२०८० भदौ १ गते ९:५५ नारायण अर्याल
काठमाडौं । कक्षा–१२ को नतिजा प्रकाशन भएपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने विषयको सम्बन्धमा विद्यार्थीहरु द्विविधामा छन् ।
उच्च माध्यामिक शिक्षा परिषदको परीक्षा उत्तिर्ण गरेपछि विद्यार्थीहरुलाई विश्वविद्यालय प्रवेश गर्ने ढोका खुलेको छ ।
स्नातक तहमा रोजिने विषयले विद्यार्थीको करिअर निर्धारण गर्छ । तसर्थ, आफ्नो रोजाइको क्षेत्रमा अब्बल बन्नका लागि अध्ययनको विषय पनि सोहीअनुसार रोज्नुपर्छ ।
पछिल्लो समय धेरैजसो विद्यार्थी र अभिभावकले सूचना प्रविधिलाई पहिलो रोजाइको विषय बनाउने गरेका छन् । विश्वभरी नै ठूलो मात्रामा रोजगारी तथा उद्यमको सम्भावना बोकेको विषय हुनाले पनि धेरैले विश्वविद्यालय तहमा सूचना प्रविधि अध्ययन गर्न सुझाव दिने गरेका छन् ।
सूचना प्रविधि विषय अध्ययन गरेर आफूलाई अब्बल सावित गर्नेहरू बेरोजगार बस्नु पर्ने अवस्था छैन ।
सूचना प्रविधि क्षेत्रका विभिन्न विषय अध्ययन गरेका नेपाली विद्यार्थीहरुले नेपालमै बसेर ६७ अर्ब रुपैयाँ भन्दा धेरै विदेशी मुद्रा आम्दानी गरेको तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ ।
सूचना प्रविधि अन्तर्गत हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा दिनानुदिन अकल्पनीय प्रगति हुँदै गएको छ ।
सूचना प्रविधिको विकास यस्तो भएको छ कि यसको अभावका मानिसको दैनिकी नै प्रभावित हुन थालेको छ । उत्पादन तथा सेवा क्षेत्रका सबैजसो व्यवसाय सूचना प्रविधिमै निर्भर छन् ।
सुरक्षित करिअर, प्रशस्त आम्दानी
टेक्सास कलेजका विएससीसिएसआइटी विभागका प्रमुख ओमकार बस्नेतले सूचना प्रविधि अहिले ‘ग्लोबल ल्याङ्वेज’ भएकाले विश्वव्यापी माग बढेको उनले बताए ।
विश्वव्यापी रूपमा आइटीमा दक्ष व्यक्तिहरूको अभाव रहेकाले नयाँ विद्यार्थीहरुका लागि प्रशस्त सम्भावना रहेको उनले बताए ।
सूचना प्रविधिका विषय अध्ययन गरेकाहरूलाई आंशिक वा पूर्णकालिन रूपमा कामको समस्या नभएको उनले बताए ।
यो विषय अध्ययन गरेका विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्ने भएका अध्ययन खर्च समेत विद्यार्थी आफैले जुटाउन सक्ने उनले बताए ।
नेपालमा डिजिटल प्लेटफर्मका विभिन्न प्रडक्टमार्फत बलियो उपस्थिति देखाएको कम्पनी एफवानसफ्टका निर्देशक सुवास शर्माले आइटी पढेका विद्यार्थीका लागि स्वदेश र विदेशमा राम्रो रोजगारीको सम्भावना रहेको बताए ।
देशभित्रै सूचना प्रविधि सम्बन्धी प्रशस्त उद्योगहरु खुलेका कारण आइटी पढेकालाई राम्रो अवसर रहेको उनले बताए । त्यसबाहेक, नेपालमै बसेर पनि विदेशका विभिन्न स्थापित कम्पनीमा काम गर्ने अवसर रहेको शर्मा बताउँछन् ।
‘अहिले विश्व नै डिजिटलाइज भैरहेको छ, विदेशमा पनि सूचना प्रविधिको प्रचुर सम्भावना छ, नेपालमा पनि प्रशस्त अवसर सिर्जना भइरहेका छन्’, शर्मा भन्छन्, ‘आउटसोर्स कम्पनीहरु नेपालमा छन्, फ्रिल्यान्सरको रुपमा काम गर्नेहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् ।’
विदेश जान चाहनेहरुका लागि पनि नेपालमै आइटी अध्ययन गरेर जाँदा राम्रो हुने उनले बताए । नेपालका उद्योग तथा व्यवसाय क्षेत्र डिजिटल उन्मुख भएकाले थप अवसरको सम्भावना रहेको शर्माले बताए ।
‘आइटी आफैँमा व्यवसाय भन्दा पनि यसले अन्य उद्योग तथा व्यवसायलाई सपोर्ट गर्ने हो, व्यवसायहरुलाई अटोमेटेड बनाउन सहयोग गर्छ । सफट्वेयरको प्रयोगले कामलाई पेपरलेस बनाउन सकिन्छ । यो सबैले चाहेका हुन्छन् । आफ्नो बिजनेसलाई अनलाईन, अटोमेटेड र पेपरलेस बनाउँदा आइटी नै सहयोग हुन्छ । यसमा ठूलो जनशक्ति चाहिन्छ । त्यसैले, प्रशस्त सम्भावना छ’, शर्माले भने ।
इच्छाशक्ति भएको र मेहनती विद्यार्थीले आफ्नो शैक्षिक खर्च मात्रै नभएर पढ्ने समयमा नै प्रशस्त पैसा कमाउन सक्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।
पढाइकै समयमा आफ्नो प्रोजेक्ट वर्कको काम गर्दा नै प्रशस्त आम्दानी गर्न सकिने अध्यापकहरुको भनाई छ । त्यसबाहेक, आंशिक, प्रोजेक्टमा आधारित र पूर्णकालिन जागिरमा आवद्ध भएर पनि कमाउन सकिन्छ ।
यो क्षेत्रका काम गर्ने नेपालीहरुले दैनिक ८ घण्टा काम गर्दा न्यूनतम ३०/३५ हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
के–के छन विषय ?
नेपालका शिक्षण संस्थामा नेपाली तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधिका विषयहरू पढाई हुन्छन् ।
विएससी–सिएसआइटी, बिआइटी, बिसिए, बिआईएम लगायतका विषय स्नातक तहका अध्यापन हुन्छ । सूचना प्रविधि अन्तर्गतका सबै शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा सञ्चालित छन् ।
कक्षा–१२ मा विज्ञान संकाय अध्ययन गरेका विद्यार्थीले मात्रै विएससी–सिएसआइटी अध्ययन गर्न पाउँछन् । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको प्रवेश परीक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।
त्यसबाहेकका शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले, बिसिए, बिआईएम लगायतका सूचना प्रविधिसँग सम्बन्धीत विषयहरु अध्ययन गर्न पाउँछन् ।
चार वर्षको आठ समेस्टरका कोर्ष विश्वविद्यालयहरुले बनाएका छन् । यी विषयहरु अध्ययन गर्दा विश्वविद्यालय र कलेजअनुसार शुल्क फरक छ ।
नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये ८ वटा विश्वविद्यालयहरुले स्नातक तहमा आइटी सम्बन्धी कोर्ष सञ्चालन गरेका छन् । जसमध्ये त्रिभुुवन विश्वविद्यालयले बीएससी–सीएसआईटी, इलेक्ट्रोनिक्स, कम्प्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बीआईसीटीई, बीसीए, बीआईएम, बीआईटी र बीएससी एमएलटी कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
काठमाडौं विश्वविद्यालयले बीएससी इन कम्प्युटेस्नल म्याथेम्याटिक्स, बीबीआईएस, बीएससी इन बायोइन्फर्मेटिक्स, बीटेक बायोटेक्नोलोजी, बी–टेक इन एआई, कम्प्युटर साइन्स र बीएससी एमआईटी कार्यक्रम सञ्चालन गरेको छ ।
पोखरा विश्वविद्यालयले इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ, बीसीए, कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, बीएससी एमएलटी, बीई–आईटी र बीसीआईएस कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले बीसीए, बीआईटी, बायोटेक्नोलोजी, बायोटेक, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको छ ।
मध्यपश्चिम विश्विद्यालय र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ र बीएससी–सीएसआईटी कार्यक्रम सञ्चालन गरेको छ ।
गण्डकी विश्वविद्यालयमा बिआइटी र राजर्षी जनक विश्वविद्यालयमा बिएससी सिएसआटी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सामान्यतया आइटीका धेरै विषयहरु कक्षा ११/१२ मा विभिन्न विषय लिएर पढेका विद्यार्थीले स्नातक तहमा आइटी अध्ययन गर्न सक्छन् । विश्वविद्यालयहरुले स्नातक तहमा आइटी अध्ययन गर्नको लागि कक्षा ११/१२ मा निश्चित अंक ल्याएको हुनुपर्ने मापदण्ड तोकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.