२०८० असार २५ गते १६:०० विकासन्युज
काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष हुन् विनायक शाह । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर रहेको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका शाहले अनुशासित व्यवसायीको छवि पनि बनाएका छन् । १६ वर्षसम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका शाह जागिर छाडेर २०५० सालदेखि होटल क्षेत्रमा होमिए । हानको महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्षमा निर्वाचित भएका छन् । उनी अध्यक्ष बन्दै गर्दा होटल व्यवसाय क्षेत्र एक किसिमको सकसमा छ । यो सकसको अन्त्य गर्न शाहमाथि ठूलो चुनौति छ । यो चुनौतिलाई पार गर्न र व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न शाहले बनाएका योजना र वर्तमान होटल व्यवसाय क्षेत्र लगायत विषयमा विकासन्युजका लागि सन्तोष रोकाया र राजिव न्यौपानेले कुराकानी गरेका छन् ।
हामीले लामो समय कोरोना भाइरसको सन्त्रास भोग्यौं, पछिल्लो समय भने केही सुधार भएको कुरा सुनिन्छ, होटल व्यवसाय सुधारको गतिमा हो ?
कोभिड-१९ पछि पर्यटकको आवागमनको तथ्याङक हेर्दा एकदमै उत्साहप्रद छ । विभिन्न देशबाट नेपालमा करिब ९० हजार पर्यटक आइरहेका छन् । पर्यटक आउँदा होटल व्यवसायमा केही सुधार अवश्य भएको हो । यसले पनि अगाडि बढ्ने साहस दिलाएको हो । दैनिक पर्यटकको संख्या बढिरहेको छ । बुकिङ बढेको छ । कोभिडको बेला अन्य क्षेत्रमा लगानी आएन । बन्द हुने अवस्थाको सिर्जना भयो । काम पनि धेरैको रोकियो । तर, होटल उद्योगमा आउने लगानी रोकिएन । होटलका पूर्वाधारका कामहरू निरन्तर भइ रहे । नेपालमा २० वटा पाँच तारे होटल छन् । जसमध्ये २ वटा बन्द भएका छन् भने १८ वटा होटलहरु सञ्चालनमा छन् । अबको एक/डेढ वर्षभित्रमा २० वटा पाँच तारे होटल थपिँदै छन् । सात प्रदेशमा करिब एक सय वटा पर्यटकीय स्तरका होटलहरु बन्दैछन् । ती होटलमध्ये केही सञ्चालनमा आउने तयारीमा छन् । एकपछि अर्को गरेर होटल क्षेत्रमा लगानी बढिरहेको छ । त्यसले गर्दा आज हामी स्वदेशी तथा विदेशी पर्यटक गरेर ३५ लाख ग्राहकलाई सेवा दिन सक्ने स्थितिमा छौं । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका देशैभरका होटलबाट दैनिक १० हजार ग्राहकलाई मनोरञ्जन, खाने बस्ने, सभासम्मेलन गर्न सक्ने सेवा दिन सक्छौं । वर्षमा ३६ लाख ५७ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा हामी छौं ।
नेपालमा सन् २०१९ मा १२ लाख पर्यटक आएका थिए । महिनामा एक लाख पर्यटक आए पनि वर्षमा १२ लाखभन्दा बढी पर्यटक आउने भएनन् । सोही संख्यामा पर्यटक आउँदा पनि हाम्रो क्षमता एक तिहाइ मात्र प्रयोग भयो । होटलको सञ्चालन खर्च २५ देखि ४० प्रतिशत अकुपेन्सी भयो भने मात्र धानिन्छ । सोही अनुरूपको अकुपेन्सी भएन भने सञ्चालन खर्च पनि उठ्दैन । अहिले औसत २०/२२ प्रतिशतको हाराहारीमा सञ्चालनमा छन् । हुन त काठमाडौंका केही ठूला होटल राम्रोसँग सञ्चालन भइरहेका छन् । तर, सबै होटल त्यही स्तरले सञ्चालन भइरहेका छैनन् ।
कतिपय होटलहरु घाटामा सञ्चालन भइरहेको अवस्था छ । घाटा खाएर पनि होटल सञ्चालन गर्नु पर्ने बाध्यता छ । बिजनेसमा जोखिम लिनु पर्छ । भोलिको दिन राम्रो हुन्छ, अर्थतन्त्रमा सुधार आउँछ, पर्यटन पूर्वाधारको विकास हुन्छ भनेर होटल सञ्चालन गरिरहेका छौं । यति हुँदाहुँदै पनि पूर्वाधारमा समस्या छ । हामीलाई हाम्रो विमानस्थल तथा सडक लगायतका पूर्वाधारले साथ दिइरहेको अवस्था छैन । अर्बौं रुपैयाँको लगानीमा पोखरा र भैरहवाको एयरपोर्ट बन्यो । सो एयरपोर्टलाई सञ्चालन गर्नको साटो त्यसलाई घाममा सुकाएर राखिरहेका छौं ।नेपालमा भारत र चीनबाट सडकबाट पनि पर्यटक भित्र्याउन सकिन्छ । तर, पर्यटक भित्र्याउन सक्ने स्तरका सडक छैनन् । काठमाडौंबाट पोखरा जान आज १२ घण्टा लाग्छ । यस्तो अवस्थामा नेपालमा होलिडे मनाउन को पर्यटन आउँछ ? हामीले क्षमता र लगानी दुवै विस्तार गर्यौं । त्यो सँगसँगै पूर्वाधार विकास नहुनाले हामी ठूलो मारमा परेका छौं । होटल उद्योग सामान्य अवस्थामा छैन । हामी असामान्य अवस्थामा सञ्चालन भइरहेका छौं । यस क्षेत्रको लागि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि केही कुरा समेटिएन । आगामी मौद्रिक नीतिमा होटल क्षेत्रका कुराहरू समेटियोस् भनेर लागि रहेका छौं । होटल व्यवसायीहरू बैंकबाट लिएको ऋण तथा त्यसको ब्याज तिर्न सक्ने क्षमतामा छैनन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनले पछिल्लो मौद्रिक नीतिको समीक्षाले असार मसान्तसम्म ब्याज तिर्न नसक्नेले पुनतालिकीकरण गर्न सक्ने सुविधा दिएको थियो । अब त्यसले निरन्तरता पाउँछ कि पाउँदैन थाहा छैन । जनताको पैसा व्यवस्थापन गर्ने संस्था हो ‘बैंक’ । बिजनेस घाटामा जानु हुँदैन, त्यो पनि हाम्रौ पैसा हो । ऋण लिएपछि तिर्नुपर्ने दायित्व पनि हाम्रो हो । तर, लिएको ऋण तिर्न नसक्ने अवस्था भएपछि बैंकहरुले होटल व्यवसायीलाई कालोसूचिमा राखिदिने तथा लिलाममा चढाइदिने अवस्थाको सिर्जना भइरहेको छ । यसले गर्दा अहिले होटल व्यवसायीहरू तनावको अवस्था छन् ।
बैंकको उच्च ब्याजदरका कारण व्यवसायीहरूले सञ्चालन गर्दै आएका होटल बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो, कतिपयले होटल नै बेचेको खबर पनि सुनिन्छ, आफ्नो व्यवसाय नै बेच्ने अवस्थामा व्यवसायी पुगेका हुन् ?
हामीले अध्ययन गर्दा कोभिडपछि झण्डै १८ प्रतिशत साना तथा मझौला होटलहरु विस्थापित भएका छन् । बैंकको उच्च ब्याजदर, होटलमा ग्राहकको कमि लगायतका कारणले व्यवसायीहरु विस्थापित भएको हुन सक्छन् । एक पटक विस्थापित भएको होटल अर्को पटक स्थापित हुन गाह्रो हुन्छ । हामी चीन र भारतको बिचमा छौं । हामीले ती दुई देशबाट जति पनि पर्यटक ल्याउन सक्छौं । तर, पर्यटक ल्याउने कसरी ? कोभिड अघि चीनबाट दैनिक ६ पटक हवाई उडान भरिन्थ्यो । भारतबाट ५ वटासम्म नेपाल उडानमा हुन्थ्यो । अहिले पहिलाको तुलनामा उडान पनि घटेको छ । अहिले हप्ताको ६ पटक मात्र विमान आउन मुस्किल पर्छ । कोभिड अवस्था सामान्य भएसँगै चीन सरकारले चिनियाँहरुलाई बाहिर जान छुट दिएको छ । छुट दिएसँगै त्यहाँबाट धेरै पर्यटकहरू नेपाल ल्याउन सक्छौं ।
यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर विभिन्न ठाउँमा घुमेपछि भारतीयहरू यहाँ आउन तत्पर छन् । भारतमा अहिले गर्मी छ । नेपालमा खासै गर्मी छैन । त्यहाँ गर्मी हुँदा यहाँ पर्यटक भित्र्याउन सक्ने वातावरण मिलाउनु पर्छ । यसैलाई मध्येनजर गर्दै हामीले विभिन्न क्याम्पहरु पनि चलाइरहेका छौं । भारतबाट पर्यटकलाई नेपाल आउँदा नजिक पर्छ । यहाँ आउनको लागि उनीहरू इच्छुक पनि छन् । तर, यहाँसम्म सहज तरिकाले आउने सिस्टम सहज छैन । हामीसँग पूर्वाधारको अभाव छ । भारतबाट कुनै परिवारले गाडी लिएर नेपाल भिजिट गर्न आयो भने आवश्यक फाराम भन्सारमा भर्नु पर्छ । त्यो फाराम समेत सहज तरिकाले भर्ने वातावरण/ठाउँ छैन । हाम्रो नीति पर्यटनमैत्री छैन ।
यो असहजताका बीच पनि लगानी थपिरहेको छ, त्यो लगानी पुरानै व्यवसायीको होकि नयाँ लगानीकर्ताको ?
एकपछि अर्को गरेर अन्तर्राष्ट्रिय चेन होटल नेपाल भित्रिरहेका छन् । २० वटा पाँच तारे होटल सञ्चालनमा आउन तयारीमा छन् । आज गाह्रो अवस्था भएपनि सधैँ यस्तै अवस्था नहोला । सन् २०२० को तथ्याङ्क हेर्दा २० करोड चाइनिज र १० करोड भारतीयहरू विभिन्न देशमा होलिडे मनाउन गएको देखिन्छ । उक्त संख्याको दुई प्रतिशत मात्र पर्यटक नेपाल भित्र्याउन सकियो भने ठूलो उपलब्धि हुन्छ । निजी क्षेत्रले द्रुत गतिमा काम गर्याे । एकपछि अर्को होटल खोल्दै सञ्चालनमा ल्यायो । तर, सरकारले गर्नुपर्ने पूर्वाधारको विकास गरेन ।
सरकार राजनीति लगायत विविध पक्षमा अल्झियो । सरकार कहाँ-कहाँ अल्झियो भन्ने कुरा तपाईंहरुलाई पनि थाहा होला । सरकारले भैरहवा र पोखरामा एयरपोर्ट बनायो । तर, सञ्चालनमा ल्याउन सकस पर्याे । हामी त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्नको लागि तयार छौं । सरकार, मन्त्रालय र त्यो मातहतको विभागले एयरपोर्ट सञ्चालन गर्न सक्ने अवस्था देखिँदैन । त्यसको वैकल्पिक उपाय पनि खोजेको देखिँदैन भने निजी क्षेत्रसँग सल्लाह पनि गरेको छैन ।
नेपाली होटल व्यवसायीले विदेशी ठूला चेन होटलहरु नेपालमा भित्र्याए । ती होटलहरुमा विदेशी परिकार नै बढी पाइन्छ । तपाईंहरुले नेपाली मालिक प्रकृतिको होटल र यतैको परिकारहरुमा जोड नदिएको गुनासो पनि सुनिन्छ नी ?
गुनासो र वास्तविकता फरक हुन्छ । यस्ता गुनासोहरू आइरहेका हुन्छन् । नेपालले सन् २००४ मा डब्लुटीओको सदस्यता लिइसकेपछि २००७ मा नेपाल खुल्ला भयो । खुल्ला भएपछि हामी संकुचनमा बस्न सक्छौं ? व्यवसायीले आफ्नो क्षमता अनुसारको काम गरिरहेका छन् । नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरु आउन चाहन्छन् । सञ्चालनमा पनि आएका छन् भने कतिपय सञ्चालनमा आउने चरणमा छन् । अमेरिकाको कुनै नागरिक अमेरिकमै हायातमा बसको छ भने नेपालमा आएर पनि उसले हायातमा नै बस्न खोज्छ । किनभने उसले त्यो नाम सुनिरहेको छ । हरेक कुरामा फाइदा बेफाइदा भन्ने कुरा भइहाल्छ । अन्तर्राष्ट्रिय चेन होटल नेपाल आउनु भनेको उनीहरूले नेपाल र नेपालीलाई विश्वास गर्नु हो । उनीहरूले नेपालको समग्र सिनारियोलाई हरेर यहाँ लगानी विस्तार गरेका हुन् । त्यो राम्रो पक्ष हो । त्यसलाई म्यानेज गर्नु पर्छ, हाम्रा नीति नियमले त्यसलाई समेट्नु पर्याे ।
तपाईंहरु समस्यामा छौं भन्नुहुन्छ, बैंकले कत्तिको पत्याइरहेका छन् ?
हामीले बैंकबाट लिएको ऋणको सावाँ ब्याज नै तिर्न नसकेपछि बैंकले पत्याउने कुरै भएन । हामीलाई बैंकले कालोसूचिमा राखिरहेका छन् । हाम्रो सम्बन्ध बैंकसँग राम्रो छैन । हामी होटल बैंकलाई बुझाउन तयार छौं । अहिलेको अवस्थामा होटलको स्थिति राम्रो छैन । यति बेला व्यवसायीलाई सरकारको सहयोग चाहिएको छ । सरकारले त्यसलाई सहजीकरण गरिदिनु पर्याे । होटल बन्द गर्दैमा समस्याको समाधान हुने होइन । टिक्यो भने मात्र भोलिका दिनमा त्यसले प्रतिफल दिन्छ । आजै रुख काट्दियो भने त्यसले के फल दिन्छ ?
नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको निर्माणमा व्यस्त छ । यो समस्याको समाधानका लागि केही समन्वय गर्नु भएको छ ?
यस विषयमा हामी प्रत्येक दिन राष्ट्र बैंकसँग समन्वय गरिरहेका छौं । म राष्ट्र बैंक दिनहुँ धाइरहेको छु । हामीले हाम्रो कुरा अर्थमन्त्री, गभर्नरज्यूहरूसँग राखिरहेका छौं । सरकारले बजेट व्यक्तव्यमा पर्यटन दशक मनाउने भनेको छ । मौद्रिक नीतिले हाम्रो समस्या समाधान गर्न सकेन भने गाह्रो नै हुन्छ । होटल क्षेत्र थप समस्यामा पर्न सक्छ ।
आगामी आर्थिक वर्षको बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट हो ?
आगामी आर्थिक वर्षको बजेटप्रति पर्यटन व्यवसायी सकारात्मक छैनन् । यस क्षेत्रको समस्या सम्बोधन गर्ने प्रयास बजेटले गर्न सकेको छैन । हामीलाई उल्टै कर लगाइएको छ । आलु प्याजमा समेत कर लगाइ्एको छ । अहिले कर लगाउने बेला होइन । पहिला त यो क्षेत्रलाई टिकाउनु पर्याे । हाम्रो सप्लाईको एक तिहाइ पनि माग छैन । मौद्रिक नीतिले विद्यमान समस्यालाई समाधान गर्याे भने त्यो सफल हुने हो । हाम्रा कुनै पनि समस्या समाधान हुने खालका विषय बजेटमा उल्लेख छैन ।
पछिल्लो समय होटल व्यवसायीहरु शहरभन्दा पनि डाँडाकाँडामा व्यवसाय गर्न इच्छुक देखिएका छन् । तपाईंको विचारमा एउटा राम्रो होटल सञ्चालन गर्नको लागि कस्तो ठाउँ उपयुक्त हुँदो रहेछ ?
यो व्यवसायीको बिजनेस प्लानमा भर पर्छ । आज जोमसोम जस्तो ठाउँमा होटल खुलेको छ । कुनै पनि काम अरू भन्दा पृथक हुनु पर्याे । आज लक्जरियस होटल जोमसोममा खुलेको छ । त्यहाँ पुग्न सक्ने बाटो पनि छैन । आवश्यक पूर्वाधारको पनि विकास भइसकेको छैन । मेरो विचारमा जोमसोमको होटल नेपालकै महँगो होला । राम्रो घर बनाएर मात्र होटल चल्दैन । होटल सेवा हो । होटलले कुन लेभलको सेवा दिएको हो त्यो सेवाले पनि महत्व राख्छ ।
तपाईंको कार्यकालमा होटलका यी विविध समस्याहरुको समाधानका लागि के कस्तो पहल गर्नु हुन्छ ? यी समस्याहरु समाधान हुन सक्छन् ?
अहिले चाहिनेभन्दा बढी होटल छन् । सप्लाई हाइ छ, डिमान्ड पूर्वाधारले गर्दा संकूचित छ । अहिलेको अवस्थामा होटललाई बचाउनु नै मेरो पहिलो प्राथमिकता हो । सरकारी नीति नियमका कुरा छन् । मेरो नेतृत्वमा हामी भर्खरै मात्र बंगलादेश र श्रीलंका पुगेर आयौं । हामी बंगलादेश गएका थियौं भने भैरहवाका साथीहरु श्रीलंका जानु भएको थियो । हामीले त्यहाँ गएर हाम्रो सेल्स प्रमोसन गर्यौं । त्यहाँबाट पनि धेरै नेपाल घुम्न आउन तयार हुनुहुन्छ । तर, उहाँहरूलाई यहाँसम्म ल्याउने वातावरण बनाउन नै गाह्रो भयो । किनभने सम्बन्ध बढाउने कुरा हाम्रो हातको भन्दा बाहिरको कुरा भयो ।
संस्थाको जिम्मेवारीसँगै व्यक्तिगत व्यवसायलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, व्यवसाय विस्तारको योजना के छ ?
संस्थाको जिम्मेवारी लिइसकेपछि आफ्नो कामलाई छाडेर पनि समय दिनुपर्ने हुन्छ । समय मिलाएर व्यक्तिगत व्यवसाय र संस्थालाई अगाडि बढाउँछु । समयसँगै व्यवसाय विस्तार गर्ने लक्ष्य सबैको हुन्छ । हामीलाई समयले कुर्दैन, समयमा काम गरिएन भने त्यसले प्रतिफल दिँदैन । लगानी विस्तारको कुरा सरकारको नीति नियममा पनि भर पर्छ । समयको अनुकुलता बनाएर लगानी विस्तार गर्ने योजना छ ।
होटल व्यवसायलाई सरकारले प्राथमिकता नदिएको देखियो नि है ?
सरकारले होटललाई सेवा व्यवसायको रूपमा वर्गीकरण गरेको छ । होटल मन्त्रालय तथा कम्पनी रजिष्टार कार्यालयमा उद्योगको रूपमा दर्ता भएको छ । सरकारको नीति नियमले यस क्षेत्रलाई गर्ने व्यवहार सेवा व्यवसायमा मात्र हो उद्योग होइन । यो क्षेत्र उद्योग नभएका कारण बैंकले पनि ऋण दिन गाह्रो मानेको हो । सरकारले यस क्षेत्रलाई प्राथमिकता प्राप्त उद्योग रूपमा वर्गीकरण गरिइदिनु पर्याे भन्ने हाम्रो माग हो । होल व्यवसायमा खर्बौंको हानी भइसकेको छ । होटलमा गरेको लगानी उठ्न २०/३० वर्ष लाग्छ । नेपाल विद्युत प्राधिकरणले घरायसी प्रयोजनमा खपत भएको विद्युत प्रतियुनिट १७ /१८ रुपैयाँले लिन्छ । उद्योगले त्यो विद्युत ७/८ रुपैयाँमा पाउँछन् । हामीले पनि लाखौं रुपैयाँ विद्युतको रकम भुक्तानी गर्छौं । तर, हामीले त्यो सुविधा पाउँदैनौं ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.