पढ्न विदेश जानैपर्छ भन्ने मानसिकता फेर्न जरूरी छ : अर्थमन्त्री महत

  २०८० भदौ १४ गते १८:२९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत उच्च शिक्षाको लागि विदेशै जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने बताएका छन् ।

कक्षा–१२ को अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता विद्यार्थीमा रहेको उनले बताएका हुन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको अध्ययनका लागि विदेश जान नहुने उनले बताए ।

अर्थमन्त्री महतले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने र राम्रो अवसर समेत पाउन नसक्ने बताए ।

नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भए पनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको अर्थमन्त्रीको भनाई छ ।

अर्थमन्त्री महतले नेपालमा प्रविधि क्षेत्रमा ठूलो अवसर रहेको र युवाहरुले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए ।

पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको अर्थमन्त्री महतको भनाई छ ।

नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको महतले बताए ।

उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको उनले बताए ।

अर्थमन्त्री महतले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए ।