विदेशी सम्बन्धन लिएका कलेजमा फेलै हुँदैनन् विद्यार्थी, त्रिविमा भने ४१ प्रतिशत मात्रै उत्तीर्ण

  २०८० भदौ १३ गते १०:१४     नारायण अर्याल

काठमाडौं । विदेशका विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुने गरेको पाइएको छ ।

विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, विदेशको सम्बन्धन लिएर सञ्चालित कलेजमा पढ्ने कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन् ।

सामान्यतया नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालका निजी शिक्षण संस्थाहरुले मेडिकल, इन्जिनियरिङ, सूचना प्रविधि जस्ता विषयहरुबाहेक अन्य उपयोगितामुलक (एप्लाइड कोर्ष) र विषयगत कोर्षका शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् ।

नेपालमा ८७ वटा कलेजहरुले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ । ती शिक्षण संस्थामा करीब २६ हजार विद्यार्थी स्नातक तह अध्ययन गर्छन ।

सम्बन्धित विश्वविद्यालयले लिने परीक्षामा सबै विद्यार्थी उत्तिर्ण हुने गरेको तथ्यांक विश्वविद्याय अनुदान आयोगले प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ ।

कसरी सम्भव छ शतप्रतिशत उत्तीर्ण ?

काठमाडौं तीनकुनेमा रहेको आइएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहमा बिएससी, बीबीए, बीएचएम र एमबीए लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका बिजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्तीकाअनुसार पढाइ बीचमा छाड्ने विद्यार्थी बाहेक कलेजमा पढ्ने सबै विद्यार्थीले आफ्नो तह उत्तीर्ण गर्ने गर्छन् ।

वस्तीका अनुसार विद्यार्थी पास वा फेल हुने नेपाली विश्वविद्यालयको जस्तो परीक्षा मोडल सन्डरल्यान्ड विश्वविद्यालयको छैन ।
‘नेपालमा मात्रै पास र फेल भन्ने मोडालिटी हुन्छ, हामीकहाँ विद्यार्थी क्वालिफाइड भयो की भएन अथवा उसले अब के प्रोग्रेस गर्नुपर्ने थियो भन्ने हुन्छ अथवा सुधारात्मक सुझाव दिइन्छ’, उनले भने ।

विद्यार्थीलाई ३/४ तहमा परीक्षण गर्ने गरिएको र त्यस्तो परीक्षण पास वा फेल गराउनको लागि नभई उसलाई थप उत्कृष्ट बनाउनको लागि हुने गरेको वस्तीले बताए ।

‘तीन–चार तहमा जाँच हुन्छ, पहिलो तहमा जाँच गर्दा उसले राम्रो गर्न सकेको देखिएन भने उसलाई आवश्यक सुझाव दिइन्छ र उसको सुधार तोकिएका विषय विज्ञले त्यसलाई हेर्छन्, त्यसपछि विश्वविद्यालयले भेरिफिकेसन गर्छ’, उनले भने ।

विद्यार्थीले पढ्ने विषयहरु अनुसन्धान र योजनामा आधारित हुने भएकाले अनुसन्धान तथा योजना कसरी सफल बनाउने भन्नेमा नै पढाइ र परीक्षा केन्द्रित हुने भएकाले विद्यार्थी फेल नहुने तर, तुलनात्मक रुपमा कम र बढी अब्बल भने हुने उनले बताए ।

त्यस्तै, काठमाडौं कमलपोखरी स्थित आइआइएमएस कलेजले मलेसियाको टेलर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर बिसिएस, बिएचएम र बीबीए लगायतको कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका एकेडेमिक डाइरेक्टर बृहत बोस्वाका अनुसार बीचैमा पढाइ छाडेका बाहेक अरु सबै विद्यार्थी परीक्षामा शतप्रतिशत उत्तिर्ण हुन्छन् ।

‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी सेमेस्टरअनुसार हेर्दा ९० प्रतिशत भन्दा धेरै उत्तीर्ण हुँदै जान्छन्, अनि फाइनल सेमेस्टरमा पुगेपछि फेल हुने भन्ने नै हुँदैन’ बोस्वाले भने ।

नेपाली विश्वविद्यालयमा भने भर्ना भएका सबै विद्यार्थी एकै पटक परीक्षामा उत्तीर्ण भने हुँदैनन् ।

नेपालमा अहिले संघीय र प्रदेश सरकारको पहलमा खुलेका १६ वटा विश्वविद्यालय छन् भने अझै केही विश्वविद्यालय सञ्चालनको प्रक्रियामा छन् । आर्थिक सर्वेक्षण अनुसार २०७९ असार मसान्तसम्म नेपालका ११ वटा विश्वविद्यालयमा ६ लाख ८७ हजार विद्यार्थीले अध्ययन गर्थें । अन्य प्रारम्भिक रुपमा सञ्चालनमा आएका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या जोड्ने हो भने नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या झण्डै सात लाख पुगेको देखिन्छ ।

विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार स्नातक तहको अध्ययन पश्चात त्रिभुवन विश्वविद्यालयको ४१ प्रतिशत, पोखरा विश्वविद्यालयमा ६९ प्रतिशत, सूदूरपश्चिम विश्वविद्यालयमा ८२ प्रतिशत, लुम्बिनी बुद्ध विश्वविद्यालयमा ५१.९८ प्रतिशत, मध्य पश्चिम विश्वविद्यालयमा ३९.४८ प्रतिशत र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।