२०८० साउन २६ गते १९:५२ विकासन्युज
काठमाडौं । नेपालमा अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ ।
अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)को सहभागीतामा शुक्रबार बैठक आयोजना भएको हो ।
बैठकको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गरेका छन् ।
मन्त्री महतले नेपाली जनताको जीविकोपार्जनकालागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्ने बताएका छन् ।
अमेरिकी राजदूत डीन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल–अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।
यूएसएआईडीको सहयोग सम्झौता अन्तर्गत सञ्चालित आयोजनाहरुको उपलब्धि, कोष प्रवाह, स्थानीय संस्थाहरूको उपयोगमा बढेको बजेट आदिका बारेमा समीक्षा र जिम्मेवारीहरू स्पष्ट गर्नका लागि बैठक आयोजना गरिएको बताइएको छ ।
बैठकले नेपाल अमेरिकाबीच साझेदारीलाई सुदृढ सहयोग मिलेको बताइएको छ ।
विकास उद्देश्य सम्झौता बाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ ।
बैठकमा अर्थमन्त्री डा. महत, अर्थसचिव अर्जुनप्रसाद पोखरेल, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, युएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.