२०८० मंसिर १३ गते १३:४७ विकासन्युज
काठमाडौं । पछिल्लो १७ दिनदेखि भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ मजदुरलाई सकुशल बाहिर निकालिएको छ ।
मंगलबार साँझ अबेर सबै मजदुरलाई एनडीआरएफ टोलीले बाहिर निकालेको थियो । त्यसक्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी घटनास्थलमा उपस्थित थिए । मुख्यमन्त्री धामीले मजदुरलाई माला लगाएर स्वागत गरेका थिए ।
यसपछि सबै मजदुरलाई प्राथमिक उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरू प्रत्येकलाई उत्तराखण्ड सरकारबाट १ एक लाख रुपैयाँ सहयोग दिइने घोषणा गरिएको छ। साथै, उद्धार गरिएका ४१ मजदुरलाई तलबसहित १० देखि १५ दिन बिदा दिन पनि धामी सरकारले कम्पनीलाई आग्रह गरेको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले ती मजदुरहरूसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
४२२ घण्टापछि सुरुङबाट उद्धार
१७ दिनको उद्धार कार्य र ४ सय २२ घन्टाको कठिन लडाइँपछि अन्ततः सिल्क्यारा सुरुङमा फसेका ४१ जनाको ज्यान बाहिर आयो । मजदुर बाहिर निस्किनेबित्तिकै उद्धार टोलीले ‘भारत माताकी जय’ नारा लगाएका थिए । १७ दिनपछि सुरुङबाट बाहिर निस्किन पाउँदाको खुसी ती मजदुरको अनुहारमा प्रष्टै झल्किन्थ्यो । १७ दिने अभियानमा धेरै चुनौती सामना गर्नुपरेको थियो।
सिल्क्यारा सुरुङ उद्धार : १७ दिनका १७ कथा
१२ नोभेम्बर २०२३
कात्तिक १२ गते बिहान देशभरि दीपावली मनाउने तयारी भइरहेको थियो । बिहान करिब ५ः३० बजे उत्तरकाशीको सिल्क्यारा सुरुङमा पहिरो खस्यो । ३६ जना मजदुर फसेको पहिलो खबर आयो । त्यसपछि भित्र ४० मजदुर रहेको थाहा भयो । अनि, ती मजदुरलाई बचाउने अभियान सुरु भयो । एनडीआरएफ, उत्तराखण्ड राज्य विपद प्रतिक्रिया बल, सीमा सडक संगठन र परियोजना निर्माण गरिरहेको राष्ट्रिय राजमार्ग र पूर्वाधार विकास निगम (एनएचआइडीसीएल) र इन्डो–तिब्बत सीमा पुलिस (आईटीबीपी) सहित विभिन्न एजेन्सीहरूले उद्धार कार्यमा भाग लिए ।
१३ नोभेम्बर २०२३
मजदुरहरूलाई ड्रेनेज पाइपमार्फत सम्पर्क गरिएको थियो। वाकिटकीमार्फत उनीहरूसँग कुरा भएको थियो । त्यसपछि त्यही पाइपबाट मजदुरलाई अक्सिजन पु¥याइएको थियो । साथै, उनीहरूलाई खाद्यान्नसमेत पठाइएको थियो । मुख्यमन्त्री पुष्करसिंह धामी उद्धारका लागि घटनास्थल पुगेका थिए । सुरुङको भत्किएको भागमा थुप्रिएको भग्नावशेष हटाउने काममा खासै प्रगति हुन सकेको थिएन भने माथिबाट झरिरहेको पहिरोले उद्धार कार्य थप कठिन बनाइरहेको थियो । फलस्वरूप ३० मिटर क्षेत्रमा जम्मा भएको पहिरो ६० मिटरसम्म फैलियो । ‘सटक्रेटिङ’ का सहायताले पहिरोको भग्नावशेषलाई मजबुत बनाएर ड्रिलिङ गरी ठूलो ब्यासको स्टिल पाइपलाइन हालेर मजदुरलाई बाहिर निकाल्ने रणनीति बनाइएको थियो ।
१४ नोभेम्बर २०२३
औगर मेसिनको सहयोगमा भग्नावशेषमा तेर्सो ड्रिलिङ गर्ने योजना बनाइएको थियो । ड्रिलिङपछि ८ सय र ९ सय मिलिमिटर ब्यासका पाइपहरू हाल्ने योजना बनाइएको थियो । घटनास्थलमा पाइप पनि ल्याइयो । तर, सुरुङमा भग्नावशेष खसेका र दुईजना उद्धारकर्मीलाई सामान्य चोट लागेकाले उद्धार कार्यमा बाधा पुगेको थियो ।
विज्ञहरूको टोलीले सुरुङ र वरपरको माटो परीक्षण गर्न सर्वेक्षण सुरु गरेको थियो । सुरुङमा फसेका मजदुरहरूलाई खाना, पानी, अक्सिजन र बिजुली आपूर्ति निरन्तर जारी राखियो । सुरुङमा रहेका केही व्यक्तिले बान्ता भएको गुनासो गरेपछि उनीहरूलाई औषधी पनि खुवाइएको थियो ।
१५ नोभेम्बर २०२३
सिल्क्यारा सुरुङमार्गको काममा प्रयोग गरिएको औगर ड्रिलिङ मेसिनले काम गरेन । यसपछि एनएचआईडीसीएलले उद्धार कार्यलाई तीव्रता दिन नयाँदिल्लीबाट अत्याधुनिक अमेरिकी औगर मेसिन मागायो ।
१६ नोभेम्बर २०२३
सुरुङमा उच्च क्षमताको अमेरिकी औगर मेसिन स्थापना गरियो । मध्यरातपछि औगर मेसिनले काम गर्न थाल्यो ।
१७ नोभेम्बर २०२३
औगर मेसिनबाट ड्रिलिङको काम रातभरि जारी रह्यो । मेसिनले २२ मिटर ड्रिल गरी चारवटा स्टिल पाइप हाल्यो । पाँचौं पाइप बिछ्याउने क्रममा मेसिनमा केही ठोक्किएपछि ठूलो आवाज आएको थियो, त्यसपछि ड्रिलिङको काम रोक्नुपरेको थियो । मेसिन पनि बिग्रिन पुग्यो । त्यसपछि उद्धार कार्यमा सहयोग गर्न इन्दौरबाट अर्को उच्च क्षमताको औगर मेसिन बोलाइएको थियो ।
१८ नोभेम्बर २०२३
सुरुङमा रहेको हेभी मेसिनबाट भाइब्रेसनका कारण भग्नावशेष खस्ने डरले ड्रिलिङ सुरु हुन सकेको थिएन । प्रधानमन्त्री कार्यालयका अधिकारी र विज्ञ टोलीले सुरुङको माथि तेर्सो ड्रिलिङ गरेर कामदारसम्म पुग्ने विकल्पसहित पाँचवटा योजनामा सँगै काम गर्ने निर्णय गरेका थिए ।
१९ नोभेम्बर २०२३
केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले उद्धार कार्यको समीक्षा गर्दा ड्रिलिङ रोकिएको थियो। कामदारसम्म पुग्नका लागि औगर मेसिनबाट तेर्सो ड्रिलिङ नै उत्तम विकल्प भएको उनले बताए । उनले दुई–तीन दिनमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।
२० नोभेम्बर २०२३
प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री धामीसँग फोनमा कुराकानी गर्दै सुरुङमा भइरहेको उद्धार कार्यको जानकारी लिएका थिए । यससँगै सुरुङमा फसेका मजदुरहरूको मनोबल उच्च राख्न जोड दिइएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषमा ड्रिल गरेर ६ इन्च ब्यासको पाइपलाइन हालेका थिए। त्यसपछि सुरुङमा फसेका मजदुरलाई पहिलोपटक पूरा खाना पठाइएको थियो । यसका साथै कपडा र अन्य अत्यावश्यक सामग्री पनि उपलब्ध गराइएको थियो । तर, औगर मेसिनको अगाडि ठूलो चट्टान आएपछि ड्रिलिङ रोकिएको थियो र सुरु हुन सकेन ।
२१ नोभेम्बर २०२३
उद्धारकर्मीहरूले सुरुङमा फसेका मजदुरहरू सकुशल रहेको पहिलो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा सेतो र पहेँलो हेलमेट लगाएका मजदुरहरू पाइपबाट खाना लिएर एकअर्कासँग कुरा गरिरहेको देखियो। सिल्क्यारा सुरुङको बारकोट छेउमा दुईवटा बम विष्फोट गराइएको थियो भने अर्कातर्फबाट ड्रिलिङ सुरु भएको थियो । तर, यो वैकल्पिक विधिबाट मजदुरसम्म पुग्न ४० दिन लाग्ने विज्ञहरूले बताएका थिए । एनएचआईडीसीएलले सिल्क्याराको छेउबाट औगर मेसिनबाट फेरि तेर्सो ड्रिलिंग सुरु गरेको थियो ।
२२ नोभेम्बर २०२३
८ सय मिलिमिटर ब्यासको स्टिल पाइपलाइन भग्नावशेषको ४५ मिटर गहिराइमा पुग्यो। कुल ५७ मिटर भग्नावशेषमध्ये १२ मिटर छिर्न बाँकी थियो । एम्बुलेन्स सुरुङ बाहिर पार्क गरिएको थियो । यसबाहेक घटनास्थलबाट ३० किलोमिटर टाढा रहेको चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा ४१ शैयाको विशेष वार्ड निर्माण गरिएको थियो । राति अबेरसम्म फलामको रड र गर्डर खोलिएपछि पुनः उत्खनन अवरुद्ध भएको थियो ।
२३ नोभेम्बर २०२३
अवरोधका कारण उद्धार कार्य ६ घन्टा ढिलो भएको थियो । अवरोध हटाएपछि पुनः ड्रिलिङ सुरु भयो । बुधबार अवरुद्ध भएपछि १.८ मिटर ड्रिलिङमा प्रगति भएको प्रदेश सरकारका नोडल अधिकारीले बताए । औगर मेसिनमुनिको प्लेटफर्ममा समस्या आएपछि पुनः ड्रिलिङ रोकिएको थियो ।
२४ नोभेम्बर २०२४
अवरोध हटाएर २५ टन तौल भएको औगर मेसिनबाट पुनः ड्रिलिङ सुरु गरिएको हो । तर, केही समयपछि फलामको रडका कारण पुनः ड्रिलिङ रोकियो ।
२५ नोभेम्बर २०२३
औगर मेसिन बिग्रिएपछि म्यानुअल ड्रिलिङ गर्ने निर्णय भएको थियो । योसँगै ठाडो ड्रिलिङको विषयमा पनि छलफल सुरु भएको थियो । त्यसपछि सुरुङमा अड्किएको औगर मेसिनको ब्लेड काट्ने र निकाल्ने काम गरियो ।
२६ नोभेम्बर २०२३
सुरुङको माथिबाट ठाडो ड्रिलिंग सुरु गरिएको थियो । यससँगै ड्रिफ्ट टनेल निर्माणको काम पनि जारी छ । अन्य खानीहरूबाट पनि म्यानुअल ड्रिलिङका लागि बोलाइएको थियो । साथै, लेजर र प्लाज्मा कटरबाट औगर मेसिनको ब्लेड काट्ने क्रमलाई बढाएर राति अबेरसम्म ठाडो ड्रिलिङ १९ मिटरभन्दा बढी ड्रिल गरिएको थियो ।
२७ नोभेम्बर २०२३
त्यस दिन पनि ठाडो ड्रिलिंग कार्य जारी रह्यो । यससँगै मजदुरलाई छोटो समयमा बाहिर निकाल्न ड्रिफ्ट टनेल बनाउने योजना पनि बनाइयो । म्यानुअल उत्खननका लागि ६ सदस्यीय मुसा खानी कामदारको टोली पनि आइपुगेको थियो । यसपछि साँझ मुसा खानीको टोलीले सेनाको सहयोगमा हातले उत्खनन थाले । अर्कातर्फ, ३६ मिटरसम्म भर्टिकल ड्रिलिङको काम पनि राति सम्पन्न भयो ।
२८ नोभेम्बर २०२३
मुसा खानीको टोलीले रातभरि हातैले खन्ने काम गर्यो। यसपछि आज बिहानै देशका जनताले खुसीको खबर पाउन सक्ने खबर आयो– सुरुङमा फसेका मजदुरहरूलाई जुनसुकै बेला बाहिर निकाल्न सकिन्छ । तर, उद्धार कार्य सम्पन्न हुनुअघि साँझ भइसकेको थियो र साँझ ७ः४७ बजे पहिलो मजदुरलाई बाहिर निकालिएको थियो । मुसा खानी टोलीले सुरुङको करिब १२ मिटर उत्खनन गरे, जहाँ पाइपहरू हालेर मजदुरहरूलाई सुरक्षितरूपमा बाहिर निकालियो । एजेन्सीकाे सहयाेगमा
Copyright © 2025 Bikash Media Pvt. Ltd.