२०८० असार ३१ गते १७:५३ विकासन्युज
काठमाडौं । पछिल्लो समयमा चीनमा नक्कली विश्वविद्यालयको बिगबिगी बढेको चाइना डेलीले उल्लेख गरेको छ । चिनियाँ शिक्षा अधिकारीहरुले विद्यार्थीहरुलाई नक्कली विश्वविद्यालयको चालमा नपर्न चेतावनी दिएका छन् ।
खासगरी सयौं नक्कली विश्वविद्यालयहरुले राष्ट्रिय स्तरको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउन नसकेका विद्यार्थीहरुलाई टार्गेट गरेर अनलाइनमा प्रचार गरिरहेका छन् । नक्कली विश्वविद्यालयहरुको नाम पनि सक्कलीसँग मिल्दोजुल्दोगरी राखिएको चाइना डेलीले उल्लेख गरेको छ ।
ती विश्वविद्यालयहरुले पैसा तिरेपछि राष्ट्रिय मापदण्डको स्कोर (गाओकाओ स्कोर)मा कमि आएपनि फरक नपर्ने र आन्तरिक हिसाबले कोटा सुरक्षित रहेको दाबी गर्ने गरेका छन् । केही संस्थाहरुले राम्रा विश्वविद्यालयसँग तालिमको लागि सहकार्य गरेका हुनसक्छन् तर, पछि उनीहरुले अभिभावक र विद्यार्थीहरुलाई सो संस्था विश्वविद्यालयको भाग नै भएको बताउने गरेका छन् ।
चिनियाँ शिक्षा मन्त्रालयले अभिभावक र विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रमाणिकता राम्रोसँग जाँच्न सचेत समेत गराएको छ । शिक्षा मन्त्रालयले मानक कोटाअन्तर्गत कुनै शुल्क लाग्ने व्यवस्था नभएको र कुनै विश्वविद्यालयले कोटाको लागि शुल्क मागेको छ भने त्यसमा विश्वास नगर्न भनेको छ । तरपनि केही गाओकाओ स्कोर ल्याएका विद्यार्थीहरु भने नक्कली विश्वविद्यालयको चालमा फस्ने क्रम जारी छ ।
नक्कली विश्वविद्यायहरुले विद्यार्थीहरुबाट करोडौं रकम ठग्ने गरेको र केहीलाई अदालतले कैद र जरिवाना समेत गराएको चाइना डेलीले उल्लेख गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.