एआईको कारण दक्षिण कोरियाका ४० लाख मानिसको जागिर संकटमा, नेपाली कामदार पनि प्रभावित हुने

  २०८० कार्तिक ३० गते १४:५६     विकासन्युज

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स)  प्रविधिले दक्षिण कोरियामा ४० लाख मानिसले रोजगारी गुमाउन सक्ने अनुमान गरिएको छ । एआईले आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी जोखिममा पार्न सक्ने त्यहाँकाे केन्द्रिय बैंकले प्रक्ष्येपण गरेकाे छ ।

तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ ।

बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् ।

‘उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ,’ अध्ययनमा भनिएको छ ।

एआईले सेतो पोशाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिह धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् ।

बैंक अफ कोरियाको अध्ययनमा भनिएको छ, ‘एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।’

आर्टिफिसियल इन्टेलिजेन्सले कम्प्युटर प्रणाली वा मेशिनहरू विकास गर्नलाई जनाउँछ जसले सामान्यतया मानव बुद्धिको आवश्यकता पर्ने कार्यहरू गर्न सक्छ। यी कार्यहरूमा समस्या समाधान गर्ने, सिक्ने, बुझ्ने, र प्राकृतिक भाषा प्रशोधन गर्ने र ढाँचाहरू पहिचान गर्ने काम गर्छ ।

पछिल्लो समय नेपालीहरुको आकर्षक रोजगारीको देशका रूपमा दक्षिण कोरियालाई हेरिएको छ । तर, एआईले धेरैको जागिर गुम्न सक्ने विश्लेषण गरिरहेको बेला यसले नेपाली कामदारहरु पनि समस्यामा पर्ने देखिन्छ ।