२०८० मंसिर १३ गते १२:३२ विकासन्युज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द भए नभएको जानकारी नगराउने ५५ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गर्नसक्ने चेतावनी दिएको छ ।
प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्र खारेजी लगायतको कारबाही गर्ने चेतावनी दिएको हाे ।
यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप-निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने जानकारी दिए ।
गत कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
हेर्नुहोस प्राधिकरणलाई टिकटक सञ्चालन भए नभएको जानकारी नगराउने कम्पनीहरु :
Copyright © 2024 Bikash Media Pvt. Ltd.