गाडीको मूल्य बढाउने मारुतीको घोषणा

  २०८० मंसिर १२ गते १७:४२     विकासन्युज

एजेन्सी । मारुती सुजुकी इन्डियाले देशको अटो बजारको करिब ५० प्रतिशत हिस्सा ओगट्छ। अर्थात, १ सय नयाँ कारमध्ये ५० वटा मारुतीका कार बिक्री हुन्छन् । मारुती कार किन्नेमा सहरदेखि गाउँसम्मका मानिसहरू पर्छन् ।

तर, मारुतीका लाखौं नयाँ ग्राहकहरूका लागि नराम्रो खबर छ । मारुतीले आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरेको छ । मारुती सुजुकी इन्डियाले सोमबार मुद्रास्फीति र बढेको कच्चापदार्थमा लागत दबाबका कारण सन् २०२४ जनवरीबाट आफ्ना गाडीको मूल्य बढाउने योजना बनाएको हो ।

मारुतीले कम लागतको सानो कार अल्टोदेखि मल्टी–युटिलिटी भेइकल इन्भिक्टोसम्मका सवारीसाधन उत्पादन र बिक्री गर्ने गर्छ । तिनीहरूको मूल्य ३ लाख ५४ हजारदेखि २८ लाख ४२ लाख रुपैयाँ (एक्स–शोरूम दिल्ली) को बीचमा छ। तर, मूल्य कति बढाउने भन्नेबारे भने कम्पनीले केही बताएको छैन ।

मारुती सुजुकी इन्डियाले स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार कम्पनीले २०२४ जनवरीमा समग्र मुद्रास्फीति, बढेको वस्तुको मूल्य र बढेको लागत दबाबका कारण आफ्ना कारहरूको मूल्य बढाउने योजना बनाएको छ ।

जर्मन लक्जरी कार निर्माता कम्पनी औडीले पनि कच्चापदार्थको बढ्दो माग र सञ्चालन लागत मध्यनजर गर्दै आगामी जनवरीदेखि भारतमा आफ्ना गाडीको मूल्य दुई प्रतिशतले बढाउने घोषणा गरेको छ ।

औडी इन्डियाद्वारा जारी विज्ञप्तिअनुसार मूल्यवृद्धि २०२४ देखि लागू हुनेछ र सबै मोडेल रेन्जमा विस्तार हुनेछ। औडी इन्डियाका प्रमुख बलवीर सिंह ढिल्लनले आपूर्ति–शङ्खलासम्बन्धी कच्चापदार्थको बढ्दो माग र सञ्चालन लागतका कारण ब्रान्डको प्रिमियम मूल्य स्थिति कायम राख्दै मोडेल दायरामा मूल्य सुधार गरेको बताएका छन् ।

उनले मूल्य सुधारको उद्देश्य औडी इन्डिया र डिलर साझेदारहरूको दिगो वृद्धि सुनिश्चित गर्ने रहेको बताए ।

उनले मूल्यवृद्धिको प्रभाव ग्राहकहरूमा सकेसम्म न्यूनतम परोस् भन्ने सुनिश्चित गर्ने पनि बताए ।

औडी इन्डियाले क्यु३ एसयूभीदेखि लिएर स्पोर्ट्स कार आरएसक्यू ८ सम्मका गाडीहरू बेच्छ । जसको मूल्य ४२ लाख ७७ हजार रुपैयाँदेखि २ करोड २२ लाख रुपैयाँसम्म पर्छ ।