कम यात्रु भएको भन्दै इन्डिगोले आठजनालाई विमानबाट ओरालेपछि…

  २०८० मंसिर ७ गते ११:५२     विकासन्युज

एजेन्सी । भारतको निजी वायुसेवा कम्पनी इन्डिगो नयाँ विवादमा फसेको छ । इन्डिगोले बैंगलोरबाट चेन्नई जानुपर्ने आठ यात्रुलाई कम यात्रु भएको भन्दै विमानबाट ओरालेपछि विवादमा फसेको हो ।

ती यात्रुका अनुसार मंगलबार अमृतसरबाट बैंगलोर आएपछि चेन्नई जाने तालिका थियो । तर, विमानमा चढिसकेपछि सबै आठजनालाई यात्रु कम भएको भन्दै ओरालेर बैंगलोर विमानस्थलमा अलपत्र पारिएको थियो ।

उडान नहुँदा रातभरि विमानस्थलमै बिताउनु परेको यात्रुले गुनासो गरेका छन् ।

तर, ती यात्रुको आरोपलाई इन्डिगो व्यवस्थापनले अस्विकार गरेको छ ।

यात्रुको गुनासोबारे जवाफ दिँदै इन्डिगोले ‘समयको अभाव’ का कारण यात्रुहरूले आफ्नो उडानमा चढ्न नसकेको दाबी गरेको छ । इन्डिगोले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना भने गरेको छ ।

इंडिगोले अमृतसरबाट उडेका आठ यात्रु समयको कमीका कारण बैंगलोर पुगेपछि चेन्नईको अर्को उडानमा चढ्न नसकेको बताएको छ ।

कम्पनीले यात्रुलाई पर्न गएको समस्याप्रति क्षमायाचना गरेको छ । इन्डिगोको यो कथन रिपोर्टको पृष्ठभूमिमा आएको हो जसमा एयरलाइन्सले यात्रुहरू बोक्न नचाहेको र उनीहरूलाई विमानबाट उतारेको दाबी गरिएको थियो ।

इन्डिगोले ८ ट्रान्जिट यात्रुहरू लिएर आइतबार (नोभेम्बर १९) मा अमृतसरबाट चेन्नई हुँदै बैंगलोरसम्म उडान नम्बर ६ई ४७८ सञ्चालन गरेको थियो।

इन्डिगोले एक विज्ञप्तिमा अमृतसरबाट उडान ढिलो भएका कारण ती यात्रुहरू बैंगलोर एयरपोर्टमा चेन्नईका लागि अगाडिको उडानमा चढ्न नसकेको जनाएको छ ।

विज्ञप्तिका अनुसार इन्डिगोका कर्मचारीले यात्रुहरू उडानमा चढ्न सकून् भन्ने सुनिश्चित गर्न सक्दो प्रयास गरे पनि समय अभावका कारण हुन नसकेको हो ।