२०८० असार ३१ गते १३:४४ विकासन्युज
काठमाडौं । अब कक्षा ९ देखि १२ सम्म विद्यार्थीलाई प्रदान गरिने नम्बर स्कुलहरुले नै दिन पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले नयाँ ‘विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८०’ लागु गर्दै सोही मापदण्डअनुसार विद्यार्थीलाई प्रदान गरिने अंकको २५ प्रतिशत स्कुलहरुले नै आन्तरिक रुपमा प्रदान गर्न पाउने व्यवस्था गरेको हो ।
नयाँ मापदण्डमा कक्षा ९ देखि १२ सम्मको लागि प्रयोगात्मकमुलक केही विषय बाहेक अन्य सबै विषयहरुमा २५ प्रतिशत अंक स्कुलले र बाँकी ७५ प्रतिशत अंक बाह्य रुपमा दिने व्यवस्था गरिएको छ । विद्यार्थीको नियमित सिकाइबाट हुने उपलब्धिलाई व्यवस्थित गर्न, वस्तुनिष्ठ बनाउन, वैज्ञानिक तथा भरपर्दो बनाउन, उपलव्धिलाई पारदर्शी बनाउन, सरलता र एकरुपता प्र्रदान गर्न लगायत विषयलाई उद्देश्यको रुपमा लिएर नयाँ मापदण्ड लागु गरिएको उल्लेख गरिएको छ ।
नयाँ मापदण्डअनुसार विषयवस्तुमा आधारित वैद्यता, विश्वसनियता, निष्पक्षता, विद्यार्थी सहभागिता र उत्प्रेरणा र परिमाणात्मक सान्दर्भिकता जस्ता विशेषताहरु हुनुपर्ने छ । साथै नयाँ मापदण्डको विकास गर्दा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ र सम्बन्धित कक्षा र विषयको पाठ्यक्रमभित्र रहेर आन्तरिक मूल्यांकनको आधार बनाइएको केन्द्रले उल्लेख गरेको छ ।
आन्तरिक मूल्यांकन गर्दा विद्यार्थीको उपस्थिति र कक्षा सहभागितालाई ३ अंक, प्रयोगात्मक/परियोजना कार्य र सिर्जनात्मक कार्य र प्रस्तुतीलाई १६ अंक र त्रैमासिक परीक्षालाई ६ अंकको व्यवस्था मापदण्डमा गरिएको छ । साथै आन्तरिक रुपमा दिइने २५ अंक पनि विभिन्न क्षमता र उपलव्धिका आधारमा दिने गरी स्पष्ट व्यवस्था मापदण्डमा गरिएको छ ।
कक्षा ९ देखि १२ सम्म अनिवार्य रुपमा पढाइ हुने नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन÷सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयहरुको लागि आन्तरिक मूल्यांंकनको मापदण्ड केन्द्रले बनाएको छ । अन्य विषयहरुको मूल्यांकनको सवालमा भने मापदण्डले केही उल्लेख गरेको छैन ।
हेर्नुहोस, ‘विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८०’
Copyright © 2025 Bikash Media Pvt. Ltd.