२०८० असार २१ गते १७:२३ विकासन्युज
काठमाडौं । एसईईको नतिजालाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको नतिजाको प्रदेशगत आधारलाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका हुन् ।
बोर्डले आज प्रकाशित गरेको एसईईको नतिजा अनुसार कर्णाली प्रदेशबाट परीक्षामा सहभागी भएका ३५ हजार आठसय ६८ जना विद्यार्थी मध्ये जम्मा ०.६६ प्रतिशत विद्यार्थीले मात्रै ए प्लस जिपिए ल्याएका छन् । त्यस्तै, बोर्डको नतिजाको आधारलाई हेर्दा बागमती प्रदेशका विद्यार्थी सबैभन्दा अब्बल देखिएका छन् । एसईईको परीक्षामा सो प्रदेशबाट सहभागी भएका ९७ हजार चारसय २७ जना विद्यार्थीमध्ये ११.७८ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए ल्याउन सफल भएका छन् ।
गण्डकी प्रदेशका विद्यार्थी अब्बलताको दोस्रो स्थानमा देखिएका छन् । एसईईको परीक्षामा सहभागी भएका गण्डकी प्रदेशका ४१ हजार दुईसय ७४ जना विद्यार्थी मध्ये ३.९९ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए ल्याउन सफल भएका छन् । त्यस्तै, तेस्रो स्थानमा कोशी प्रदेशका विद्यार्थी देखिएका छन् । एसईईको परीक्षामा सहभागी भएका ७४ हजार पाँचसय ७४ जना विद्यार्थी मध्ये ३.६२ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशका विद्यार्थी अब्बलताको हिसाबले चौथो स्थानमा देखिएका छन् । सो प्रदेशबाट एसईईको परीक्षामा ८० हजार चारसय ९० जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३.४७ प्रतिशत विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन् ।
मधेस प्रदेशका विद्यार्थी एसईईको नतिजाको आधारमा पाँचौ स्थानमा रहन पुगेका छन् । सो प्रदेशबाट एसईईको परीक्षामा सहभागी भएका ७४ हजार दुईसय ६९ जना विद्यार्थीमध्ये २.२४ प्रतिशत विद्यार्थीले ए प्लस ल्याएका छन् ।
एसईईको नतिजाको आधारमा सुदुरपश्चिम प्रदेशका विद्यार्थी कमजोरको हिसाबले दोस्रो स्थानमा देखिएका छन् । सो प्रदशबाट ५१ हजार नौसय ३८ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी भएकोमा जम्मा ०.७७ प्रतिशत विद्यार्थीले मात्रै ए प्लस नतिजा ल्याउन सफल भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.