भारतीय बजारमा दाल र प्याजको मूल्य उच्च

  २०८० मंसिर ७ गते १७:२५     विकासन्युज

एजेन्सी । भारत सरकारले अनेक प्रयास गर्दा पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको प्रत्यक्ष असर खुद्रा व्यापारमा परेको छ । राजधानी नयाँदिल्लीको खुद्रा बजारमा प्याज र दालको मूल्य अझै उच्च छ ।

यता, अनियमित वर्षाका कारण महत्वपूर्ण बालीको रोपाइँ घटेको छ । गत वर्षको तुलनामा सन् २०२३ नोभेम्बर १७ सम्म देशमा करिब ८ लाख ८७ हजार हेक्टर कम क्षेत्रफलमा बाली उत्पादन भएको छ । सबैभन्दा धेरै गिरावट गहुँ र दलहन बाली रोपाइँमा परेको छ ।

सरकारले प्याजको मूल्य नियन्त्रण गर्ने प्रयास भने गरिरहेको छ । दिल्लीका विभिन्न क्षेत्रका आमउपभोक्ता कृषि भवन बाहिर लाइनमा उभिरहेका छन्। उनीहरूले नाफेडको मोबाइल भ्यानबाट प्रतिकिलो २५ रुपैयाँ सहुलियत दरमा प्याज पाउँदै आएका छन् ।

प्रयास गर्दा गर्दै तरकारी बजारमा माग र आपूर्तिअनुसार प्याज पुग्न नसकेको र खुद्रा बजारमा यसको मूल्य उच्च रहेको छ ।

नाफेडको भ्यान अगाडि लाइनमा उभिरहेका करोलबागका मनोजले एनडीटीभीलाई भने, ‘मेरो घर नजिकको खुद्रा बजारमा प्याजको मूल्य ६०–८० रुपैयाँ प्रतिकिलो छ, २५ रुपैयाँ प्रतिकिलोमा प्याज किन्न हामी यहाँ ४५ मिनेटदेखि लाइनमा उभिइरहेका छौं ।’

नाफेड र एनसीसीएफले सहुलियत दरमा प्याज बिक्री बढाउनुपर्छ ताकि धेरैभन्दा धेरैले सस्तो प्याज किन्न सकुन् भन्ने आमनागरिकको माग छ ।

पछिल्लो एक महिनादेखि खुद्रा बजारमा अरहर, मुग, चना र उडदको दाल पनि महँगो भएको छ । थोक बजारमा दालको उपलब्धता घटेकाले खुद्रा बजारमा दालको मूल्य बढेको किराना पसलका व्यापारी मोहित गोयल बताउँछन् ।

‘पछिल्लो एक महिनामा विभिन्न प्रकारका दाल १५ देखि २० प्रतिशतसम्म महँगो भएका छन्। पछिल्लो एक महिनामा अरहर दालको मूल्य १ सय ४० रुपैयाँ किलोबाट बढेर १ सय ६० पुगेको छ, मुगको दाल प्रतिकिलो १ सयबाट बढेर १ सय २० रुपैयाँ, चनाको दाल ७० रुपैयाँबाट बढेर ८५ रुपैयाँ र उडदको दाल १ सय रुपैयाँबाट बढेर किलोको १ सय २० रुपैयाँसम्म पुग्यो,’ उनले भने, ‘अहिले तीन–चार पसलमा मूल्य थाहा पाएपछि मात्रै दाल किन्छन् । पहिले दुई किलो किन्थे, अहिले डेढ किलोमात्रै किन्ने गरेका छन् । बिक्री प्रभावित भएको छ ।’

गत वर्षको तुलनामा महत्वपूर्ण बालीको रोपाइँ घटेको बेला प्याज, दाललगायत अत्यावश्यक खाद्यवस्तुको खुद्रा मूल्यमा वृद्धि भएको हो ।

कृषि मन्त्रालयको बाली महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा मंसिर १७ सम्म महत्वपूर्ण बालीको रोपाइँमा ८ लाख ८७ हजार हेक्टरमा कमी आएको छ ।

२०२३ नोभेम्बर १७ सम्म करिब ८६।०२ लाख हेक्टर क्षेत्रमा गहुँ खेती भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा ९१.०२ लाख हेक्टर क्षेत्रमा गहुँ रोपिएको थियो। यसको अर्थ गत वर्षको तुलनामा ५.०१ लाख हेक्टर कम क्षेत्रफलमा गहुँ रोपाइ भएको छ ।

नोभेम्बर १७ सम्म देशमा करिब ६५.१६ लाख हेक्टर क्षेत्रफलमा दाल बाली रोपिएको थियो भने गत वर्ष सोही अवधिमा ६९.३७ लाख हेक्टर क्षेत्रमा दाल बाली छरिएको थियो । अर्थात्, गत वर्षको तुलनामा नोभेम्बर १७ सम्म ४.२१ लाख हेक्टर कम क्षेत्रफलमा दाल बाली रोपिएको छ ।