२०८० साउन ३१ गते १२:०४ विकासन्युज
काठमाडौं । आजभोली गाउँहरु गाउँ छैनन् । गाउँहरुले गाउँको विशेषता भुलिसकेका छन् । गाउँलेहरुले गाउँलेको पहिचान गुमाइसकेका छन् । घ्यू बेचेर पेप्सी किन्न थाले गाउँलेहरु । लोकभाका गुनगुनाउन र दमाहा बजाउन बिर्सेर स्पिकर घन्काउन थाले गाउँलेहरु । अब गाउँ, गाउँ रहेनन् । शहरको सिको गरेर गाउँहरु न शहरजस्तै बने नत गाउँको पहिचान नै कायम राख्न सके । बारी बाँझै राखेर शहरबाट आएको तरकारीमै मिठो स्वाद भेट्टाउन थालिसकेका छन् गाउँलेहरुले पनि ।
हो, यो देख्दा, अनुभव र महसुस गर्दा कत्ति नमिठो लाग्छ मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरालाई । गाउँघरमा गाउँलेहरुको एकता, समन्वय, सहकार्य र भाइचाराको सम्बन्ध पनि उनले नजिकबाट नियालेका छन्, अनुभव गरेका छन् । तर, अहिले त्यो आत्मियता पाउन मुस्किल छ गाउँघरमा । अहिले सामाजिक सञ्जालमा एकले अर्कालाई पछार्ने, एकले अर्काको विरोध गर्ने र राम्रो कामको साथ, समर्थन र सहयोग नगरेर सञ्जालमै रुमल्लिएको समाजलाई परिवर्तन गर्न चाहन्छन् उनी । एकले अर्काप्रतिको मान–सम्मान र भाइचाराको सम्बन्ध पुनः स्थापित गराउन चाहन्छन् उनी । अब गाउँले शहरको सिको होइन, गाउँलाई गाउँ नै बनाउने अभियानमा जुटेका छन् उनी ।
भनिन्छ नी, ‘कुनै पनि व्यक्तिको खराब कुरा गर्नु मानिसको प्रवृत्ति हो । तर, खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।’ यही भित्र रहेर समाज परिवर्तनको बिकुल बजाइरहेका छन् अध्यक्ष बोहरा । त्यसलाई उनले आफ्नो जिम्मेवारी र समाजप्रतिको बफादारिता ठानेका छन् ।
‘हामीले जनतालाई मोटिभेसन गर्न जरुरी छ, कागले कान लग्यो भनेर कान नछामेर कागको पछि लाग्ने जमात ठूलो छ, यो प्रवृतिको अन्त्य गर्न जरुरी छ, हामीले त्यसका लागि एउटा मोडेल पनि तयारी गरिरहेका छौं, स्थानीय तहले नागरिकहरुलाई कसरी उद्यमी बनाउन सक्छ, त्यस्ता कार्यक्रमहरुलाई पनि प्राथमिकता दिइरहेका छौं, त्यसको संकेत र सन्देश हामीले एक वर्षमा गरेको कामले गरेको छ,’ अध्यक्ष बोहराले कामको फेहरिस्त सुनाउँदै भने ।
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको साविकको रिलु गाविस र हालको मष्टा गाउँपालिका ७ मा जन्मेका बोहराले नै अहिले सोही गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । घरको जेठो छोरा बोहरामाथि घरको जिम्मेवारीले पनि सानैदेखि नेतृत्व गर्ने बानी बस्यो । सानैदेखि केही पृथक काम गर्नु पर्छ, समाज परिवर्तन गर्नु पर्छ भन्ने सोच बोकेका उनी अहिले पनि सोही सोच बोकेर अगाडि बढिरहेका छन् ।
उनी भन्छन्, ‘समाज सेवा मेरो रहर हो, सोही कारण म राजनीतिमा आएँ, सकारात्मक दृष्टिकोण राखेर काम गरियो भने एकदिन अवश्य नै सफल भइन्छ ।’ विकट जिल्लाको पनि दुर्गम क्षेत्रमा जन्मेका बोहराभित्रको समाज सेवाको भोक सानैदेखि भएको सुनाउँछन् ।
‘घरको जेठो छोरा भएकोले पनि सानैदेखि जिम्मेवारी के हो भन्ने विषय बुझें, सानैदेखि संघर्ष गर्नु पर्छ भन्ने कुरा मनन् गरें, सामान्य परिवारमा जन्मेर पनि पढ्नु पर्छ भन्ने मानसिकताका साथ अगाडि बढें,’ उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘मान्छेमा इच्छाशक्ति छ भने अभावले नछेक्ने रहेछ ।’
बोहराले विद्यालय तहको पढाइ गाउँमै पुरा गरे । त्यो बेला आधारभूत आवश्यकताहरु पुरा गर्न पनि सकस हुन्थ्यो । शिक्षा, स्वास्थ्य र यातायातको त ठूलो अभाव थियो । त्यो अभावका बिच पनि पढ्नुपर्छ भन्ने मानसिकताका साथ उनी लागि रहे । उनले गाउँमै रहेको मालिका प्राथमिक विद्यालयबाट कक्षा एकसम्मको पढाइ पूरा गरे । २ देखि ५ कक्षासम्मको अध्ययन रिलु चौर माध्यमिक विद्यालयबाट गरे भने ६ कक्षादेखि १० सम्मको पढाइ दुर्गा भवानी माध्यमिक विद्यालयबाट पूरा गरे ।
उनलाई अझै पढ्नुपर्छ भन्ने भोक मरेन । सामान्य परिवेशमा हुर्केका बोहरा पढ्नका लागि निकै संघर्ष गर्नु परेको सुनाउँछन् । ‘कक्षा ५ देखि १० सम्म पढ्नको लागि घरबाट ३ घण्टाको बाटो हिड्नु पथ्र्यो, विद्यालयको आसपासमा कोठा खोजेर घरबाट चामल लगेर पढ्नु पथ्र्यो, विद्यालय तहको पढाइ स्मरण गर्दै उनी भन्छन्, ‘संघर्षपछि अवश्य नै सफलता मिल्छ ।’
बोहराले वि.सं. २०५५ सालमा एसएलसी हालको एसईई पास गरे । एसएलसी पास गरे पश्चात् सहरमा पढ्ने उनको सपना थियो । तर, घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नकै लागि कमाउनु पर्ने बाध्यता आइलाग्यो उनलाई । घरको जेठो छोरा भएकै कारण पनि उनीमाथि कमाउनै पर्ने आवश्यता थपियो ।
चार दाजुभाई र एउटा बहिनी छिन् उनको । उनीहरु सबैको अभिभावकत्व निर्वाह गर्नु पथ्र्यो । बारीमा उब्जिएको अन्नले घरपरिवार चल्थ्यो । तर, पढ्न र उपचारका लागि भने पैसाको अभाव थियो । उनी भन्छन्, ‘घरमा कोही बिरामी भयो भने पनि उपचारको लागि कसरी पैसा जोहो गर्ने भन्ने चिन्ता थियो ।’ तर, आमाबुवाले भने पढ्नु पर्छ भनेर सल्लाह दिइरहने गरेको उनी स्मरण गर्छन् ।
भारतमा ६ महिना काम
पढ्नैका लागि भएपनि उनले कमाउनु पर्ने बाध्यता आइलाग्यो । गाउँघरमै काम गर्नका लागि कुनै अवसर थिएन । गाउँघर/घरछिमेका आफन्तहरु रोजगारीका लागि भारत जान्थे । भारतबाट कमाएको पैसाले नै परिवार चल्थ्यो । जुन अभ्यास अहिले पनि चलिरहेको छ । बोहराले पनि भारत जाने निधो गरे ।
एसएलसी दिएका उनी कामको सिलसिलामा भारत होमिए । आफन्तहरुसँग भारतको उत्तराखण्डमा पुगेर खरी बनाउने काममा लागे उनी । पैसा कमाएर पढ्ने सपना बोकेका उनले त्यहाँ ६ महिना काम गरे । नेपालीहरुले भारतमा भोगिरहेको समस्या र गरिरहेको संघर्ष उनले नजिकबाट नियाले, अनुभव गरे ।
उनको पढ्ने सपना थियो । भारतमा ६ महिना काम गरेको पैसा बोकेर नेपाल फर्किए । ‘भारतबाट फर्किएपछि गाउँमा समय बिताउन मन लागेन, भारतबाट ल्याएको पैसा लिएर काठमाडौं हिडें, उनी थप्छन्, ‘काठमाडौंमा पनि सहजै रुपमा बस्न कहाँ सजिलो रहेछ र ।’
उनलाई भारतबाट ल्याएको पैसाले काठमाडौंमा खान बस्न र कोठा भाडा तिर्न पनि नपुग्ने भयो । उनको मन मोडियो र पुनः गाउँ फर्किए । दुई वर्ष त्यतिकै बित्यो । अब उनले जयपृथ्वी क्याम्पसमा भर्ना गर्ने निर्णय गरे । ‘प्लस टु’ पास गरे । तर, उनको मनले अझैं मानेन । मनले चाहेको शिक्षा जिल्लामा पाउन सकेनन् ।
उनको मनले उनलाई भन्यो, ‘फेरि काठमाडौं जाउ ।’ गाउँमा साथीसँग ऋण काढेर उनी पुनः काठमाडौंका लागि हिंडे । समाजशास्त्र विषय लिएर स्नातकमा पाटन बहुमुखी क्याम्पसमा भर्ना भए । ‘पाँच वर्ष घर नगई स्नातक तहको पढाइ पुरा गरें, पाटन क्याम्पसबाटै समाजशास्त्र विषयमा स्नातकोत्तर पनि पास गरें,’ उनी भन्छन्, अभावले मान्छेलाई धेरै सिकाउने रहेछ, संघर्ष गर्न सिकाउँदो रहेछ ।’
शिक्षक बन्ने थियो सपना
त्यो पूरा होस् वा नहोस्, सपना सबैको हुन्छ । त्यो सपना ममा पनि छ र तपाईंमा पनि छ । सपना ज्ञानबहादुर बोहरामा पनि थियो । सानैदेखि उनको सपना शिक्षक बन्ने थियो ।
शिक्षक बन्ने सपना बोक्नुभित्रको रहस्य पनि गज्जवको छ उनको । ‘पढ्ने इच्छा थियो तर पढेपछि के बन्ने भन्ने सपना सुरुमा थिएन, बझाङमै ८ कक्षा पढ्दा विद्यालयको निरीक्षण गर्न विद्यालय निरिक्षक (बिनी) आउनु भयो, विद्यालयमा उहाँलाई सबैले सम्मान गरेको देखेर बिनी बन्न नसके पनि शिक्षक चाहिँ बन्नुपर्छ भन्ने महसुुस गरें, बोहरा मुस्कुराउँदै भन्छन्, ‘त्यही समयदेखि हो मैले शिक्षक बन्ने सपना बोकेको ।
तर, उनको शिक्षक बन्ने सपना धेरै टिकेन । उच्च शिक्षाका लागि काठमाडौंमा पढ्न आएपछि उनको शिक्षा, समाज र सपना फेरियो । काठमाडौंमा पढाइसँगै काम सुरु गरे । समाजशास्त्र पढिरहेका उनले एक जना दाईको सस फ्याक्ट्रीमा मार्केटिङ गर्न थाले । उनको चेतनाको स्तर बढदै गयो । पढाइ पनि सुधारिँदै गयो । अब उनको जिम्मेवारी र भूमिका पनि फेरिन थाल्यो ।
उनले विभिन्न पुस्तक सम्पादन गर्ने जिम्मेवारी पाउन थाले । ‘मैले कलेजमा भर्ना भएपछि धेरै किताबहरू सम्पादन गरें, त्यो बेलामा विद्यार्थी सन्देश, विद्यार्थी आन्दोलन जस्ता राजनैतिक किताबहरू प्रकाशन हुन्थे, ती किताबहरु सम्पादनको जिम्मा मलाई दिइन्थो, त्यहाँबाट पनि केही पैसा आउँथ्यो, त्यो पैसाले काठमाडौंमा दिनचर्या गर्न सहज हुन थाल्यो,’ उनले भने ।
यसरी नै दिनहरु बित्दै गए । स्नातकोत्तरको पढाइ पनि सकियो । स्नातकोत्तरको पढाइ सकेपछि उनले पाटन क्याम्पसमै ८ महिना पढाए पनि । त्यो बेलासम्म उनको आर्थिक हैसियत केही सुधार भइसकेको थियो । विभिन्न राजनीति किताबहरु सम्पादनको जिम्मा पाउन थालेका उनलाई अब सक्रिय राजनीति गर्ने मुड चल्यो । उसो त उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय नै थिए । तर, स्नातकोत्तरको पढाइपछि भने त्यो सक्रियता झनै बढ्यो ।
विद्यार्थी राजनीतिसँगै उनले २०६९ सालमा विवाह गरे । रमिला बुढासँग प्रेमपछि विवाह गरेका उनीसँग अहिले दुई छोरा छन् । उनकी श्रीमती रमिला अहिले टोखा नगरपालिकाको वडा नं. १ मा वडा सचिवका रुपमा कार्यरत छिन् ।
…त्यसपछि सुरु भयो सक्रिय राजनीतिक यात्रा
उच्च शिक्षा हासिल गरेपछि बोहरा गाउँ फर्किए । काठमाडौंमै बस्दा राजनीतिक माहोल बुझेका उनले गाउँ फर्केर विकृति र विसंगतीको विषयमा प्रश्न उठाउन थाले । विकास निर्माणमा हातेमालो गर्न थाले । सानैदेखि समाज सेवामा रुची राख्ने उनले दिनप्रतिदिन सम्बन्धित निकायमा खबरदारी गर्न थाले ।
उनले पढेपछि जागिर होइन, समाजसेवा गर्नु पर्छ भन्ने भावना राखेर गाउँको सेवा गरे । गाउँमा कुनै समस्या आयो भने त्यो समस्या समाधानको लागि सबैभन्दा अगाडि उनै बोहराको नाम आउँथ्यो । जिल्लामा हुने विभिन्न राजनीतिक कार्यक्रमको अग्रमोर्चामा उनै बोहरा देखिन्थे ।
‘मैले केही गर्नुपर्छ भन्ने भावना थियो, अफिसमा बसेर १० देखि ५ बजेसम्म काम गरेर जीवनमा मैले गरेको दुःखको उपलब्धि हुँदैन भन्ने विषयमा म प्रष्ट थिएँ, उनी भन्छन्, ‘समाजसेवालाई पनि गाइड गर्ने विषय राजनीति हो भन्ने सिकेरै म राजनीतिमा होमिएको हुँ, राजनीतिमार्फत् समाज सेवा गर्न सकिन्छ ।’
उनले गाउँघरमा युवालाई तालिम दिने, जनचेतना मूलक कार्यक्रम गर्ने, गाविसका वृतचित्रहरु तयार गर्ने लगायतका थुप्रै काम गरे । त्यसबाट पनि उनको पहिचान बदलियो । उनको सक्रियता, लगाव–झुकाव र पार्टीप्रतिको बफादारिता देखेर काँग्रेस पार्टीले पनि उनलाई विभिन्न समितिमा संलग्न गराउन थाल्यो ।
सुरुमा उनले बझाङको जिल्ला कार्यसमितिको सदस्य बन्ने अवसर पाए । त्यसपछि पार्टी उपसभापति र महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाए । उनको उपलब्धि र प्रगतिको ग्राफ त्यतिमै रोकिएन । स्थानीय तहको निर्वाचन नजिकिँदै थियो । उनले स्थानीय तहको निर्वाचनमा मष्टा गाउँपालिकाको अध्यक्षमा दाबी गर्ने योजना बनाए । आकांक्षी धेरै थिए । पार्टीले नजिकबाट नियालेका बोहराले टिकट पाए । मष्टा गाउँपाकिाको अध्यक्षको बलियो दाबेदार बने बोहरा ।
वि.सं. २०७९ मा वैशाख ३० गते भएको स्थानीय तहको चुनावी मैदानमा बोहरालाई साथ दिनेहरुको भीड लाग्यो । एउटा शिक्षित युवा । त्यसैमाथि समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका उनीमाथि विश्वास गर्नेहरुको जमात बढ्यो । परिणामस्वरुप स्थानीय तहको निर्वाचनमा मष्टा गाउँपालिकाको नेतृत्व गर्ने अवसर तिनै बोहराले पाए ।
उसो त उनी २०७४ सालमा भएको निर्वाचनमा पनि प्रतिस्पर्धामा नउत्रिएका होइनन् । तर, उनी पराजित भए । उनले उक्त निर्वाचनबाट धेरै पाठ सिकेर दोस्रो पटक चुनावी मैदानमा होमिएको र विजयी पनि भएको अनुभव सुनाए । उनी गाउँपालिकाको अध्यक्षमा ३ हजार ८३ मत ल्याएर विजयी भए । उनको विजयीमा सिंगो मष्टावासी रमायो । उनी भन्छन्, ‘मलाई मेरो समाजले चिन्यो, अब मैले यो समाजलाई चिनाउनु छ ।’
आशाको किरण
अध्यक्ष बोहराले मष्टा गाउँपालिकाको नेतृत्व गरेपछि धेरै विषयहरुमा परिवर्तनको संकेत देखिएको छ । पालिकावासीलाई विभिन्न तालिमहरु प्रदान गर्ने र सीप सिकाएर उद्यममा जोड्ने प्रयत्न उनले गरिरहेका छन् । उसो त उनी एक वर्षको अवधिमा पालिकाले १०० अंकमा ९० अंक ल्याएर डिस्टिङ्सन हाँसिल गर्न सफल भएको हिसाब सुनाउँछन् ।
उनको नेतृत्वमाथि धेरैले अपेक्षा गरेका छन् । एउटा शिक्षित युवाले पालिकाको नेतृत्व गर्दा उनको कार्यकालमा पालिकाको मुहार फेरिने विश्वासमा मष्टावासी छन् । अध्यक्ष बोहरा पनि भन्छन्, ‘म पालिकाको सेवा गर्न आएको हुँ, पाँच वर्षको मेरो कार्यकालमा मष्टा गाउँपालिकाको इमेज परिवर्तन गरेर देखाउँछु, त्यो महसुस आम सर्वसाधारणहरुले गर्नेछन् ।’
उनी गाउँलाई गाउँ नै बनाउने अभियानमा जुटेको बताउँछन् । गाउँ सुन्दर बनाउनको लागि त्यहाँ भएका पूर्वाधार विकास, सहज स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र स्वस्थ खानपानीको आपुर्तिमा आफ्नो विशेष प्राथमिकता रहेको अध्यक्ष बोहरा सुनाउँछन् ।
दिनप्रतिदिन विदेशिरहेका युवाहरुलाई उनी स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न लागिरहेको बताउँछन् । ‘स्वदेशमै केही न केही काम गर्ने विषयमा जोड दिइरहेका छौं, अलिकति अक्षर चिन्न थालेपछि युवा श्रम गर्न तयार हुँदैन तर काम पाइएन भनेर हिँडेको देखिन्छ, हामीले काम गर्ने वातावरण पालिकामा निर्माण गरिरहेका छौं, अब युवाहरु उद्यमी बन्नु पर्छ, उनी भन्छन्, ‘त्यसका लागि हामीले कार्यक्रम पनि ल्याएका छौं र अझै ल्याउनेछौं,’ उनी थप्छन्, ‘जनताको खुसी नै मेरो खुुसी हो ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.