२०८० साउन १६ गते १३:०० विकासन्युज
काठमाडौं । ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (बिआइएचएम) आफैँमा पूर्ण प्रयोगात्मक विषय हो । जसको लागि सैद्धान्तिक भन्दा व्यवहारिक अभ्यासको बढी आवश्यकता पर्छ ।
मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौंको आईआईएमएस कलेजले बिआईएचएम पढ्ने विद्यार्थीहरुलाई पढाइकै क्रममा क्षमतावान बनाउने उद्देश्यले आफैँले होटेल सञ्चालनमा ल्याएको छ । जसले गर्दा विद्यार्थीहले पढाइको क्रममा अनिवार्य रुपमा जानुपर्ने इन्टर्नसिप अगाडि नै होटेलमा आफ्नो रुची अनुसारको अभ्यास गर्न पाएका छन् ।
चार वर्षे अवधिमा आठ सेमेस्टरमा पढाइने बिआइएचएम कार्यक्रमको छैठौं सेमेस्टरमा ५५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । यतिबेला कलेजले विद्यार्थीहरुको अभ्यासलाई लक्षित गरेर ‘होटेल टेकओभर’ कार्यक्रम सञ्चालन गरेको छ । कलेजले विद्यार्थीहरुलाई सानो-सानो ग्रुप बनाएर नागपोखरीको आफ्नै प्रतिष्ठित अरन्या बुटिक होटेलमा अभ्यास गर्ने अवसर प्रदान गरिएको छ ।
कलेज सञ्चालनकै क्रममा आईआईएमएस सञ्चालक ग्रुपले व्यवसायिक तथा शैक्षिक उद्देश्यले ठूलो लागनीमा झण्डै छ महिना अगाडि सो होटेल खरिद गरेको हो । देश तथा विदेशमा राम्रो प्रतिष्ठा बनाएको सो होटेलमा कलेजका विद्यार्थीहरुले आफ्नो पढाइको अभ्यास गर्न पाएका छन् ।
बिआइएचएम कार्यक्रम अन्तर्गत फन्ट अफिस, किचन, वेटर लगायतका धेरै नै विधा भएपनि विद्यार्थीहरुले आफ्नो रुची अनुसारको क्षेत्र रोजेर होटेलमा अभ्यास गरिरहेका छन् । विशेष संवेदनशील जिम्मेवारी बाहेकका सम्पूर्ण काम विद्यार्थीहरुले नै सञ्चालन गरिरहेका छन् । किनकी होटेल तथा रेष्टुरेन्टमा नियमित रुपमा आउने ग्राहकलाई अभ्यासको फिलिङ नहोस भनेर सो गरिएको हो ।
तर, टेकओभरमा सहभागी भएका विद्यार्थीको पहिचान होस भन्ने उद्देश्यले कलेजले विद्यार्थीहरुई भिन्न पोशाकको भने व्यवस्था गरेको छ । विद्यार्थीहरुले आफूहरुलाई कलेजले इन्टर्नसिप अगाडि नै होटेलमा प्रत्यक्ष रुपमा काम गर्ने अवसर दिएकोमा आगामी पढाइ र करिअरमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।
कलेजमा बिआइएचएम अध्ययन गर्दै गरेका अतिन श्रेष्ठले होटेल टेकओभर कार्यक्रममा फन्ट अफिस म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनले कलेजले पढाइकै क्रममा अभ्यासका रुपमा उपलब्ध गराएको सो अवसरले आफूलाई राम्रो अनुभव भएको सुनाउँछन् ।
‘मलाई यो एकदम एकदमै नयाँ अनुभव भइरहेको छ, होटेलमा आएर वास्तविक गेस्टसँग डिल गर्न पाउँदा एकदमै नयाँ अनुभव भएको छ’, उनी अनुभव सुनाउँछन्, ‘म अहिले यहाँ होटेल म्यानेजरको रुपमा काम गरिरहेको छु, डे टु डे होटेलको एक्टिभिटी कसरी ह्यान्डिल गर्ने भन्ने विषय सिक्न पाइरहेका छौं ।’
कलेजको बिआइएचएम छैठौं सेमेस्टर अध्ययन गर्दै गरेका गौरव कोइरालाले होटेल अरन्या बुटिक होटेलको बारमा अभ्यास गरिरहेका छन् । उनले गेस्टको अर्डर अनुसारको कफी बनाइरहेका छन् । उनले वास्तविक गेस्टहरुसँग जोडिएर काम गर्दा नयाँ अनुभव भएको सुनाउँछन् ।
‘मैले अहिले बार्टेनिङ गर्दैछ्, मेरो विभागमा बारिष्ठा र बार टेन्डर दुईवटै पर्छ, यसमा कफिदेखि ड्रिंक्स सबै आइटम बनाउने काम हुन्छ’, गौरव सुनाउँछन्, ‘मैले गेस्टको अर्डरअनुसार बनाइरहेको छु ।’
त्यस्तै सुभेक्षा न्यौपानेले होटेल अरन्या बुटिकमा रेष्टुरेन्ट म्यानेजरको रुपमा काम गरिरहेकी छन् । उनले रेष्टुरेन्टको चौतर्फी अवस्थाको व्यवस्थापनमा ध्यान दिइरहेकी छन् । उनले आफूले वास्तविकतामा होटेल कसरी सञ्चालन हुन्छ भनेर सिक्ने अवसर पाएको बताउँछिन् ।
टेलर्स विश्वविद्यालयको बिआइएचएम
कलेजका बिआइएचएम विभागका प्रमुख अश्विनिकुमार लघुका अनुसार बिआइएचएम कोर्ष भनेको अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम हो । होटेल तथा हस्पिटालिटी व्यवसायिक क्षेत्रलाई चाहिने विषय बिआइएचएमको कोर्षमा समावेश गरिएको उनको भनाइ छ ।
उनले टेलर्स विश्वविद्यालयको सो मोडेल क्युएस र्याङकिङमा समेत सोह्रौं स्थानमा रहेको बताएका छन् । अनुसन्धान, लाइफ स्किल र प्रयोगात्मक विधिमा जोड दिएर पढाउने गरिएको समेत विभागीय प्रमुख लघुको भनाइ छ ।
‘यहाँबाट तयार भएको विद्यार्थीले राम्रो टिमवर्क गर्छन्, समस्याको समाधान गर्छन्, उनीहरुलाई कलेजबाटै सफ्टवेयर र स्कील सम्बन्धी विषयहरु सिकेर पास आउट हुने आधारमा र्याङ्क प्राप्त भएको हो’, विभागीय प्रमुख लघु बताउँछन् । साथै कलेजले पनि नतिजामामुखी आधारमा प्रणाली सञ्चालन गरेको उनको भनाइ छ ।
विद्यार्थीले प्रत्येक च्याप्टरको अध्ययन पश्चात व्यवहारिक रुपमा के सिक्नुपर्ने भन्ने विषयलाई ख्याल गरेर पढाइने उनी बताउँछन् । कलेजमा चार वर्ष पढेको विद्यार्थीले सम्बन्धित क्षेत्रमा गएर काम गर्न सक्नेगरी सिकाइ तथा पढाइ कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए ।
बिआइएचएम पढाउँदा पनि विद्यार्थीलाई एकदिन सैद्धान्तिक र अर्को दिन प्रयोगात्मक विधि अपनाउने गरिएको विभागीय प्रमुख लघु बताउँछन् । उनका अनुसार विद्यार्थीलाई परीक्षा लिने तरिका पनि विषयको आधारमा प्रोजेक्ट, प्राक्टिकल, प्रस्तुती लगायत हुने गर्छन् ।
विद्यार्थीहरुले विश्वविद्यालयले उपलब्ध गराएको लर्निङ म्यानेजमेन्ट सफ्टवेयरमा आफूले सिकेका विषयहरु अपलोड गर्नुपर्ने हुन्छ । जसमा विद्यार्थीले अन्यत्रबाट कपी गर्न पाउँदैन ।
बिआइएचएमको पढाइमा विश्वविद्यालयले १४ हप्ताको एक सेमेस्टर हुने व्यवस्था मिलाएको छ । जसको प्रत्येक १६ औं हप्तामा नतिजा आउँछ । यदि विद्यार्थी असफल भएमा १७ औं हप्तामा उसले फेरि परीक्षा दिन सक्छ र नियमित पछिल्लो सेमेस्टर पढाइमा जोडिन सक्छ ।
विद्यार्थीले चारवर्षे पढाइको क्रममा तीन वर्ष कलेजको अध्ययन र पछिल्लो एकवर्ष देश विदेशका होटलमा इन्टर्नसिप गर्ने व्यवस्था रहेको विभागीय प्रमुख लघु बताउँछन् । उनले अहिलेसम्म कलेजबाट बिआइएचएम पढेका विद्यार्थीहरु सतप्रतिशत विद्यार्थी रोजगारमा जान सफल भएको बताए ।
एकजना विद्यार्थीलाई करिअरमा सफल हुनको लागि एकेडेमिक एक्सिलेन्स, लाइफ स्कील र सकारात्मक भावना चाहिनेमा ती सबै विषयहरु बिआइएचएमको कोर्षमा समावेश रहेको लघुको भनाइ छ ।
कसरी कोर्षहरु सञ्चालन गर्ने भनेर विश्वविद्यालयले शैक्षिक क्यालेन्डर उपलब्ध गराएको छ । सोही आधारमा नै रहेर कलेजले वर्क लोड प्लान निर्माण गर्ने गरिएको बिआइएचएम प्रोग्राम को–अर्डिनेटर रिमा मानन्धर बताउँछिन् ।
विद्यार्थीहरुले पढ्दै गर्र्दा उनीहरुले पूरा गर्ने अभ्यास, परीक्षा, प्रोजेक्ट लगायतबाट पाउने नम्बर हेर्नको लागि विश्वविद्यालयले माई टाइम्स एप्लिकेसन उपलब्ध गराएको छ, जसबाट विद्यार्थीहरुले आफूले पढ्दै गर्दा प्राप्त गरेको नम्बर हेरिरहन सक्छन् ।
बिआइएचएम कार्यक्रमकी मोविलिटी एन्ड प्लेसमेन्ट को–अर्डिनेटर रोजिना महर्जनले विद्यार्थीले कलेजमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सिकेका विषयहरुलाई इन्टर्नसिपको माध्यमबाट प्रस्तुत गर्ने अभ्यास रहने गरेको बताइन् । उनका अनुसार कलेजले होटेल टेक ओभर कार्यक्रम राखेर इन्टर्नसिप अगावै अभ्यास गर्न दिँदा विद्यार्थीहरुलाई आफूले पढेको विषय कत्तिको व्यवहारिक छ भन्ने जान्ने मौका मिलेको छ । साथै उनले विद्यार्थीहरुले आफ्नो कन्फिडेन्स विकास गरेको बताइन् ।
कलेजमा गर्ने प्रयोगात्मक अभ्यास भन्दा होटेल टेक ओभर कार्यक्रमले वास्तविक होटेल तथा हस्पिटालिटी क्षेत्रमा कसरी काम गर्न आवश्य हुँदोरहेछ भनेर विद्यार्थीले सिक्ने अवसर प्राप्त गरेको महर्जनको भनाइ छ । इन्टर्नसिपमा जाँदा आवश्यक पर्ने कन्फिडेन्स, कम्युनिकेसन स्कील लगायतका विषय होटेल टेकओभर कार्यक्रमबाट प्राप्त गर्ने हुँदा उनीहरुलाई पछि सजिलो हुने समेत उनले बताइन् ।
‘विद्यार्थीहरुले पढ्दा होटल इन्डस्ट्री यस्तो हुन्छ होला है भनेर जसरी सोचेका हुन्थे वास्तविकतामा अनुभव गर्छन्, जसले गर्दा उनीहरुलाई इन्टर्नसिपमा जाँदा सजिलो हुन्छ’, उनले भनिन् ।
सामान्यतया होटेल तथा हस्पिटालिटी क्षेत्रमा काम गर्न रुची राखेका कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुले बिआइएचएम पढ्न सक्छन् । बिआइएचएकी एडमिसन अफिसर पुनम बानियाँका अनुसार कक्षा ११//१२ मा जुनसुकै विषय लिएर उत्तिर्ण गरेको विद्यार्थीले पनि सो विषय पढ्छन् । टेलर्स विश्वविद्यालयले कक्षा १२ मा ५० प्रतिशत अथवा २ जिपिए ल्याएर उत्तिर्ण भएको विद्यार्थीलाई बिआइएचएम पढ्न योग्य मानेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.