२०८० असार २५ गते १८:४८ विकासन्युज
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन् ।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा बीआरआई कार्यान्वयन नभएको बताएका हुन् ।
‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ । र एमसीसी एउटा ग्राण्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ । बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ । यो कार्यक्रमअन्तर्गत कुनैपनि योजना नेपालमा शुरु भएको छैन’, साउदले भने ।
चीनसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको थियो । तर त्यसपछि बीआरआई अन्तर्गत कुनैपनि योजना नेपालमा अघि नबढेको सरकारले बताएको छ ।
तर पछिल्लो समय चिनियाँ राजदुत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गर्दै आएका छन् ।
समितिको बैठकमा समिति सदस्यहरुले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआई अन्तर्गत हालसम्मक कुनै योजना नेपालमा शुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताएका हुन ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भने आगामी अगस्ट महिनाबाट कार्यान्वयनमा जाने बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.