विदेशी बैंकका सीईओहरू भन्छन् : अब बैंकको ब्याज घट्दै जान्छ

  २०८० कार्तिक २४ गते ११:२४     विकासन्युज

काठमाडौं । एशिया क्षेत्रका विभिन्न बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले अब बैंकको ब्याज घट्दै जाने बताएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि केही सकस भएपनि अब अर्थतन्त्र सुधारको गतिमा भएको र त्यसले बैंकको ब्याज पनि केही सस्तो हुने तर्क उनीहरूले गरेका छन् ।

एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले केही समयअघि बजारमा माग बढेपछि बैंकको ब्याज बढे पनि अब बिस्तारै सस्तो हुँदै जाने धारणा राखेका छन् ।

अध्यक्ष एसेभेडोलाई विकासन्युजले राखेको ब्याजदरसम्बन्धि जिज्ञासालाई सम्बोधन गर्दै उनले भने,‘हामीले लामो समयसम्म कोरोना भाइरसको सकस भोग्यौं, त्यसलगत्तै बजारमा माग बढ्यो, बैंकको ब्याज पनि बढ्यो, त्यसले अर्थतन्त्रमा एककिसिमको स्पेश सिर्जना भयो, अब अर्थतन्त्र लयमा आउने हाम्रो विश्वास छ, त्यसले बैंकको ब्याज घट्न पनि मद्दत पुग्छ ।’

यसअघि आपूर्ति शृंखला अवरोध हुँदा महँगी बढेको र त्यसले ब्याज बढाउन पनि मद्दत पुगेको बताउँदै अब महँगी नियन्त्रण हुने अवस्था देखिएको र त्यसले आगामी दिनमा ब्याजदर घट्नै जाने अनुमान आफूहरूले गरेको उनको तर्क छ ।

यस्तै, उनले खराब कर्जाको विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले विश्वका बैंकहरूको खराब कर्जा बढेकोले यसलाई चिन्ताको विषय मान्न नहुने धारणा राखे ।

उनले नेपाली बैंकहरूको खराब कर्जा धेरै नभएको धारणा राखे । ‘कोरोनाकै कारण धेरै व्यवसाय प्रभावित भए, त्यसले पनि बैंकको ब्याज बढ्यो, यसलाई बैंकहरूले व्यवस्थापन गर्न सक्नु पर्छन, नेपाली बैंकको खराब कर्जा अन्य देशको तुलनामा कम नै हो,’ उनले भने ।

उनले हाल नेपाली बैंकहरू लगानी गर्न सक्ने अवस्थामा भएको धारणा राखे । हाल व्यवसाय समस्यामा परेको कारण ऋणीहरूलाई ऋण तिर्न समेत समस्या भइरहेको बताउँदै त्यसको प्रत्यक्ष असर बैंकमा परेको उनले बताए ।

उनीसँगै बिहीबार सम्मेलनमा भएको छलफलमा विभिन्न देशका बैंकरहरूले अब बैंकको ब्याज घट्दै जाने धारणा राखे ।

उनले आफूहरू समेत अन्य विदेशी साझेदारसँगको सहकार्यमा नेपालमा लगानी गर्न तयार रहेको धारणा राखे । ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एन्ड सस्टेण्ड ग्रोथ’ विषयक सम्मेलनमा उनले यस्तो धारणा राखेका छन् । काठमाडौंमा एशिएन बैंकर्स संघ र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा सम्मेलन चलिरहेको छ ।

सम्बन्धित सामग्री :  विश्व बजारमा घट्दैछ ब्याज, नेपाली बैंकले पनि घटाउन थाले प्रिमियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.