यी हुन् संसारका महँगा सहर

  २०८० मंसिर १६ गते १०:५९     विकासन्युज

काठमाडौं । महँगा घर, घरायसी खर्च र चर्को मुद्रास्फीतिका कारण तपाईंले निकै तनाव महसुस गर्नुभएको छ भने सहरहरू हेर्न सक्नुहुन्छ । सायद तपाईंको मनमा शान्ति छाउने छ ।

किनभने, कम्तीमा तपाईं संसारको सबैभन्दा महँगो सहरमा बस्नुभएको छैन । विश्वका सबैभन्दा महँगो सहरको सूची आइपुगेको छ, जसको नामले तपाईंलाई छक्क पार्न सक्छ ।

सबैलाई उछिन्दै पहिलो नम्बरमा ज्यूरिच

यो सूचीमा ज्यूरिचले सबैलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ । गत वर्ष यो सहर छैटौं स्थानमा थियो । स्विस फ्रान्कको मजबुती, महँगो खाना, किराना सामान र उच्च मनोरञ्जन लागतले ज्यूरिचलाई सूचीको शीर्ष स्थानमा धकेल्यो। सिंगापुर र ज्यूरिच मिलेर न्यूयोर्कलाई उछिन्दै विश्वकै महँगो सहर बनेका छन् ।

सिरियाको राजधानी दमास्कस सबैभन्दा सस्तो सहर

सस्तो सहरको सूचीमा सिरियाको राजधानी दमास्कस पहिलो नम्बरमा रहेको छ । मेक्सिकोका सान्टियागो डे क्वेरेटारो र ओगासकालिन्टेसले डलरको तुलनामा पेसो बलियो भएकाले सूचीमा सबैभन्दा धेरै प्रगति गरेका छन् ।

जापानी मुद्रा येनको कमजोरीका कारण टोकियो २३ स्थान झरेर ६०औं स्थान र ओसाका २७ स्थान झरेर ७०औं स्थानमा झरेको छ । सर्वेक्षणमा १ सय ७३ सहर समावेश थिए ।

गत वर्ष शीर्ष स्थानको न्यूयोर्क तेस्रोमा

सिंगापुर कार पार्किङ, महँगो घर, मदिरको उच्च मूल्य र किराना सामानको बढ्दो मूल्यले न्यूयोर्कलाई पछाडि छाडेको छ । न्यूयोर्क गत वर्ष पहिलो स्थानमा थियो । न्यूयोर्कसँगै जेनेभा र हङकङ पनि तेस्रो नम्बरमा छन् । यसरी यी सबै सहर महँगो सहरको ‘टप ५’ मा परेका छन् ।

कोभिड–१९ पछिको मन्दी प्रभाव हङकङमा

यस अवधिमा विश्वव्यापी मुद्रास्फीति ७।४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो ८।१ प्रतिशत थियो । कोभिड–१९ पछि चीनमा आएको मन्दीका कारण माग घटेको असर हङकङमा पनि देखिएको छ । यो सहर पाँचौं स्थानमा झरेको छ ।

न्यूयोर्कबाहेक लस एन्जलस छैटौं र सान फ्रान्सिस्को १०औं स्थानमा परका छन् । फ्रान्सको पेरिस सातौं नम्बरमा थियो र कोपेनहेगनसँगै इजरायलको तेल अभिभ पनि आठौं नम्बरमा थियो ।