२०८० साउन १६ गते १७:३४ विकासन्युज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शैक्षिक शुल्क बढाउन लागेको छ । २०५३ सालपछि संस्थानले पहिलोपटक शुल्क बढाउने तयारी गरेको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानले १४० प्रतिशतसम्म शुल्क बढाउनु पर्ने भन्दै अध्ययन समितिले प्रतिवेदन दिएको छ । तर, उक्त प्रतिवेदनअनुसार नै शुल्क बढाउने कि त्यसभन्दा कम मात्रै बढाउने भन्ने बारेमा भने संस्थानको कार्यान्वयन समितिमा छलफल भइरहेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आंगिक क्याम्पसहरु सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयले स्थायी दरबन्दीमा रहेका प्राध्यापक तथा कर्मचारीलाई दिने तलब बाहेक अन्य खर्चको रकम उपलब्ध गराउन छाडेपछि शुल्क वृद्धि गर्नु पर्ने अवस्था आएको संस्थानका डिन प्राडा.शशीधरराम जोशीले विकासन्युजलाई बताए ।
डिन जोशीकाअनुसार शुल्क वृद्धिको विषयमा संस्थानमा एक वर्षदेखि छलफल हुँदै आएको छ । त्यसका लागि संस्थानले शुशिल बज्राचार्यको नेतृत्वमा एक समिति गठन गरेर प्रतिवेदन समेत तयार गरेको थियो । संस्थान स्रोतकाअनुसार उक्त प्रतिवेदनले अहिले इन्जिनियरिङ पढ्दा लाग्ने शुल्कलाई दोब्बरभन्दा धेरै बनाउन सुझाव दिएको छ ।
‘संस्थान र आंगिक कलेजहरूले दुई वर्षभित्र शुल्क वृद्धि नगर्ने हो भने सञ्चालन नै हुन नसक्ने अवस्थामा पुग्छन्’, जोशीले भने । कार्यान्वयन समितिले निर्णय नगर्दासम्म शुल्क वृद्धिको विषय कार्यान्वयन नहुने उनले बताए ।
‘हामीले २०५३ सालदेखि शुल्क वृद्धि गरेका छैनौं, वर्षैपिच्छे १० प्रतिशत शुल्क वृद्धि गर्न सकिने व्यवस्था छ, त्यसोगर्दा धेरै नै शुल्क वृद्धि गर्न सकिन्छ’, उनले भने, ‘ल्याब र लाइब्रेरी सञ्चालन गर्न, छात्रवृत्ति लगायतका विषयलाई सम्बोधन गर्न मिल्ने गरी मात्रै बढाउँछौं’, जोशीले भने ।
अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले तीन लाख २० हजार रुपैयाँ शुल्क बुझाउने गर्छन् । संस्थान स्रोतकाअनुसार प्रतिवेदनले सो शुल्कलाई सात लाख ७० हजार पुर्याउन सुझाव दिएको छ । प्रतिवेदनअनुसार नै शुल्क बढेमा अहिले विद्यार्थीहरुले तिरिरहेको शुल्कको तुलनामा करीब १४० प्रतिशतले बढेको शुल्क तिर्नुपर्ने हुन्छ । प्रतिवेदनमाथि कार्यान्वयन समितिमा छलफल भएर निर्णय भएपछि लागू हुने डिन प्राडा. जोशीले बताए ।
संस्थानको कार्यान्वयन समितिले शुल्कको विषयमा नयाँ निर्णय गरेपछि संस्थान लगायत पाँचवटा आंगिक क्याम्पसमा नयाँ शुल्क कार्यान्वयन हुनेछ । संस्थान अन्तर्गत पुल्चोक, थापाथली, पूर्वाञ्चल, चितवन, र पश्चिमाञ्चल गरी पाँचवटा आंगिक इन्जिनियरिङ कलेज छन् । साथै १० वटा निजी कलेजहरुले पनि स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
संस्थानले शुल्क वृद्धि गर्दा निजी कलेजको भन्दा धेरै नबनाउने जोशी बताउँछन् । सरकारले शैक्षिक कार्यक्रम सञ्चालनको लागि आवश्यक पुँजी दिएमा शुल्क वृद्धि गर्नुपर्ने अवस्था नहुने उनको भनाई छ ।
धेरै विद्यार्थी पलायन हुनसक्ने
उच्च शिक्षामा प्राविधिक तथा अप्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको ठूलो संख्या पलायन भइरहेको छ । गत आर्थिक वर्षको असार मसान्तसमम मात्रै एक लाख १७ हजार दुई सय सत्र जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् ।
विशेषगरी पछिल्लो पुस्ताका विद्यार्थीहरुले अध्ययनसँगै काम, आम्दानी र करिअरलाई जोड दिएको देखिन्छ । संस्थानका डिन प्राडा. जोशी पनि पछिल्लो समय इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या १० प्रतिशतले कमी आएको बताउँछन् ।
इन्जिनियरिङ अध्ययन पूरा गरेका झण्डै ९० प्रतिशत विद्यार्थीहरुले नेपालमा काम पाउन नसकेर विदेश पलायन भइरहेको अवस्थामा संस्थानले पढाइ शुल्क दोब्बर गर्दा पढ्ने विद्यार्थीकै संख्या घट्न सक्ने देखिन्छ ।
तर, डिन जोशी भने निजी क्षेत्रबाट सञ्चालित कलेजमा इन्जिनियर पढ्दा लाग्ने शुल्क दोब्बर भन्दा धेरै भएकाले संस्थानले शुल्क वृद्धि गर्दैमा विद्यार्थी नघट्ने दावी गर्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.