२०८० असार २६ गते १६:४७ विकासन्युज
काठमाडौं । असार ३० गते हुन लागेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा अहिलेसम्म चार जना आकांक्षीहरुले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । इक्यानका पूर्व अध्यक्ष विष्णुहरी पाण्डे, वर्तमान उपाध्यक्षहरु शेषराज भट्टराई, कृष्णहरी केसी र देवीदास भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संगठनको रुपमा स्थापित इक्यानको आगामी नेतृत्वमा को आउला भन्ने विषयलाई अहिले निकै चासोका साथ हेरिएको छ ।
अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी घोषणा गरेको भएपनि प्यानल बनाएर विष्णुहरी पाण्डे र शेषराज भट्टराईले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्यानको तर्फबाट पदाधिकारी तथा सदस्यमा आकांक्षी रहेका व्यक्तिहरुले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । त्यसैले, मुलतः संगठन र सदस्यको आधारमा हुने मतविभाजनको अनुमान गर्दा नेतृत्वमा विष्णुहरी पाण्डे र शेषराज भट्टराईबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
चारैजनाले व्यवसायीहरुसँग मत माग्नको लागि आ–आफ्ना चुनावी एजेन्डा अगाडि सारेका छन् । अध्यक्षका उम्मेदवार विष्णुहरी पाण्डेले आफूले विगतको कार्यकालमा संस्थाको लागि गरेको राम्रो काम र त्यसको निरन्तरताको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आगामी दिनमा इक्यानको आफ्नै भवन बनाउने, इक्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लगायतका महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् ।
त्यस्तै, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेषराज भट्टराईले संस्थाको थप गतिशिलतामा टेवा पुर्याउन आफ्नो नेतृत्वको सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण लगायतका विषयमा आफ्नो भूमिका रहने दावी गरेका छन् ।
सदस्यमैत्री इक्यान, बैंकमा रहेको इक्यानको पैसाको सदुपयोगमा आफ्नो एजेन्डा रहेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका देवीदास भट्टराईको भनाइ छ । स्वतन्त्र मतदाताहरुको मत नै आफ्नो जित्ने आधार रहेको उनले बताए । ‘मलाई मतदाताहरुले लामो समयदेखि चिन्दै आएका आउनुभएको छ, मैले सदस्यदेखि दुइपटक उपाध्यक्षसम्म निर्वाचित भएर इक्यानको निम्त काम गरेको छु’, उनले भने ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कृष्णहरी केसीले प्यानलको निर्माण नगरीकन अध्यक्ष पदमा मात्रै एक्लैले उम्मेदवारी घोषणा गरेका छन् । केसीले आफूले स्वतन्त्र प्रतिस्पर्धामा विश्वास गर्ने एउटै पदमा व्यक्ति दोहोरिरहनु हुँदैन भन्ने मान्यता रहेको बताए ।
४६७ जना सदस्य संख्या रहेको इक्यानको निर्वाचनले २६ जना पदाधिकारी तथा सदस्य निर्वाचित गर्नेछ । साथै, नयाँ कार्यसमिति निर्माणसँगै सल्लाहकारको नयाँ बोर्ड र निवर्तमान अध्यक्षहरुको काउन्सिल समेत निर्माण हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.