२०८० भदौ ७ गते १०:१५ विकासन्युज
चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो ।
उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए । उनीहरूलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो ।
दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए ।
कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना संकलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो । चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.