा सकारात्मक देखिएको छ ।

डिजिटल कारोबार र भुक्तानीमा सबैलाई जोड्नका लागि सरकार पक्षले के गर्याे भने तपाईहरुलाई सहज हुन्छ ? 

आजसम्म जेजति पनि डिजिटाइजेशन भएको छ यसमा नेपाल राष्ट्र बैंकले अहम भूमिका खेलेको छ । त्यो बाहेक निजी क्षेत्रबाट मात्रै भएका छन् । वालेट कम्पनीहरुले सयौं करोड रुपैयाँ लगानी गरेका छन् । भोलिका दिनमा यसको रिर्टन आउँछ भन्ने ग्यारेन्टी कसैलाई पनि छैन । आजका दिनसम्म प्रयोगकर्ताहरुलाई डिजिटाइजेशन गरेर केही हदसम्म सफल भएका छौं । तर, मर्चेन्टहरुलाई फर्मल इकोनोमिमा ल्याउने र पारदर्शी बनाउने हो भने पक्कै पनि मर्चेन्ट लक्षित कार्यक्रमहरु सरकारले ल्याउनु पर्छ । हामीले प्रयोगकर्ता लक्षित काम गरिरहेका छौं भने सरकारले मर्चेन्टलाई गर्नु पर्छ । जस्तो कुनै न कुनै डिजिटल भुक्तानीको माध्यम अनिवार्य गर्नु पर्छ । पब्लिक कम्पनी, सूचीकृत कम्पनी, ठूलो कम्पनीमा डिजिटल अनिवार्य गर्नु पर्छ । ताकी त्यसको प्रायेग बढोस् ।

मर्चेन्टहरुलाई कर्जा दिँदा ब्याज छुट दिने, आयकरमा छुटको व्यवस्था हुनु पर्छ । किनभने उसले डिजिटल इकोनोमिकलाई दीर्घकालसम्म टिकाउन काम गरिरहेको हुन्छ । हामीले ५० प्रतिशत बढी कारोबारमा आम्दानी गरेका छैनौं । प्रयोगकर्ताहरुसँग शुल्क लिएर डिजिटल कारोबार गर्न सकिँदैन । उल्टै हामीले विभिन्न अफर र स्किम दिनु परेको छ । त्यसैले डिजिटल सचेतना चाहिएको छ । भारतमा आरबिआई र सरकार मिलेर २६ सय करोडको डिजिटल इन्सेन्टिभ वितरण गरेको छ । जसले डिजिटल कम्पनीहरुलाई दीगो बनाउन मद्दत खेलेको छ । यस्ता खालका प्रोग्रामहरु नेपाल सरकार पक्षबाट आउन सक्यो भने डिजिटलमा आकर्षित गर्न सकिन्छ । साथै, डिजिटल सम्बन्धी नीतिहरु स्पष्ट हुन जरुरी छ ।

डिजिटल भुक्तानी तथा कारोबारलाई बाध्यकारी बनाउन सकिन्छ ?

क्यासलेस भन्दा पनि लेसक्यास सोसाइटीबाट बाध्यकारी बनाउन सकिन्छ । महिनाको २३÷२४ अर्ब कारोबार क्यूआरबाट मात्रै कारोबार भइरहेको छ । वालेटबाट मात्रै २०/२२ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको छ । मोबाइल बैंकिङ्गबाट पनि सोही आकारमा कारोबार भइरहेको छ । डिजिटल कारोबारलाई अनिवार्य भन्दा पनि डिजिटल भुक्तानीका लागि एउटा माध्यम हुनु पर्छ । बाध्यकारी बनायो भने सरकार लगायत नियामक निकायलाई पारदर्शी र अर्थतन्त्रलाई फर्मल च्यानलमा ल्याउन सहयोग पुग्छ ।