लघुवित्तका एक कर्मचारीको भागमा १.८९ करोड ऋण दिने जिम्मेवारी, ४१ लघुवित्तमा बैंकको लगानी

  २०८० कार्तिक २६ गते १५:३३     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु माथि ऋण दिनु पर्ने दायित्व बढेको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदनले लघुवित्तमा कार्यरत एक जना कर्मचारीले औसत १.८९ करोड रुपैयाँ ऋण लगानी गरेको देखाएको हो ।

अध्ययन प्रतिवेदन अनुसार २०७९ चैतसम्म प्रतिशाखा औसत ८ करोड ५५ लाख रुपैयाँ र प्रतिकर्मचारी औसत १ करोड ८९ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । वि.सं.२०७१ असारसम्म प्रतिशाखा ४ करोड १५ लाख रुपैयाँ र प्रतिकर्मचारी औसत ६८ लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदनमा वि.सं.२०७९ चैत्रसम्म ६३ वटा लघुवित्त संस्थाहरुमध्ये ४१ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको छ । कुल ६३ वटा लघुवित्तमध्ये ५९ वटा खुद्रा कारोबार र ४ वटा थोक कारोबार गर्ने संस्था छन् । खुद्रा कारोबार गर्ने संस्थामध्ये २७ वटा विगतमा गैरसरकारी संस्थाबाट परिणत भएका, २७ वटा लघुवित्त वित्तीय संस्थाकैरुपमा स्थापित र ५ वटा वाणिज्य बैंकका सहायक कम्पनीका रुपमा रहेका छन् ।

९ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व छ भने २० वटा लघुवित्तामा २० प्रतिशतभन्दा कम स्वामित्व रहेको छ । मर्जर प्रक्रिया चलिरहेकोले लघुवित्त वित्तीय संस्थाहरूको संख्या घट्दै गइरहेको अध्ययन प्रतिवेदनले बताएको छ ।

चुक्ता पुँजीका आधारमा १० करोड रुपैयाँभन्दा कम पुँजी भएका ९ वटा संस्था, १० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म २२ वटा, ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म १० वटा, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म ६ वटा र २ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका २ वटा संस्था रहेका छन् । २०७९ चैतसम्म लघुवित्त वित्तीय संस्थाका कुल शाखा संख्या ५ हजार १६४, कर्मचारीको संख्या २२ हजार ८४६ र कर्जा लगानी ४ खर्ब ४१.४ अर्ब रुपैयाँ रहेको छ ।

विगतमा लघुवित्त वित्तीय संस्थाहरूको नाफा उच्च रहेकोमा हाल न्यून रहेको राष्ट्र बैंकले बताएको छ । लघुवित्त संस्थाहरूको स्प्रेड (प्रभावकारी ब्याजदर र कोषको लागत बीचको फरक) विगतमा ८ प्रतिशत भन्दा माथि रहेकोमा २०७९ चैत्रसम्म घटेर ६ प्रतिशत पुगेको छ । फलस्वरुप, कोभिडको अवस्थामा बाहेक पुँजीको प्रतिफल अधिकांश वर्षहरूमा २५ प्रतिशतभन्दा माथि रहेकोमा ५.२ प्रतिशतमा झरेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । संस्थागतरुपमा २० वटाको पुँजीको प्रतिफल ऋणात्मक रहेको छ । २०७९ चैतमा कोषको लागत १०.५ प्रतिशत र प्रभावकारी ब्याजदर १६.४ प्रतिशत रहेको छ ।

कुल ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट प्राप्त ऋणीहरूको तथ्याङ्कले बहुबैंकिङ्गको अवस्थालाई पुष्टि गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल ३९ लाख ३५ हजार १७१ कर्जा खाता रहेकामा १ हजार रुपैयाँभन्दा कम रकमका ४ लाख १ हजार ८०६ खातालाई हटाई विश्लेषण गरिएको हो ।

कुल २३ लाख १ हजार २९३ ऋणीका ३५ लाख ३३ हजार ३२५ कर्जा खाता रहेका छन् । कुल ऋणीमध्ये ७०.४ प्रतिशतले १ मात्र खाताबाट, २७.८ प्रतिशतले २ देखि ५ वटा खाताबाट, १.५ प्रतिशतले ६ देखि १० वटा खाताबाट र ०.२ प्रतिशतले १० भन्दा बढी खाताबाट कर्जा लगेका छन् । यी समूहको कुल कर्जा लगानीमा हिस्सा क्रमशः ५२.२ प्रतिशत, ३९.५ प्रतिशत, ६.६ प्रतिशत र १.८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.