२०८० असार १९ गते १७:५८ विकासन्युज
काठमाडौं । काठमाडौं महानगर भित्र सञ्चालनमा रहेका निजी स्कुलहरुका शिक्षकहरुले सरकारी सरहको तलब सुविधा नपाएको विषयमा गुनासो महानगरमा परेन । महानगर शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले अहिलेसम्म निजी स्कुलमा कार्यरत शिक्षकहरुले सरकारी सरह तलब नपाएको गुनासो विभागमा नआएको बताए ।
‘कुनै पनि शिक्षकबाट अहिलेसम्म महानगरमा गुनासो वा उजुरी आएको छैन, यसको मतलब हामीले उहाँहरुले सेवा सुविधा पाउनुभएको छ भन्ने बुझेका छौं’, बिकासन्युजसँग कोइरालाले भने । कोइरालाले महानगरले सोही विषयलाई लिएर औपचारिक सूचना जारी गर्ने तयारी गरेको पनि बताए ।
उनले चालु आर्थिक वर्षको असार मसान्तसम्म अन्य कार्यक्रमहरुले व्यस्त भएका कारणले पनि स्कुलहरुको अनुगमन साउन पहिलोहप्ताबाट हुने बताएका छन् । साथै उनले निजी स्कुलहरुले शिक्षा नियमावली अनुसार नै शिक्षकलाई तलब दिनुपर्ने बताएका छन् ।
निजी स्कुलहरु कम्पनी ऐनमा खोलिएको भएपनि शिक्षा ऐन र स्थानीय तह सञ्चालन सम्बन्धी व्यवस्थाअनुसार नै सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले पाँच दिन अगाडि सामाजिक सञ्जालमा स्टाटस लेख्दै निजी स्कुलहरुले पनि शिक्षकहरुलाई सामुदायिक विद्यालयका शिक्षकहरुले पाउने तलब सुविधा बराबर दिनुपर्ने भन्दै नपाएको खण्डमा उजुरी गर्न भनेका थिए ।
प्रमुख बालेनले लेखेको स्टाटसमा समर्थन जनाउँदै निजी विद्यालयमा कार्यरत शिक्षकहरुको संगठन इस्टुले विज्ञप्ति निकालेको थियो । तर, निजी शैक्षिक संस्थाका सञ्चालकहरुले भने बालेनले भनेजस्तै शिक्षकहरुलाई तलब दिन नसकिने बताउँदै आएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.