अर्थतन्त्रमा सुधार ल्याउन व्यवसायीको मनोबल बढाउनुपर्छ : अध्यक्ष ढकाल

  २०८० भदौ २५ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० का अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक देखिएको बताए । सोमबार उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा उनले सो बताएका हुन् ।

अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै उनले निजी क्षेत्र सम्मानित भएर आफ्नो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताए ।

त्यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैंक र सरकार दुबैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ छ । यसैगरि सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष ढकालले कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः संचालनका लागि पनि आग्रह गरे ।

अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौं,’ उनले भने- ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यस बिषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने बताए ।

महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरु सहभागी रहेको भेटवार्तामा गिटी वालुवा लगायतका वस्तुहरुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरि निकासी गर्न दिइनुपर्ने सुझाव पेश गरिएको छ । यसैगरि नयाँ बनेका पोखरा र गौतम वुद्ध विमानस्थल सञ्चालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो ।

सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न विकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसंग छलफलको तयारी गरिरहेको बताए ।