२०८० कार्तिक १२ गते १७:३१ विकासन्युज
काठमाडौं । धेरै वर्षदेखि तनावमा रहेको मध्यपूर्व क्षेत्रमा अक्टोबर ७ देखि इजरायल र हमाबीचको द्वन्द्वले फेरि विश्वबजारका लगानीकर्तालाई चिन्ता थपिदिएको छ । मध्यपूर्वको द्वन्द्वमा अमेरिका र बेलायत जस्ता मुलुकका नेतृत्वहरु इजरायलमा नै पुगेर द्वन्द्वलाई घटाउने भन्दा विरोध र समर्थनमा उत्रिएपछि विशेषगरी अमेरिका र युरोपका ठूला लगानीकर्तालाई युद्धको सम्भावित परिदृष्यले चिन्तित बनाएको देखिन्छ ।
इजरायलले शनिबारबाट हमास विरुद्धमा भूमिगत सैन्य कारबाहीलाई समेत अगाडि बढाएको छ । पछिल्ला दिनहरुमा अमेरिकाले हमास, लेबनान र सिरियामा थप आक्रमण अगाडि बढाउन सेना पठाएपछि अमेरिकी लगानीकर्ताहरु चिन्तित बनेको रोयटर्सले उल्लेख गरेको छ ।
इजरायलको अवस्थाले धेरै चिन्ता पैदा गरेको ट्रेडिङ एन्ड डेरिभेटिभ्सका डाइरेक्टर र्यान्डी फ्रेडरिकले रोयटर्सलाई बताएका छन् । शुक्रबार क्रुड तेलको मूल्य स्थिर भयो तर, लगानीकर्ताहरुले सुरक्षित मान्ने सुनको मूल्यमा भारी वृद्धि हुन पुगेको छ ।
शुक्रबार क्यापिटल इकोनोमिक्समा विश्लेषकहरुले इजरायली तेल बजार ‘म्युट’ अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । तर, सो क्षेत्रका अन्य देशहरु सो युद्धमा सहभागी हुँदै गएमा भने त्यसले तेलको मूल्यमा ठूलो असर गर्ने अनुमान गरिएको छ । अहिलेसम्म इरान बाहेक अन्य मुलुकका अधिकारीहरुले भने आक्रामक वक्तव्यबाजी दिएका छैनन् ।
यदि द्वन्द्वका कारण अमेरिकाले युद्धमा खर्च वृद्धि गर्यो भने त्यसले १६ वर्षदेखि बढी भइरहेको ट्रेजरी खर्च थप बढ्ने प्रमुख बजार अर्थशास्त्री पिटर कार्डिलोले बताएका छन् । केही लगानीकर्ताहरुले भने ट्रेजरी खरिदलाई सुरक्षित समेत मान्ने गरेको पाइन्छ । तर, त्यसो भएमा यसले मूल्य वृद्धि र स्टक मार्केटमा भने असर गर्न सक्ने अनुमान गरिएको छ ।
जुलाइदेखि एस एन्ड पी ५०० को सूचकांक १० प्रतिशत भन्दा बढीले घट्न पुगेको छ । साथै अमेरिकी सरकारी बन्डहरुले अहिलेसम्म सुरक्षित प्रयोग भएको प्रदर्शन गर्न नसकेको ग्लोबल वेल्थ म्यानेजमेन्टले शुक्रबार एक नोटमा उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.