२०८० मंसिर १७ गते १८:२७ विकासन्युज
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न एनसीएचएलको बाह्रौं वार्षिक साधारण सभाले प्रस्तावित २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
यससँगै संस्थाको चुक्ता पुँजी एक अर्ब ६६ लाख ३७ हजार ९ सय रुपैयाँ पुग्ने छ । साथै, सभाले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पुँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्नेछ ।
साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविकझैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्न÷गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै, एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ ।
आ.व. २०७९÷८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६ प्रतिशतले वृद्धि भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।
एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमशः १–१ जना रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.