शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ अब आइफोनमा पनि

  २०८० मंसिर २२ गते १४:४९     विकासन्युज

काठमाडौं । छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।

आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) गृहेन्द्र घिमिरेले जानकारी दिए ।

यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने गरेकोमा अब भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो । टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप  एन्ड्रोइड भर्सनमा करिब दुई सातामै एक लाख भन्दा बढीपटक डाउनलोड भएको छ । आईफोन प्रयोगकर्ताहरूले पनि यो एप रुचाउने विश्वास लिइएको सीईओ घिमिरे बताउँछन् । ‘आईफोन प्रयोगकर्ताहरूले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ । उहाँहरूका लागि पनि अब एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने ।

रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको उनले जानकारी दिए । पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सार्वजनिक गरेको आईडिया जार कम्पनीले एपलाई परिस्कृत गर्दै गइरहेको छ । एपमा अहिले  डार्क मोड, शर्ट्स लगायत अन्य फिचर थपिएको घिमिरेले जानकारी दिए । यसबाहेक आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू सार्वजनिक गरिएको छ ।

कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.