२०८० साउन २२ गते ११:४१ विकासन्युज
काठमाडौं । हिमालयन बैंकबाट सचिनजङ्ग रायमाझी बाहिरिएका छन् ।असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर रायमाझी हिमालयन बैंकमा कुरा नमिलेपछि बैंक छोड्न बाध्य भएका हुन् ।
तत्कालीन सिभिल बैंकबाट सीईओ सुनिल पाेखरेल बाहिरिएपछि साे बैंकको कर्मचारीको तर्फबाट रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा गाभिएको थियो । उनी हिमालयन बैंकमा चौथो वरियतामा रहने बताइएको थियो । तर, अहिले उनलाई नवौं तहमा झारेपछि उनी असन्तुष्ट बन्दै बैंक छाड्न बाध्य भएका हुन् ।
रायमाझीले हिमालयन बैंकमा आफुले काम गर्ने सहज वातावरण नपाएपछि बैंक छोड्न बाध्य भएको बताएका छन् । उनले मर्जर तथा एक्विजिशनमा गएका सबै बैंकका कर्मचारीहरु अहिले समस्यामा रहेको सुनाए ।
‘मर्जरपछि ठूलो बैंकले सानो बैंकलाई हेप्ने गरेका छन्, त्यो अनुभव पनि गरियो, आफ्नो गल्ति ढाकछोप गर्न सबै दोष सानो बैंकलाई दिइने रहेछ, पछिल्लो समय आफ्नो स्वार्थका लागि मात्रै मर्ज भएको जस्तो देखिन्छ, कर्मचारीले सकस भोगिरहेका छन्,’ रायमाझीले भने ।
अब उनले विदेशी बैंकमा काम गर्ने बुझिएको छ । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जाने भएका हुन् ।
साविक सिभिल बैंक छोडेका सुनिल पोखरेल सो बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरिरहेका छन् । सीईओ पोखरेलले नै रायमाझीलाई टिसा बैंकमा बोलाएका हुन् ।
रायमाझी हिमालयन बैंकबाट बाहिरिएसँगै विदेशी बैंक टिसाको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जान लागेको जानकारी दिए ।
उनका अनुसार उनी टिसा बैंकमा तीन वर्षका लागि काम गर्न जान लागेका हुन् । साढे दुई दशकको बैंकिङ अनुभव भएका उनले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका थिए । उनले प्रभु बैंकको नायव महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.