कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

  २०८० कार्तिक २२ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन् ।

बुधबार काठमाडौं आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताए ।

ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने ढकालको भनाइ छ। यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यहि क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई विनविनको अवस्था सृजना हुने अध्यक्ष ढकालले उल्लेख गरे ।

नेपालमा ठूलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा ढकालले जोड दिए ।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने उनले बताए। कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने ढकालले बताए ।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै उनले त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउनु पर्ने बताए । औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने उनले बताए ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँ नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने बताए । कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने उनको भनाइ छ।

त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्न तत्पर रहेको प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.