पढ्दा पढ्दै लाखौं कमाउन सकिने विषय आइटी, रुस्तमले कमाउँछन् महिनामै ९० हजार

  २०८० असार २४ गते १०:५५     विकासन्युज

काठमाडौं । विद्यालय शिक्षापछि विद्यार्थीहरुले विभिन्न आधारमा उच्च शिक्षाको लागि आफूले पढ्ने विषय छनोट गर्छन् । भविष्यमा आफ्नो करिअर कस्तो बनाउने भन्ने कुरा हरेक व्यक्तिको आ–आफ्नै प्रकारको हुन्छ ।

सामान्यतया धेरै विद्यार्थीहरुले माध्यमिक तहको विद्यालय पढ्ने क्रममा आफ्नो भोलिको करिअरको कल्पना गरिसकेका हुन्छन् । अर्थात् उच्च शिक्षामा के पढ्ने भन्ने विषय लगभग उनीहरुले तय गरिसकेका हुन्छन् । शिक्षकहरुका अनुसार विद्यार्थीहरुले विषयको छनोट गर्दा उनीहरुको रुची, साथीभाईको सल्लाह, अभिभावकको सल्लाह र काम वा पेसाको सम्भावनालाई आधार बनाउने गर्छन् । तर, पछिल्लो समय अधिकांश विद्यार्थीहरुले भोलिको करिअर वा आफ्नो रुचीको पेसालाई केन्द्रमा राखेर विषय छनोट गरेको पाइन्छ ।

हाम्रो मुलुकमा बेरोजगार ठूलो समस्याको रुपमा विकास भइरहेको छ । वर्षेनी पाँच लाख भन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्न योग्य भइरहेको अवस्थामा राज्य र निजी क्षेत्रले भने ती युवाहरुलाई रोजगारको कोणबाट सम्बोधन गर्नसक्ने कुनै कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।

झण्डै डेढ दर्जनको संख्यामा पुग्न लागेका विश्वविद्यालयहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनेको आरोप लागिरहेको छ । स्नातक र स्नातकोत्तर तहको अध्ययन पुरा गरेर पनि धेरै विद्यार्थीहरुले रोजगार पाउन सकिरहेका छैनन् । अब्बल विद्यार्थीहरुको आकर्षण क्षेत्रको रुपमा लिइने डाक्टर तथा इन्जिनियरहरुले समेत मुलुकभित्र रोजगार पाउन छाडेका छन् । तर, तिनै विश्वविद्यालयको एउटा शैक्षिक कार्यक्रम मध्ये सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीहरुले भने अध्ययनकै क्रममा लाखौं रकम आर्जन गर्न पनि सफल भइरहेका छन् ।

रुस्तम निरौला

त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययन हुने सिएसआइटी कार्यक्रमको छैटौं सेमेस्टरमा अध्ययन गर्दैछन् सोलुका रुस्तम निरौला । काठमाडौं, गौसाला मित्रपार्क स्थित टेक्सास कलेजमा पढ्दै गरिरहेका निरौलाले अहिले महिनामा नै ९० हजार रुपैयाँसम्म कमाउने गर्छन् ।

निरौलाले ‘ब्याक इन्ड’ प्रोग्रामिङमा दक्षता राख्छन् । सोही दक्षताको आधारमा उनले नेपाली कम्पनी वाफ्ट टेक्नोलोजीमा काम गर्दै आएका छन् । बिहान ६ बजेदेखि १० बजेसम्म कलेज पढेर आफ्नो व्यक्तिगत काम सकिएपछि निरौलाले दिउँसो १ बजेदेखि ६ बजेसम्म कम्पनीमा काम गर्ने गर्छन् ।

निरौलाका अनुसार प्लस टु मा साइन्स अन्तर्गत भौतिकशास्त्र पढेपनि उनलाई त्यहिबेला देखि नै कम्प्युटर प्रोग्रामिङमा रुची थियो । रुची भएका कारण उनले फेसबुक र युट्युबको माध्यमबाट सूचना प्रविधि सम्बन्धी विभिन्न प्रोग्रामिङ सिक्दै गए । सोही क्रममा नै उनले आइटी कम्पनीमा इन्टर्नसिप गरेर काम शुरु गर्ने मौका पाएका थिए ।

निरौलाले अहिले अरु साथीहरुलाई पनि काम गर्नको लागि मेन्टरको रुपमा सहयोग पुर्याउने गरेको बताउँछन् । आफ्नै रुचीअनुसार रोजेर पढेको आइटी विषयमा पछिल्ला दिनमा काम गर्ने क्षेत्र थप विस्तार हुँदै गएको आफूले पाएको उनको अनुभव छ । आइटी क्षेत्रमा कामको भन्दा पनि सर्टिफिकेटको महत्व भएको निरौला बताउँछन् ।

सविना बज्राचार्य

काठमाडौंकी सबिना बज्राचार्यले अहिले सिएसआइटी अन्तर्गत आठौं सेमेस्टरमा अध्ययन गरिरहेकी छन् । बज्राचार्यले कम्प्युटर तथा मोबाइलका निमित्त निर्माण गरिने एप्लिकेसनको ‘फन्ट इन्ड’ मा दक्षता राख्ने गर्छिन् ।

सोही दक्षताको आधारमा उनले आफ्नो पढाइसँगै तेस्रो सेमेस्टरदेखि नै अमेरिकन कम्पनी क्लाउड फ्याक्ट्रीमा काम गर्दै आएकी छन् । अहिले उनले सो कम्पनीबाट मासिक ५० देखि ६० हजार रुपैयाँ कमाउँदै आएको बताएकी छन् । कम्पनीले आधारभूत तलब र प्रोजेक्टमा गरिएको कामको आधारमा थप बोनस समेत उपलब्ध गराउने गरेको बज्राचार्यको भनाइ छ ।

फ्याक्ट्री क्लाउडको कार्यालय ललितपुर पाटनमा छ, तर कोभिड महामारीसँगै कम्पनीले घरमै बसेर काम गर्ने सुविधा दिएको छ । बज्राचार्यलाई कम्पनीले विदेशी प्रोजेक्टहरुको काम उपलब्ध गराउने गर्छ । तीन वर्ष काम गर्दा उनलाई कम्पनीले अहिले कम्पनी लिडरको भूमिका पनि दिएको छ ।

बज्राचार्यलाई आइटी पढेपछि घरमै बसेर विश्वसँग जोडिएर काम गर्न सकिन्छ भन्ने कुरा भने पहिला थाहा थिएन । तर, पढ्दै जाँदा आइटीको क्षेत्रको विषयमा उनलाई थाहा उनी भएको बताउँछिन् । टेक्सास कलेजले प्रत्येक वर्ष आयोजना गर्ने जब फेयर मार्फत् उनी पार्ट टाइम काममा जोडिएकी हुन् ।

किशोर उपाध्याय

काठमाडौंका किशोर उपाध्याय पनि अहिले सिएसआइटी विषयमा तेस्रो सेमेस्टर अध्ययन गर्दैछन् । विषयगत अध्ययनसँगै उनले फ्रन्ट वेबमा काम गर्ने रुची र क्षमता राख्छन् । त्यसैले, उनले बिहान ६ बजेदेखि १२ बजेसम्मको कलेज जीवनको अलावा फ्रिलान्सर रुपमा आइटी क्षेत्रमा पनि जोडिएर काम गर्दै आएका छन् ।

आइटी क्षेत्रमा फ्रिलान्सिङ हिसाबले जोडिएर काम गर्ने धेरै प्लेटफर्महरु रहेका छन् । त्यसमध्ये उपाध्यायले अपवर्कमा जोडिएर काम गर्दे आएका छन् । साथै उनले सिधै प्रोजेक्टको आवश्यकता परेकाहरुसँग पनि जोडिएर काम गर्ने गरेको बताउँछन् ।

उनी गएको जनवरी महिनादेखि अपवर्कमा आवद्ध भएको र त्यसयता सो प्लेटफर्मबाट चारहजार डलर भन्दा धेरै आम्दानी गरिसकेको बताए । आइटी सेक्टमा रुची भएर क्षमता भएपछि नेटवर्किङमा जोडिन सकेमा काम र आम्दानीको समस्या नहुने उनको भनाइ छ ।

तेस्रो र चौथो सेमेस्टरको पढाइमा अलिक बढी समय दिने मनसायले आफूले आंशिक समयका कामहरु नगरेको तर, आगामी वर्षबाट राम्रो कम्पनीमा जोडिएर काम गर्ने योजना रहेको उनले बताए ।

त्यस्तै, काठमाडौंकै कृसिंगा अधिकारीले बिसिए तेस्रो सेमेस्ट अध्ययन गरिरहेकी छन् । कक्षा ११/१२ मा कम्प्युटर साइन्स पढेकी उनले अहिले आफ्नो पढाइसँगै नेपाली आइटी कम्पनी किम्बु टेकमा जोडिएर विभिन्न प्रोजेक्टमा काम गर्दै आएकी छन् ।

किम्बु टेकले नेपाल देखि विश्वभरीका विभिन्न आइटी सम्बन्धीको प्रोजेक्टहरुमा काम गर्ने गरेको र आफूले पनि कलेजको समय बाहेक सोही कम्पनीले दिने प्रोजेक्टमा जोडिएर काम गर्ने गरेको अधिकारी बताउँछिन् ।

आफ्नो सम्पूर्ण खर्च बराबरको कमाइ अहिले गर्न नसकेपनि भविष्यमा उत्कृष्ट डिजाइन बन्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

टेक्सास कलेजका सिएसआइटी विभागका प्रमुख ओमकार बस्नेत

टेक्सास कलेजका सिएसआइटी विभागका प्रमुख ओमकार बस्नेतले सूचना प्रविधि भनेको ग्लोबल ल्याङ्वेज भएकाले पछिल्लो समयमा यसको विश्वव्यापी माग बढेको बताउँछन् । उनले नेपालका विश्वविद्यालयहरुले पनि आफूलाई दिगो कायम राख्न कै लागि पनि आइटी कोर्षहरुलाई अगाडि बढाउने अवस्था सिर्जना भएको बताए ।

नेपाल देखि विश्वव्यापी रुपमा आइटीमा दक्ष व्यक्तिहरुको अभाव रहेको र थप सम्भावना पनि बढेकाले सो क्षेत्रको विषयमा अध्ययन गर्नेहरुलाई आंशिक वा पूर्णकालिन कामको समस्या नभएको बताउँछन् । सूचना प्रविधि क्षेत्रमा काम गर्न नेपालमा नै दक्ष कामदारहरुको अभाव भएको कारणले कम्पनीहरुसँग कलेजहरुले जब फेयर गरेर पनि जागिरमा जोड्न सकिरहेको उनले बताए ।

साथै आइटीमा विश्वव्यापी बजार रहेकाले विद्यार्थीहरुले विभिन्न नेटवर्किङ माध्यमबाट जोडिएर पनि पढ्दै गरेकै अवस्थामा पनि आफूलाई आवश्यक परेको पैसा कमाउन सक्ने अवस्था रहेको प्रमुख बस्नेतले बताए ।

अहिले नेपालका कलेजहरुमा नेपाली तथा विदेशी विश्वविद्यालयहरुले प्रदान गरेको सूचना प्रविधि अन्तर्गत पढाई हुने सिएसआइटी, बिआइटी, बिसिए, बिसिएस लगायत धेरै विषयहरु रहेका छन् । सामान्यतया अहिले सूचना प्रविधि अन्तर्गतका सबै शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा चारवर्षे अवधिमा आधारित रहेर सञ्चालन भइरहेका छन् । यी विषयहरु अध्ययन गर्दा विश्वविद्यालय र कलेजअनुसार शुल्क लाग्ने गर्छ । तर, इच्छाशक्ति भएको र मेहनत गर्न मन पराउने विद्यार्थीले आफ्नो शैक्षिक खर्च मात्रै नभएर पढ्ने समयमा नै प्रशस्त पैसा कमाउन सकिरहेको धेरै उदाहरण सो क्षेत्रमा रहेको पाइएको छ ।