२०८० साउन २० गते ११:४६ विकासन्युज
काठमाडौं । जब अभिभावकहरुबीचमा आफ्ना बालबालिकाहरुको पढाइको बारेमा उत्प्रेरणामुखी चलचित्रको विषयमा कुराकानी हुन्छ तब अवश्य पनि हिन्दी चलचित्र ‘तारे जमीन पर’को अवश्य पनि नाम आउँछ । सन् २००७ मा प्रदर्शनमा आएको सो चलचित्र बलिवुडका नायक अमिर खानको उत्कृष्ट चलचित्र मध्येमा पर्छ ।
चलचित्र तारे जमीन पर करोडौं दर्शकहरुले हेरे तर सिमित व्यक्तिहरुले मात्रै सो चलचित्रको शन्देशलाई ग्रहण गरेको अनुमान गरिएको छ । सो चलचित्रमा संघर्ष, सफलता, जीवन र शिक्षकको जीवनको विषयमा निकै सन्देशमूलक विषय रहेका छन् । आफ्ना बालबालिका विद्यालयमा पढाउन शुरु गरेका वा पढाइरहेका अभिभावकहरुका लागि यो चलचित्र निकै उपयोगी एवं सन्देशमूलक रहेको छ ।
एक सही शिक्षकले विद्यार्थीको जीवन नै बदल्न सक्छ
तारे जमीन पर चलचित्रले पहिलो सन्देश शिक्षकको महत्वको बारेमा दिएको छ । हामी धेरैले विद्यालय तथा कलेज जीवनमा शिक्षकको महत्वको विषयमा अवश्य पनि निवन्ध लेखेका छौं । सायद त्यो निवन्ध केवल परीक्षाको लागि मात्रै बनेको छ ।
विद्यार्थीसँग भएका हिनतावोधका भावनाको जिम्मेवार वास्तवमा शिक्षक नै हुन् । कतिपय विद्यार्थी शिक्षकको डरका कारणले विद्यालय जान नचाहने र शिक्षकबाट नै मुक्त हुन चाहेका हुन्छन् ।
सही शिक्षकको अर्थ निश्चित रुपमा फरक हुन्छ, शिक्षकहरुले यो मान्न अनिवार्य हुन्छ की उनीहरु विद्यार्थीको दोस्रो आमाबुवा हुन् । एक विद्यार्थीको समस्यालाई बुझेर समाधान गर्नुको सट्टा उसमा हिन भावना भर्ने व्यक्ति अवश्य पनि शिक्षक हुन सक्दैनन् । एक वास्तविक शिक्षक त्यो हो जसले विद्यार्थीको अद्वीतीय क्षमतालाई कमजोर नठानेर सम्मान गर्न सक्छ ।
चलचित्र तारे जमीन परले एक शिक्षकले विद्यार्थीलाई अँध्यारोबाट उज्यालोमा लैजान सक्षम हुन्छ, तर शिक्षकमा त्यो विषयमा सोच्ने इच्छा र क्षमता हुनुपर्छ भन्ने सन्देश दिएको छ । साथै चलचित्रले एक सही शिक्षकले आफ्ना सम्पूर्ण विद्यार्थीका फरक क्षमताहरुलाई सम्मानपूर्वक हेर्ने गर्छ भनेर सन्देश दिएको छ ।
हरेक बालबालिका खास हुन्छन्
यो उपशिर्षक आफैँमा असाधारण रहेको छ ‘हरेक बालबालिका खास हुन्छन्’ । तर, यसको वास्तविकता हर कोही व्यक्तिले बुझ्न र ग्रहण गर्न सक्दैन । कोही बालबालिकाले विद्यालयको सिमित कक्षामा कति अंक प्राप्त गरेको छ भनेर उसलाई मूल्यांकन गर्नु अवश्य पनि न्यायसंगत हुँदैन । जस्तो ३० जना विद्यार्थी भएको एउटा कक्षाकोठाको एकजना विद्यार्थी भौतिक विज्ञानको शिक्षक हुनसक्छ, अर्को विद्यार्थी विश्वस्तरीय कलाकार हुनसक्छ भने अर्को विद्यार्थी उत्कृष्ट लेखक बन्न सक्छ ।
एकपटक विद्यार्थीमा भएको अन्तरनिहित रुचीको क्षेत्रमा अगाडि बढ्न अभिभावक, शिक्षक र समाजले साथ दिने हो भने सोचौं की विद्यार्थीले कति प्रगति गर्न सक्छ होला ? यस्तो वास्तविकता हाम्रो शैक्षिक क्षेत्रमा कार्यान्वयन हुन सकिरहेको छैन । तारे जमीन पर चलचित्रको मुख्य पात्र इशानलाई परम्परागत रुपमा पढ्न लेख्नमा कत्तिपनि रुची हुँदैन, तर उनी वास्तवमा निकै सिर्जनशील विद्यार्थी हुन् ।
रुचीलाई पेशा बनाउँदा नै सफल हुन सकिन्छ
चलचित्र तारे जमीन परले हामीलाई आफ्नो रुचीलाई पछ्र्याउन सिकाएको छ । यदि हामीले हाम्रो रुची अनुसारको क्षेत्रलाई पेशा बनाउन खोज्यौं भने हामी निकै उत्कृष्ट हुन सक्छौं भन्ने विचार यो चलचित्रले दिएको छ । चलचित्रमा अभिनेता आमिर खानले पनि आफ्नो पढाउने रुची अनुसार शिक्षक पेशालाई रोजेर आफूलाई उत्कृष्ट शिक्षकको रुपमा प्रस्तुत गरेका छन् ।
रुचीलाई पेशा बनाउन खोज्दा कठिनाई पनि आइपर्छन्, कैयौंपटक आफैप्रति अविश्वास समेत पैदा हुन्छ । तर, यदि तपाईंले आइपर्ने समस्याहरुलाई हल गर्न सक्नुभयो भने तपाईंले ती सबै गर्न सक्नुहुन्छ, जो तपाईंले आफ्नो जीवनमा गर्न चाहनुभएको थियो ।
अभिभावकहरुले ‘ख्याल’को परिभाषा बुझ्न जरुरी
चलचित्र तारे जमिन परले दिएको एउटा महत्पूर्ण सन्देश भनेको अभिभावकले बालबालिकालाई प्रदान गर्ने अभिभावकत्वको विषयमा हो । अभिभावकहरुले आफ्ना बालबालिकालाई दुई छाक खान दिएर कैयँन गाली दिइरहेका हुन्छन् । फेरि उनीहरुले भनिरहेका हुन्छन् की उनीहरु आफ्ना बालबालिकाहरुको ख्याल गरिरहेका छन् ।
दुई छाक खाना बालबालिकालाई दिनुभन्दा धेरै ठूलो विषय वास्तविक अभिभावकत्वको बारेमा बुझ्नु हो । जुन सन्देश चलचित्रले दर्शकलाई प्रदान गर्ने कोसिस गरेको छ । चलचित्रका मुख्य पात्र इशानका बुवाले उनको विषयमा वास्तविक ख्याल गर्दैनन् ।
बच्चाहरुबीचमा तुलना गर्नु निकै खराब काम हो
कतिपयले आफ्ना बालबालिकालाई सचेत गराउन वा उत्प्रेरणा प्रदान गर्ने नाममा अरुसँग तुलना गरेर भन्ने गर्छन्, वास्तवमा यस्तो तुलनाले कुनै सकारात्मक काम गर्दैन । बरु बालबालिकामा हिनताबोध सिर्जना गर्ने काम गर्छ । साथै उनीहरुमा रिस र ईष्र्या पैदा गर्ने काम गर्छ ।
चलचित्रमा इशानका बुवाले उनलाई सँधै उनको दाजुसँग तुलना गरेको देखाएको छ । बुवालाई त्यो भनाइले इशानमा प्रोत्साहन हुनसक्ने सोचे तापनि उनीमा पहिलेदेखि नै अलग प्रकारको क्षमता भएकाले उनलाई बुवाको भनाइले हिनताबोध गराउने मात्रै काम गर्छ । बुवाको निरन्तर भनाइले इशानलाई उ दाजु भन्दा कम क्षमता भएको र केही गर्न नसक्ने भावना भर्न मात्रै सघाउने काम गर्छ ।
आवश्यक भन्दा बढी अपेक्षा राख्नु हानिकारक
हाम्रो जीवनको धेरै समस्या भनेको आवश्यकता भन्दा बढी अपेक्षा राख्नु हो । अपेक्षा अनुसार नतिजा प्राप्त नभएपछि मन भावना एकदिन टुट्न पुग्छ । चलचित्रमा मुख्य पात्र इशानका बुवाले आफ्नो अपेक्षा पुरा गर्नको लागि उनीमाथि क्रुर व्यवहार समेत प्रदर्शन गर्छन् ।
कतिपय सम्बन्धहरु आवश्यक भन्दा अधिक अपेक्षा राखेका कारणले नै बिग्रेका हुन्छन् । चलचित्र तारे जमीन परले दोस्रो व्यक्तिबाट अधिक अपेक्षा कम गर्न प्रेरित गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.